PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

महिला तथा बालबालिकाको बेचबिखन रोकथाममा कुनै कसर बाँकी नराख्ने मन्त्री रेग्मीको प्रतिवद्धता



पहिलोपोस्ट

महिला तथा बालबालिकाको बेचबिखन रोकथाममा कुनै कसर बाँकी नराख्ने मन्त्री रेग्मीको प्रतिवद्धता
फोटो : न्युज एजेन्सी नेपाल।

काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला तथा बालबालिकाको बेचबिखन र ओसारपसारको रोकथाम, नियन्त्रण तथा सजाय दिने काममा आफ्नो मन्त्रालयले कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेकी छिन्।

मन्त्री रेग्मीले पीडित महिला तथा बालबालिकाहरुको हेरचाहका लागि बनेका पुनर्स्थापना केन्द्रका लागि आफ्नो मन्त्रालयले बजेट कम भएपनि विनियोजना गरिरहेको पनि स्पष्ट पारिन्। सोमवार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले खासगरी महिला र बालबालिकाको बेचबिखन र ओसारपसार संवेदनशील विषय भएकाले आफ्नो मन्त्रालयले स्रोत र साधनले भ्याएसम्म त्यस्ता अपराधको रोकथाम तथा नियन्त्रण गर्ने र पीडितलाई राहत दिनेगरी पुनर्स्थापना केन्द्रलगायतको व्यवस्था गरेको बताइन्।

मन्त्री रेग्मीले भनिन्, ‘मन्त्रालयको दायराभित्र रहेका र स्रोत, साधनले भ्याएसम्म गर्न सक्ने कामहरु गरिराखेको छ। पुनर्स्थापना केन्द्र निर्माणको मन्त्रालयसँग थोरै बजेट भएपनि विनियोजना गरिरहेको छ। त्यसकारणले मन्त्रालयले कुनै पनि हालतमा यस्ता संदेनशील विषयमा कसर बाँकी राख्ने छैन भन्ने प्रतिवद्धता जनाउँदछु।’

मन्त्री रेग्मीले मानव बेचबिखन तथा ओसारपसारविरुद्धको ऐनलाई यही संसद्बाटै पारित गराउने गरी तयारी गरिरहेको पनि जानकारी दिइन्। फास्ट ट्रयाकबाट त्यसलाई अघि बढाउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहयोग आवश्यक रहेको पनि उनले बताइन्।

मन्त्री रेग्मीले भनिन्, ‘मानव बेचबिखन तथा ओसारपसारविरुद्धको ऐनबारे हिजो मात्रै मन्त्रालयमा छलफल गरिएको छ। र, कसरी यो फास्ट ट्रयाकमा कानुन मन्त्रालयमा पठाउनु पर्‍यो, म यो एकदमै फास्ट ट्रयाकमा लैजान चाहन्छु। म जत्तिकै फास्ट ट्रयाकमा लैजाने काममा कानुन मन्त्रालयले पनि संवेदनशील भईदिनु पर्‍यो। सकेसम्म फास्ट ट्रयाकमै लगेर यो पास होस् भन्ने मेरो अभिप्राय छ। सम्भवतः आज/भोलि नै यो कानुन मन्त्रालयमा जान्छ। यहाँ पनि फलोअप गरेर यही हाउसमा यसलाई पेश गरेर पारित गर्ने योजना छ। त्यसमा सम्बन्धित सबैलाई साथ दिन आग्रह गर्दछु।’

बैठकमा गृह सचिव टेकनारायण पाण्डेले मनोरञ्जनको क्षेत्रमा हुने मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण तथा रोकथामका लागि सरकारले आवश्यक सुरक्षाकर्मीहरुको परिचालन गरेको बताए। मानव बेचबिखन हुन नदिन स्थानीय तहलाई जिम्मेवार बनाउने गरी गृह मन्त्रालयले काम गरिरहेको पनि उनको भनाइ थियो‍।

सचिव पाण्डेले मानव बेचबिखन जस्ता अपराधजन्य काम हुन नदिन सरकारले जनचेतनामूलक कार्यक्रमहरु पनि संचालन गरिरहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell