PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

पर्सामा अधिकांश उम्मेदवारले बुझाएनन् चुनाव खर्चको विवरण, मतदाता नामावली दर्तामा छैन आकर्षण



राधेश्याम पटेल

पर्सामा अधिकांश उम्मेदवारले बुझाएनन् चुनाव खर्चको विवरण, मतदाता नामावली दर्तामा छैन आकर्षण

वीरगंजः पर्सा जिल्लाका चौध वटा पालिकामा स्थानीय निर्वाचनमा उम्मेदवार बनेका तीन हजार ४५८ जनामध्ये ४४ जनाले मात्र निर्वाचन खर्च विवरण पेश गरेका छन्। यो संख्या १.२७ प्रतिशतमात्र हो।

निर्वाचन सम्पन्न भएको ३० दिनभित्र उम्मेदवारले खर्च विवरण पेश गर्नुपर्ने कानुनी व्यवस्था छ। तर पर्साका उम्मेदवारले खर्च विवरण पेश नगरेका हुन्।

जिल्ला निर्वाचन कार्यालय, पर्साकी प्रमुख निर्वाचन अधिकृत रञ्जिता झाका अनुसार निर्वाचनको दुई महिना बितिसक्दा पनि ४४ जनाको मात्र खर्च विवरण कार्यालयमा प्राप्त भएको छ। 

झाले तोकिएको समयभित्र खर्च विवरण पेश नगर्ने उम्मेदवारलाई पाँच हजार रुपैयाँ जरिवाना हुनसक्ने बताइन्। तर कारबाहीका विषयमा निर्वाचन आयोगले प्रक्रिया अगाडि बढाउन नभनेको जानकारी उनले दिइन।

नयाँ मतदाताहरूमा आकर्षण बढेन

पर्सामा प्रदेश र संघको चुनावका लागि मतदाता नामावली दर्ता गराउने कार्यमा आकर्षण बढेको छैन। जिल्लामा नामावली दर्ता गर्ने काम भइरहे पनि मतदाताको आकर्षण देखिएको छैन। स्थानीय चुनावताका नाम लेखाउन जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयमा घुइँचो लागेको थियो। तर अहिले दुवै कार्यालय रित्ता छन्।

निर्वाचन कार्यालय प्रमुख झाका अनुसार जिल्ला प्रशासन कार्यालयमा दुई जना, निर्वाचन कार्यालयमा तीन जना र इलाका प्रशासन कार्यालय, सुपौलीमा एकजना गरी छ जना कम्प्युटर अपरेटर असार १ गतेदेखि चुनाव घोषणा नहुन्जेलसम्म खटाइएको छ।

पर्सामा स्थानीय तहको चुनावमा ९१ हजार ५३७ पुरुष, एक लाख ४८ हजार २८३ महिला र अन्य समेत गरेर तीन लाख ३९ हजार ८३६ मतदाता थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell