PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

काभ्रेस्थली घटना : 'सुसाइड नोट' को सारांश, आर्थिक पाटोदेखि सम्बन्धमा खटपट



सविन ढकाल

काभ्रेस्थली घटना : 'सुसाइड नोट' को सारांश, आर्थिक पाटोदेखि सम्बन्धमा खटपट

काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिका वडा २ स्थित पदमसालमा सोमवार बिहान एकै परिवारका चार जनाको हत्या भएको अवस्थामा शव फेला पर्‍यो। गोरखाको भिमसेन थापा गाउँपालिका वडा ६ अश्राङका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका र ८ वर्षे छोरा आशिकको हत्या भएको अवस्थामा शव फेला परेको हो।

सोमवार बिहान विद्यालय जाने समयमा छोरी घरबाट बाहिर ननिस्किएपछि सोधखोज गर्दा उनीहरु मृत भेटिएका थिए। पदमसालस्थित एक तले घरमा दिनेशको छोरी ८ बजे विद्यालय जानु पर्नेमा नआएकोले छिमेकीमार्फत खबर गर्दा घरको झ्याल ढोका बन्द रहेको सूचना पाउनसाथ प्रहरी घटनास्थल पुगेका थिए।

प्रहरी परिसर काठमाडौंबाट एसपी दिनेशराज मैनालीको नेतृत्वमा टोली र अपराध महाशाखाको टोली पनि घटनास्थल पुगेर घटनास्थल सिल गरी अनुसन्धान अघि बढाइसकेको छ। सुनिताको माइतीपक्षले निष्पक्ष छानबिनको माग गरेपछि शव उठाउन केही ढिलाई भएको थियो। साँझ शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको छ।

प्रहरीका अनुसार सुनिता कस्मेटिक पसल संचालन गर्थिन् भने दिनेश मोबाइल पसल संचालन गर्थे। दिनेश वैदेशिक रोजगारीबाट केही वर्षअघि मात्रै स्वेदश फर्किएको प्रहरी अनुसन्धानमा खुलेको छ। यता सुनिता भने बेलायत जाने तयारीमा थिइन्। उनको बेलायत जानका लागि सिजनल भिसा लागेको खुलेको छ।

सुसाइड नोटको सारांश : सम्बन्धमा खटपटदेखि आर्थिक पाटो

घटनास्थलमा प्रहरीले ५ पन्ने सुसाइड नोट फेला परेको जनाएको छ। दिनेश  परिवारको चारै जनाको शव वीभत्स रुपमा चक्कु प्रहार गरेको अवस्थामा भेटिएको प्रहरीले जनायो।

श्रीमती सुनिता र छोराछोरी आशिक र आशिका एकै कोठामा मृत भेटिएका थिए। उनीहरु तीनै जनाको शरीरमा धारिलो हतियार प्रयोग गरिएको भेटिएको प्रहरीले जनायो।

शिक्षण अस्पतालका फरेन्सिक प्रमुख डा गोपाल चौधरीको टोली घटनास्थलमा पुगेको थियो। डा चौधरीले प्रारम्भिक अनुसन्धानमा धारिलो हतियार प्रयोग गरी हत्या भएको बताएका छन्। पहिले श्रीमती र छोराछोरिको हत्यापछि दिनेशले झुन्डिएर आत्महत्या गर्न खोजेको देखिएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

घरभित्र चुकुल लक भएको, छोराछोरी र श्रीमतीको शरीरमा धारिलो हतियार लागेकोले प्रारम्भिक अनुसन्धानमा दिनेशले नै उनीहरुको हत्या गरेको आशंका प्रहरीले गरेको छ। छोराछोरीको शव खाटमा र श्रीमतीको शव भुईँमा लडेको अवस्थामा भेटिएको थियो।

दिनेश र सुनिताबिच पटकपटक विवाद हुँदै आएको र मेलमिलाप पनि भएको प्रहरीले जनाएको छ।

सुसाइड नोटमा एकले अर्कोको परसम्बन्धमा शंका गरेको विषय उल्लेख गरिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले पहिलोपोस्टलाई बताए। 'एकले अर्कोलाई सम्बन्धमा शंका गरेको देखियो, आर्थिक पाटोमा पनि खटपट भएको सुसाइड नोटमा उल्लेख छ,' अनुसन्धानमा खटिएका ती प्रहरी अधिकृतले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell