PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

हातमा बेलायतको भिसा, यात्रा भने आर्यघाटको: चार जनाको ज्यान लिने घटनाले कतातिर गर्छ संकेत?



सविन ढकाल

हातमा बेलायतको भिसा, यात्रा भने आर्यघाटको: चार जनाको ज्यान लिने घटनाले कतातिर गर्छ संकेत?

काठमाडौं: आइतबार दिउँसो साढे ४ बजेतिर हिक्मत कार्कीले सुनितालाई अन्तिम पटक उनकै पसलमा देखेका थिए। आइतबार थोरै लेनदेन पनि भएको थियो उनको सुनितासँग। सधैं भेट भइरहने नाताले केही गुनासो पनि सुनाएकी थिइन् उनले।

३९ वर्षीय सुनिता पाण्डे काठमाडौंको तार्केश्वर नगरपालिका २ स्थित पदमसालमा कस्मेटिक्स पसल चलाउँदै आएकी थिइन्।सुनिताको घरबाट करिब ५ सय मिटरको दुरीमा उनको पसल छ। सहकारीमा काम गर्ने हिक्मत उनीकहाँ सधैंजसो पैसा लिन जान्थे बचतका लागि।

टिनले बारेको सुनिताको कस्मेटिक्स पसलमा सोमबार भने ताल्चा झुन्डिएको थियो। उनको घर वरपर मानिसको घुँइचो उत्तिकै। प्रहरीको पनि बाक्लै उपस्थिति। सुनिता उनै हुन् जसको शव आइतबार घरभित्रै वीभत्स हालतमा भेटिएको थियो। सुनितासँगै उनका श्रीमान् ४१ वर्षीय दिनेश पाण्डे, १३ वर्षीया छोरी र ८वर्षीय छोरा पनि सँगै मृत भेटिएका थिए। एक तले घरको एउटा कोठामा आमा छोराछोरी र अर्को कोठामा श्रीमानको शव भेटिँदा एकखाले तरङ्ग नै फैलियो। सधैं भेटिरहने हिक्मतका लागि त्यो खबर अत्याउने खालको थियो।

सुनिताले कस्मेटिक पसल                  

सुनिताको शव खाटभन्दा तल र दुई छोराछोरीको शव खाटमाथि भेटिएको थियो। तीनै जनाको शरीरमा धारिलो हतियारले प्रहार गरेको निशान छ।

एक दिनअघिमात्र सुनितासँग कुराकानी गरेका हिक्मत सोमबार स्तब्ध देखिए। उनी मेगा ड्रिम सहकारीमा काम गर्छन्। हरेक दिन सुनिताको पसलमा बचतको रकम उठाउने उनको दैनिकी। त्यही क्रममा आइतबार पनि उनी पसलमा पुगेका थिए। आइतबार सुनिताले आफ्नो खाता बन्द गर्नुपर्‍यो भन्दै भएको केही रकम समेत निकालेकी थिइन्।

'साढे पाँच हजार रुपैयाँ जति निकाल्नु भएको थियो। तर, अझै उहाँको खातामा ५ हजार जति होला। त्यस दिन राम्रैसँग कुरा भएको थियो। 'श्रीमानले जाँड खाने र हल्लिने मात्र गर्छ' भन्नु भएको थियो,'घटनास्थलमा भेटिएका हिक्मतले सुनाए। सुनिताले यसरी खाता बन्द गर्नुको कारण विदेश जान लागेको सुनाएकी थिइन्।

प्रहरीको प्रारम्भिक अनुसन्धान र छिमेकीहरुको बयानमा पनि उनी विदेश जान लागेको खुलेको छ। 'सिजनल भिसा'मा उनी बेलायत जान लागेकी थिइन्। केही समयअघि मात्र उनको भिसा लागेको थियो। त्यसैले सहकारीमा खोलेको खाता बन्द गर्न लागेकी थिइन्। त्यस दिन हिक्मतले उनकी १३ वर्षीय छोरीलाई समेत त्यहीँ भेटेको सुनाए।

'मैले ममी विदेश गएपछि कोसँग बस्छौं समेत भनेको थिएँ। उनले माइजुसँग बस्छु भनेको अहिले पनि ताजै छ,' हिक्मतले सुनाए।

तर, सुनिताको विदेश जाने र १३ वर्षीया छोरीको माइजुसँग बस्ने सपना अधुरौ नै रह्यो। आइतबार छोरी बिहान ८ बजे बिद्यालय जानु पर्नेमा नआएकाले छिमेकीमार्फत् खबर गर्दा घरको झ्याल ढोका बन्द रहेको, घरबाट आवाज नआएको छिमेकीले जानकरी दिए। त्यसपछि प्रहरीको टोली उनीहरुको घरमा पुगेको थियो।                      सुनिताको खाता देखाउँदै हिक्मत

सम्पूर्ण झ्यालढोका भित्रबाट चुकुल लगाएर बन्द थियो।फोडेर हेर्दा चार जनाको शव भेटिएको थियो भित्रै।

'घरभित्रबाट सबै ढोकामा चुक्कुल लगाइएको थियो। हाम्रो टोलीले गएर हेर्दा शव फेला पारेको हो,' काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनकराज भट्टराइले भने।

यस प्रकरणको अनुसन्धानका लागि काठमाडौं परिसरबाट प्रहरी उपरीक्षकसहितको प्रहरी टोली, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी अधिकृतसहितको अनुसन्धान टोली, प्रहरी बृत्त बालाजुबाट प्रहरी अधिकृतसहितको टोली खटिएको थियो।घटनास्थलमा त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक डा. गोपाल चौधरी र डा. आयुष उपाध्यायसहितको टोली पुगेर अनुसन्धान गरेको छ।

आशंका र झगडाले निम्त्याएको घटना!

१४  वर्ष अगाडि गोरखा घर भएका दिनेश र सुनिताको प्रेम विवाह भएको थियो। दिनेश विवाहपछि केही वर्ष विदेश बसेर फर्केका थिए। त्यसपछि उनले तार्केश्वरमा मोबाइल तथा इलेक्ट्रिक पसल सुरु गरे। तर, खासै सफलता पाउन भने सकेनन्।

जिन्दगी चलिरहेको थियो। ३ वर्ष अघि उनीहरुले तार्केश्वर नगरपालिका २ मा एक तले पक्की घर बनाएका थिए। त्यही घरमा आइतबार चारै जनाको शव भेटिएको छ। चार जनाको शरीरमा नै धारिलो हतियार प्रयोग भएको छ।

घटनास्थलबाट प्रहरीले त्यहाँ प्रयोग भएको हतियार, सुसाइड नोट लगायत प्रमाणजन्य सामान बरामद गरेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान, घटनास्थलबाट बरामद सामग्री तथा स्थानीयको बयानको आधारमा पहिले हत्या र त्यसपछि आत्महत्या भएको देखिएको छ। प्रहरीले अहिले घटनाको अनुसन्धान गरिसकेको छ। सुनिता र दिनेशबीच लामो समयदेखि घर झगडा भएको प्रहरीको भनाई छ। स्थानीयले पनि धेरै पटक उनीहरुबिच झगडा भएको बयान दिएका छन्। त्यस्तै, बालजु प्रहरीमा समेत उनीहरुको झगडामा उजुरीदेखि मिलापत्रसम्मका रेकर्ड छ।                  सुनिताको घर (घटनास्थल)

दिनेशको घर नजिकै गंगा तामाङको घर छ। तर घरभित्र भएको हत्या र आत्महत्याको घटनामा भने उनले कुनै पनि जानकारी पाइनन्। छिमेकको परिवारभित्रको कलह उनलाई थाहा थियो।

'धेरै दिन भएको थियो झगडा नसुनेको। सायद मिले होला भन्ने थियो। हिजो पनि केही सुनिएको होइन। आज एक्कासी यस्तो देखियो। पहिलेदेखि नै उनीहरुको झगडा भने भइरहन्थ्यो,' गंगाले सुनाइन्।

प्रहरीले घटनास्थलमा 'सुसाइड नोट' नोट समेत फेला पारेको छ। ५/६ पेज लामो नोट अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ। नोट दिनेशले लेखेको खुलेको छ। सुसाइट नोटमा 'सेक्स'देखि आर्थिक पाटो र आशंका लेखिएको प्रहरी स्रोतले जनकारी दियो।

'धेरै लामो सुसाइट नोट छ। त्यहाँ शंका गर्ने गरेको, एकले अर्कोलाई बिहेइतरका सम्बन्ध देखाएर शंका गर्ने गरेको उल्लेख गरिएको छ,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले सुनाए।

प्रहरी र आफन्तको जानकारी अनुसार उनीहरुबीच डिभोर्सको समेत कुरा चलेको थियो। तार्केश्वमार भएको घर बेच्ने विषयलाई लिएर पनि श्रीमान् श्रीमतीबीच विवाद हुने गरेको देखिएको छ। आफूले १२ वर्ष विदेशमा बसेर कमाएको सम्पति पनि माइतीलाई दिएको र आफूलाई विभिन्न केसमा पुलिस चौकीमा पुर्‍याएकाले घटना गरेको दिनेशले सुसाइड नोटमा उल्लेख गरेका छन्।

'पहिलेदेखि नै उनीहरु झगडा गरिरहन्थे,' नजिकै पसल चलाएर बसेकी उर्मिला तामाङले भनिन्।

हत्यापछि आत्महत्या?

घटनाको अनुसन्धान अहिले प्रहरीले गरिरहेको छ। प्रारम्भिक अवस्थामा घटनाको कारण जेजस्तै देखिए पनि अनुसन्धानले पूर्णता पाइसकेको छैन। त्यसैले चार जनाको मृत्युको प्रकरणबारे प्रहरीले यकिनसाथ औपचारिक रुपमा बताएको छैन। घटनास्थलको प्रकृति, बरामद सामान, छिमेकी र आफन्तको बयानले चाहिँ प्रष्ट संकेत गरेको छ –सुरुमा हत्या। पछि आत्महत्या।

घटना बन्द कोठाभित्र भएकाले बाहिरका मानिसभित्र पसेर हत्या गरेको भन्ने ठाउँ देखिन्न। त्यस्तै, घटनास्थलमा भेटिएको सुसाइड नोटले पनि अनुसन्धानलाई झन् न्यारो डाउन गरिदिएको छ। घटनास्थलमा दिनेशको शव हेर्दा फ्यानको तारमा झुन्डिएको जस्तो देखिन्छ। तर, उनको शरीरमा धारिलो हतियारको गहिरो चोट पनि देखिएको छ। विवादका क्रममा दिनेशले श्रीमती र छोराछोरीको हत्या गरेपछि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

तर, आफैँले आफैँलाई यति पीडा दिएर किन आत्महत्या गरे त? प्रश्नको उत्तर सजिलै पाउने अवस्था छैन। घटनाको यकिन समय खुल्न सकेको छैन। प्रहरीले शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell