.jpg)
काठमाडौं : साफ च्याम्पियनसीपको पहिलो खेलमा माल्दिभ्सलाई ४-० र दोस्रो खेलमा श्रीलंकालाई नेपालले ३-० ले हरायो। सुरुवाती दुई खेलमा कुल ७ गोल गरेर वाहीवाही बटुलेको नेपालका लागि तेस्रो खेल बिर्सनलायक रह्यो। र, ब्यहोर्यो एउटै खेलमा ८-० को फराकिलो हार। यो हारपछि नेपाली फुटबल वृत्तमा विभिन्न कोणबाट विश्लेषण चलिरहेको छ।
नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले भारतसँगको खेलमा पराजयको जिम्मेवारी लिँदै बंगलादेशसँगको खेलमा हारको 'रिकभरी' गर्ने र यसमा असक्षम रहे राजीनामा दिने घोषणा गरिसकेका छन्।
च्याम्पियनसीपमा नेपालको एक खेल खेल्न बाँकी छ। यो खेलबाट नेपालसँग फाइनल पुग्ने झिनो आशा र सम्मानजनक रुपमा बाहिरिने अर्को अवसर हुनेछ। नेपाल फाइनल प्रवेशका लागि भारतले माल्दिभ्ससँग बराबरी खेल्नुपर्नेछ वा पराजित हुनुपर्नेछ र नेपालले बंगलादेशलाई हराउनु पर्छ या नेपालले बंगलादेशमाथि फराकिलो अन्तरको जित निकाल्नुपर्छ। यस्तोमा भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको बंगलादेशलाई फराकिलो अन्तरले पछि छाड्न कठीन त छ नै, प्रतियोगितामा लयमा नदेखिएको माल्दिभ्सले लयमा फर्किएको भारतलाई बराबरीमा रोक्न या जित्न पनि कठिन छ। अर्थात, दुबै अवस्था नेपालको अनुकूलमा देखिँदैन।
बंगलादेशसँग आज नेपालले प्रतिस्पर्धा गर्दैछ। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आज दिउँसो सवा ४ बजे यी दुई टोली आमनेसामने हुँदैछन्। बंलगादेश जारी प्रतियोगितामा एकमात्र अपराजित टोली हो।
'हाम्रो लागि कठिन समय छ। हामीले खेलाडीलाई मोटिभेट गर्नेछौं। बंगलादेशलाई ठूलो गोलअन्तरले हराउने दबाब छ। हामीसँग अझै पनि केही मौका छ फाइनल पुग्ने। यसका लागि हामी सक्दो प्रयास गर्नेछौं,'बंगलादेशसँगको खेलबारे नेपाली टोलीका सहायक प्रशिक्षक बालगोपाल साहुखलले भारतसँगको हारपछि भनेका थिए।
भारतसँगको हारले छेडेको बहस
दुई खेलमा फराकिलो जित निकालेसँग समर्थकहरुले टोलीबाट निकै ठूलो अपेक्षा बनाएका थिए। कुनै प्रतियोगिता बिना खुला छनोटबाट आएका खेलाडीले सुरुका दुई खेलमा राम्रो प्रदर्शन गरे, आफ्नो सम्भावना देखाए। तेस्रो खेलमा भने भारतले आफ्नो स्तर देखाइदियो। यसबारेमा अहिले फुटबल नेतृत्वमा रहेका पदाधिकारी, फुटबलका जानकार र समर्थक आआफ्नै तर्क र विश्लेषण गरिरहेका छन् सामाजिक सञ्जालमा।
खेलाडी संघका अध्यक्षसमेत रहेका थ्री स्टार क्लबका कप्तान विक्रम लामाले पहिला उमेर समूहका प्रतियोगिता धेरै हुने गरेको र त्यसले राम्रो प्रतिफल दिनेगरेको उल्लेख गरेका छन्।
'यू १४, यू १६ का धेरैभन्दा धेरै फुटबल गतिविधि हुने गर्दथ्यो। त्यस्तै एन्फा एकेडेमीमा पनि खेलाडीलाई राखेर प्राविधिक रुपमा तिखार्ने काम निरन्तर हुने गर्दथ्यो। जसको प्रत्यक्ष फाइदा युथ स्तरको प्रतियोगितामा हाम्रो राष्ट्रलाई हुने गर्दथ्यो,' लामाले भनेका छन्, 'एएफसी यू १७, यू १९ जस्ता प्रतियोगितामा हामीले अब्बल टिमलाई जितेर दोस्रो चरणमा पुगेका छौं भने दक्षिण एसियामा प्राय प्रतियोगिता जित्ने गर्दथ्यौं।'
उनले अहिलेको कमजोरी घरेलु संरचनामै रहेकोमा जोड दिएका छन्। खेलाडीले मुस्किलले ६ महिना खेल्न पाउनु पर्याप्त नरहेको भन्दै भारतसँगको हारलाई लिएर अहिले चिन्ता लिनु भन्दा पनि अब चिन्ता बढ्ने उल्लेख गरेका छन्।
'साफ यू २० मा भारतसँग ८-० गोल अन्तरले हार्नु चिन्ताको विषय रहेन। किनकी चिन्ता त अब गर्नुपर्ने दिन आउँदैछ भन्ने मेरो बुझाई हो। यदि घरेलु फुटबलको संरचना र युथ फुटबलको गतिविधि नहुने हो भने भोलि गएर प्रत्यक्ष असर राष्ट्रिय टिमलाई पर्नेछ। जसको अर्थ नेपाली फुटबललाई पर्नु हो।' उनले भनेका छन्।
त्यस्तै, राष्ट्रिय टोलीका खेलाडी अन्जन बिष्टले पनि जित र हार स्वभाविक भएकाले सकारात्मक सोचेर अघि बढ्नु पर्ने बताएका छन्। उनले खेलाडीको मनोबल नगिराइदिन अनुरोध पनि गरेका छन्। त्यस्तै, सुजल श्रेष्ठले यो हारलाई शिक्षाको रुपमा लिएर अघि बढ्नु पर्ने प्रतिक्रिया दिएका छन्।
'अभाव बिचको लडाइँ र असुविधा सहितको संघर्ष कस्तो हुन्छ हामी सबैमा अनुभव रहेको छ। विजय सधैं मिठो रहन्छ तर पराजय सँगै प्राप्त गर्ने अनुभव अझै अमूल्य रहन्छ। बिषम परिस्थिती, अभाव तथा असुविधाका बावजुद पनि तपाईंहरुले गर्नु भएको मेहनतको निम्ती धन्यवाद छ टिम नेपाल यू २०,' सुजलले लेखेका छन्, 'यो हार भोलिको जितको निम्ती शिक्षाको रुपमा लिएर हामी अघि बढ्नु पर्छ, आगामी खेलहरुमा उत्कृष्ट शैलीमा फर्किएर बिजय हासिल गरी आफुलाई फेरि गौरवान्वित बनाउनु हुनेछ भन्ने विश्वास छ।'
यस्तोमा प्रश्न एन्फा नेतृत्वलाई पनि तेर्सिएको छ। लामो समयदेखि ‘ग्रास रुट’कोबारे एन्फा नेतृत्वले रटान लगाउने गरेको थियो/छ, पात्र फरक भए पनि सुनिने कुरा यिनै हुन्। तर, उमेर समूहमा महिलातर्फ साफकै यू १८ मा केही महिना अघि जितविहीन बनेर फर्कँदा या अन्य समूहमै पनि दाबेदारी कमजोर भएको अवस्था पछिल्ला घटनाक्रमले देखिएको छ। पुरुषतर्फ सिनियरमा फाइनलमा पुगेर पनि उमेर समूहको प्रतियोगिताविहीन हुँदा प्रतिस्पर्धी टोलीको गतिमा आफ्नो गति मिलाउन एन्फालाई चुनौती त पक्कै छ। किनभने उमेरसमूहमा बढेको प्रतिस्पर्धाको केहीवर्ष भित्रै पर्ने असर भनेको सिनियर राष्ट्रिय टोलीमै हो।
यसबारेमा फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाको कुरालाई आधार मान्ने हो भने अब राष्ट्रिय टिममा हालका खेलाडीको विकल्प के त? उनको हिसाबले हालको टीममा अब्बल खेलाडी भएर पनि उनीहरुमा अनुभवको कमी छ।
'अहिलेको यो यू २० र बन्दै गरेको यू १७ का खेलाडीलाई बचाउनुको विकल्प नहोला। समयसँगै परिमार्जन गर्दै यस यू २० र यू १७ का खेलाडीलाई बचाएर राख्न सक्नुपर्दछ,' लामाले भनेका छन्, 'घरेलु फुटबलको संरचनालाई बलियो बनाएर खेलाडीलाई खेलमा निरन्तर लागिरहन सक्ने वातावरण बनाउने हो भने यि खेलाडीले २/३ वर्षमा राष्ट्रिय टिममा सहयोग गर्न सक्छन्।'
अझ ठूलो चिन्ता भनेको घरेलु लिगको खराब अवस्थाले उनीहरु फूटबलमा टिक्लान नटिक्लान भन्ने पनि चिन्ताकै विषय छ। किनभने पछिल्लो समय घरेलु प्रतियोगिता नहुँदा राष्ट्रिय टोलीको जर्सी लगाइरहेका र सफलता चुम्दै गरेका खेलाडी नै विदेश भासिइरहेको अवस्था छ। त्यसैले त विदेशी भूमिबाट खेलाडी जगजित श्रेष्ठले अघिल्लो महिना गहन प्रश्न उठाएका थिए : वर्षमा ३ महिनाको लिग खेलेर,९ महिना बेरोजगार हुँदा पनि हामी खेलाडी, रेफ्री र प्रशिक्षक किन कुनै अवाज उठाउँदैनौं?
नेतृत्वले यसलाई फुटबलको खस्कँदो अवस्थालाई कसरी विश्लेषण गर्छ, यो समयले नै बताउँला।