PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

विक्रमको नजरमा नेपाली फुटबल : भारतसँग ८ गोलले हार्नु चिन्ताको विषय हैन, समस्या देखाईदिने धेरै भए



पहिलोपोस्ट

विक्रमको नजरमा नेपाली फुटबल : भारतसँग ८ गोलले हार्नु चिन्ताको विषय हैन, समस्या देखाईदिने धेरै भए

  • विक्रम लामा-

कुनै एक समय थियो, जति बेला हामी दक्षिण एसियाको उमेर समूहमा अग्रपक्तिमा रहन्थ्यौं। त्यस समय भारतलगायतका राष्ट्रलाई प्राय: जित्थ्यौं। विस्तारै खेलाडीहरु सिनियर टिममा खेल्दै जाँदा हामी कमजोर हुँदै जान्थ्यौं, राष्ट्रिय टिमको नतिजाले त्यही देखाउँथ्यो।

तर समयको अन्तरालसँगै अन्य राष्ट्रका टिम भने झनै बलियो हुँदै जान्थ्यो। उदाहरणका लागि हामीले दक्षिण एसियाका सबै राष्ट्रलाई जित्थ्यौं। उज्वेकिस्तान, कीर्गिस्तान, इराक, बहराइनजस्ता एसियाका 'पावर हाउस'का रुपमा रहेका राष्ट्रलाई पनि जित्ने गर्दथ्यौं भने दक्षिण कोरिया, जापानजस्ता राष्ट्रसँग कडा टक्कर दिएका धेरै नतिजाहरु छन्। यसको एउटा प्रमुख कारण थियो, त्यो बेला हुने युथ लेभलको अत्याधिक फुटबल गतिविधि।

यू १४, यू १६ का धेरैभन्दा धेरै फुटबल गतिविधि हुने गर्दथ्यो। त्यस्तै एन्फा एकेडेमीमा पनि खेलाडीलाई राखेर प्राविधिक रुपमा तिखार्ने काम निरन्तर हुने गर्दथ्यो। जसको प्रत्यक्ष फाइदा युथ स्तरको प्रतियोगितामा हाम्रो राष्ट्रलाई हुने गर्दथ्यो। एएफसी यू १७, यू १९ जस्ता प्रतियोगितामा हामीले अब्बल टिमलाई जितेर दोस्रो चरणमा पुगेका छौं भने दक्षिण एसियामा प्राय प्रतियोगिता जित्ने गर्दथ्यौं। तर विस्तारै समयसँगै ती खेलाडी सिनियर राष्ट्रिय टिममा पुग्दा हाम्रो स्तर खस्कँदो र अरु राष्ट्रको उस्कदै जाने गर्‍यो।

आजसम्मको मेरो अनुभवअनुसार यसको प्रमुख कारण भनेको कमजोर घरेलु फुटबल संरचना नै हो। जहाँ हामी मुस्किलले वर्षमा ६ महिना फुटबल खेल्छौं। राष्ट्रिय खेलाडीले थप एक दुई महिना राम्रो वातावरण पाउँलान्। खेलाडीका लागि यो पर्याप्त पक्कै होइन। यसरी अव्यवस्थित र कमजोर संरचनामा फुटबल खेलेर आफ्नो खेलाडी बन्ने सपना पुरा गर्दै गर्दा कति थाकेर अन्य बाटो लाग्छन्, कति आफ्नो दोस्रो सपना पुरा गर्न र पारिवारिक जिम्मेवारी बोकेर फुटबलबाट टाढिने गर्दछन्। बाँकी रहेका खेलाडीले पनि पर्याप्त मात्रामा खेल्नका लागि घरेलु फुटबलको वातावरण नपाउँदा कहाँ गएर आफुलाई तिखार्ने वा नयाँ खेलाडीले आफुलाई कहाँ अनुभवी बनाउने त?

साफ यू २० मा भारतसँग ८-० गोल अन्तरले हार्नु चिन्ताको विषय रहेन। किनकी चिन्ता त अब गर्नुपर्ने दिन आउँदैछ भन्ने मेरो बुझाई हो। यदि घरेलु फुटबलको संरचना र युथ फुटबलको गतिविधि नहुने हो भने भोलि गएर प्रत्यक्ष असर राष्ट्रिय टिमलाई पर्नेछ। जसको अर्थ नेपाली फुटबललाई पर्नु हो

पक्कै भोलिका दिनमा समय समयमा उत्कृष्ट खेलाडी जन्मिने वा पाउने छौं। तर ती खेलाडीलाई अनुभवी बनाउने कसरी? यसरी नै बारम्बारको गोल अन्तरको खेलहरुबाट?

के बलियो संरचना सहितको घरेलु फुटबल तथा उमेर समूहको राष्ट्रिय तथा अन्तरार्ष्ट्रिय खेलबाट अनुभवी बनाउन सकिदैन र? तसर्थ उमेर समूहका खेलाडीलाई खेल्ने वातावरण र खेलाडी उत्पादनमा गम्भीर हुने समय सायद आजको प्रमुख विषय हो।

हालको राष्ट्रिय टिम परिवर्तनको संघारमा छ। त्यस परिवर्तित स्थानमा अब आउने खेलाडीहरु युवामात्र नभई अनुभवसहितको युवा खेलाडीको खाँचो हो। किनकी कुनैपनि देशको राष्ट्रिय टिम भनेको प्रयोगशाला पक्कै पनि होइन। जहाँ मनलागी प्रयोग गरेर परीक्षण गरिन्छ। राष्ट्रिय टिम एउटा नतिजाको लागि खेलिने अन्तिम बिन्दु हो। त्यहाँ नतिजाबाहेक अन्य विकल्प हुँदैन। राष्ट्रिय टिमको नतिजाले नै राष्ट्रको फुटबल कुन धारमा जाँदैछ भन्ने कुराको संकेत गर्ने गर्दछ। तसर्थ पर्याप्त मात्रामा खेलेर अनुभव लिई आफुलाई अब्बल रुपमा अनुभवी बनाएर राष्ट्रिय टिममा जाने वातावरण मिलाउन सक्नुपर्छ। चाहे त्यो अनुभव बलियो घरेलु फुटबलको होस् वा राष्ट्रिय, अन्तरार्ष्ट्रिय उमेर समूहका खेलहरुबाट होस्।

जिल्लामा खेल वातावरण हुदाँ त्यसको अनुभव भोलि केन्द्र हुँदै राष्ट्रिय स्तरमा महत्व रहन्छ भने प्रत्येक उमेर समूहको खेल वातावरण हुँदा भोलि सिनियर टिमसम्ममा पुग्दा त्यसको प्रत्यक्ष फाइदा रहन्छ र नतिजामा टेवा पुग्दछ।

हाल खेल्दै गरेका यू २० का खेलाडीहरु व्यक्तिगत क्षमतामा निकै अब्बल रहेको देखिन्छ तर अनुभव निकै कम खेलाडीमा मात्र रहेको देखियो। सायद धेरै खेलाडीले त्यो स्तरको दबावपूर्ण खेलको अनुभव नभोगेका होलान्। उहाँहरुलाई त्यहीअनुसार यू १२, यू १५, यू १७ हुँदै अनुभव लिने खेल वातावरण भइदिएको भए आज केही हदसम्म सजिलो हुने थियो वा नतिजा फरक पर्न सक्थ्यो। साथै घरेलु फुटबल बलियो भैदिएको भए त्यसमा खेलेर थप अनुभव राम्रो बनाउन सक्ने अवस्था बन्थ्यो।

एकाधलाई छाडी हेर्ने हो भने २०१६ देखि २०२२ सम्म हाम्रो राष्ट्रिय टिमले जितेको चार वटा उपाधि बंगबन्धु गोल्डकप, साग गेम्स २०१६, एएफसी सोलिडारिटी कप, साग गेम्स २०१९ सम्पूर्णमा रहेका अधिकांश खेलाडीहरु युथ लेभलबाट राम्रो अनुभव लिएर आएका खेलाडी हुन्। २००३/४ देखि २०११/१२ सम्म उत्पादित खेलाडीले हालसम्म राष्ट्रिय टिम सम्हालेका छन्। आउँदै गरेका नयाँ खेलाडीहरु पनि राम्रा छन् तर पर्याप्त मात्रामा अनुभवको कमी देखिन्छ। यी नयाँ खलाडीले घरेलु फुटबलका साथै युथ खेल गतिविधि अन्तर्गत राष्ट्रिय तथा अन्तरार्ष्ट्रिय अनुभव निकै कम हासिल गर्न पाएका छन्। यस्ता वातावरण सिर्जना गर्नु आजको आवश्यकता हो। घरेलु फुटबल कमजोर हुँदा अनुभवी खेलाडीले पनि आफूलाई पर्याप्त मात्रामा निखार्ने र आफूलाई अझ अब्बल बनाउन सक्दैनन्। जसको असर राष्ट्रिय टिमलाई पर्ने गर्दछ।

अब राष्ट्रिय टिममा हालका खेलाडीको विकल्प के त? सायद यो एक उत्तरहीन प्रश्न हुनसक्छ। तसर्थ अहिलेको यो यू २० र बन्दै गरेको यू १७ का खेलाडीलाई बचाउनुको विकल्प नहोला। समयसँगै परिमार्जन गर्दै यस यू २० र यू १७ का खेलाडीलाई बचाएर राख्न सक्नुपर्दछ। र घरेलु फुटबलको संरचनालाई बलियो बनाएर खेलाडीलाई खेलमा निरन्तर लागिरहन सक्ने वातावरण बनाउने हो भने यि खेलाडीले  २/३ वर्षमा राष्ट्रिय टिममा सहयोग गर्न सक्छन् र नेपाली फुटबलको सफल दिन सायद टाढा नहोला।

जति धेरै फुटबल गतिविधि सही ढङ्गले हुन्छ त्यसरी नै खेलाडीहरु बीचको प्रतिस्पर्धाले उत्कृष्ट खेलाडी उत्पादन हुन्छ र पर्याप्त मात्रमा अनुभव संगालेर माथिल्लो स्तरमा राष्ट्रिय टिमलाई टेवा दिन सक्छ। फुटबल खेल एउटा यस्तो खेल हो, जहाँ युवा जोश र शक्ति जति नै उत्कृष्ट भए पनि खेललाई आफु अनुकूल नतिजा ल्याउन अनुभवको नितान्त खाँचो रहन्छ।

आज विश्व फुटबलमा जति पनि नतिजा निकालेका टिमहरु छन्, उनीहरुको टिमको संरचना हेर्दा प्रस्ट हुन सकिन्छ कि टिममा अनुभवी तथा अनुभव सहितका युवा खेलाडीको समिश्रण हुनु पर्दछ। विश्वकप विजेता तथा महादेशीय कपका विजेता राष्ट्रहरु  र प्रख्यात क्लब लिग बिजेता क्लबहरु यसका उदाहरण हुन्।

त्यसैले कुनैपनि राष्ट्रको फुटबल विकासको आधार भनेको नै घरेलु फुटबल हो। घरेलु फुटबल बलियो हुँदा खेलाडीले फुटबलमा स्थिरता पाउँछन्। जसकारण पूर्ण रुपमा फुटबलमा समर्पित हुने आधार रहन्छ। खेलाडी पलायन तथा विलिनजस्ता अप्रिय कुराहरु धेरै हदसम्म समाधान हुन सक्छ। यस आधुनिक युगमा वैज्ञानिक ढङ्गले खेलाडीलाई स्वच्छ र सुरक्षित वातावरणमा खेल्ने व्यवस्था गर्नु नै नतिजा प्राप्तिको आधार हो।

तसर्थ समग्रमा भन्ने हो भने कुनै पनि राष्ट्रको फुटबल विकासको आधारनै घरेलु फुटबलको बलियो संरचना हो। समस्या हरेक क्षेत्रमा रहन्छ तर समाधान खोज्न सक्नु बुद्धिमता हो। समस्या औंल्यादिने काम धेरै भयो तसर्थ अब समाधान खोज्नेतिर पनि लाग्ने कि?

-लामा थ्री स्टार क्लबको कप्तान तथा फुटबल खेलाडी संघका अध्यक्ष हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell