PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

डर लाग्दा सामूहिक हत्याका श्रृङ्खला : आर्थिक पाटोदेखि रिसिइवीले निम्त्याएका घटना



सविन ढकाल

डर लाग्दा सामूहिक हत्याका श्रृङ्खला : आर्थिक पाटोदेखि रिसिइवीले निम्त्याएका घटना

काठमाडौं : काठमाडौंको तार्केश्वर नगरपालिका २, पदमसालस्थित एक घरभित्र सोमबार बिहमान ४ जनाको शव फेला पर्‍यो। एकै परिवारका चार जनाको घरभित्र शव भेटिएको थियो। गोरखा घर भएर हाल तार्केश्वर बस्ने ४१ वर्षीय दिनेश पाण्डे, उनकी ३९ वर्षीय सुनिता काप्री पाण्डे र दुईजना १३ र ८ वर्षीय छोराछोरी मृत भेटिका हुन्।

बन्द कोठाभित्र चारै जनाको शव विभत्स अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। चारैवटा शवमा धारिलो हतियारको गहिरो चोट छ। घरभित्रको एउटा कोठामा सुनिता र दुईजना छोराछोरीको शव फेला परेको थियो। छोराछोरी कोठाभित्रको खाटमा र सुनिताको शव भुइँमा लडेको अवस्थामा थियो। दिनेशको शव भने अर्को कोठामा भेटिएको थियो। उनले झुन्डिएर आत्महत्या गर्न खोजेको देखिएको छ। तर, प्रहरीले अहिलेसम्म सो घटना हत्या वा आत्महत्या के हो भने बारेमा औपचारिक रुपमा बोलेको छैन।

घटनास्थलमा भेटिएको प्रमाण, आफन्त र छिमेकीको बयानले घटना हत्यापछि आत्महत्या भएको देखिएको छ। प्रहरीले घटनास्थलबाट बरामद गरेको सुसाइड नोटमा श्रीमतीसँगको विवाद, शंका र आर्थिक पाटोको कारण घटना भएको खुलेको छ।

'सुसाइड नोट मात्र घटना पुष्टि गर्ने एक मात्र आधार होइन। त्यसैले घटनाको अन्य पक्षहरु पनि हेरिरहेका छौं,' काठमाडौं उपत्यका अनुसन्धाज कार्यालयका एसएसपी जनकराज भट्टराइले भने।

हाल प्रहरीले सो घटनाको अनुसन्धान गरिरहेको छ। तर, हत्या वा आत्महत्या जे भए पनि एउटै घरका चार जनाको मृत्युले धेरैको आङ जिरिङ बनाएको छ। यो सामूहिक घटना काठमाडौं उपत्यकामा पहिलोपटक घटेको भने होइन। यसअघि पनि तार्केश्वरको जस्तै धेरै सामूहिक घटना भएका छन्।

२०७७ साल भदौमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका ९ स्थित निकोसेरामा एकै परिवारका तीन जना घरभित्र मृत फेला परेका थिए। ३६ वर्षीय सुदीप अधिकारी, उनकी ३४ वर्षीया पत्नी सम्झना अधिकारी र १५ वर्षीय सुशान्त (छोरा) मृत अवस्थामा फेला परेका थिए। उनीहरुको मृत्युको समय पनि फरक फरक भएको फेला परेको थियो।

प्रहरीले घटनाको अनुसन्धानपछि सुदीपले आफ्नी श्रीमती र छोराको हत्या गरेर आत्महत्या गरेको निष्कर्ष निकालेको थियो। घटनाको कारण सुदीपको आर्थिक तथा मानसिक समस्या समेत भएको अनुसन्धानबाट खुलेको थियो। उनले घटनाको केहीदिनअघि मात्र ससुरालीबाट २ लाख रुपैयाँ ऋण लिएका थिए। त्यस्तै बैंकबाट २४ लाख रुपैयाँ ऋणको लागि प्रक्रिया गरेको कागजसमेत फेला परेको थियो। हत्या गर्ने मानिसले नै आत्महत्या गरेपछि प्रहरीको अनुसन्धान त्यहीँ गएर टुङ्गिएको थियो।

त्यस्तै, २०७७ साल पुसमा काठमाडौंको टोखामा एक दम्पती मृत अवस्थामा फेला परेका थिए। टोखास्थित ग्राण्डी भिलामा उमेश केसी र उनकी श्रीमती सुदीक्षा गिरी मृत अवस्थामा भेटिएका थिए। उमेश कोठाको खाटमा लडिरहेको र श्रीमती पासोमा झुन्डिएको अवस्थामा फेला परेका थिए। उमेश घटना घटेको केही समयअघि मात्र अमेरिकाबाट नेपाल फर्किएका थिए। श्रीमान् श्रीमतीबिच विवाद हुँदा घटना भएको प्रहरीको अनुसन्धानले देखाएको थियो।

यस्तै, ललितपुरमा पनि यस्तै प्रकृतिको घटना भएको थियो। २०७६ साल माघ महिनामा पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या भएको थियो। घरमा भएको सीसी क्यामरा तथा अन्य प्रमाणको आधारमा उनको हत्या घरमा काम गर्न राखिएका २२ वर्षीय विजय चौधरीले गरेको खुलेको थियो। मुनाको हत्या गरी चौधरीले आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकालेको थियो। घरभित्रको लिभिङ रुममा नाइलनको डोरी लगाएर झुन्डिएको अवस्थामा चौधरी मृत फेला परेका थिए।

हत्यापछि आत्महत्या गर्दा यस्ता घटनाहरुमा हत्याका थप कारण यही भने खुल्न सक्दैन।

यी भन्दा अलिक फरक किसिमको घटना संखुवासभामा घटेको थियो। मादी नगरपालिका १ मा सामूहिक हत्या भएको थियो। ५६ वर्षीय तेजबहादुर, उनकी वृद्ध आमा, श्रीमती, बुहारी र दुई नातिनातिनाहरुको हत्या गरिएको थियो। ८४ वर्षीय पार्वती कार्की, उनका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की, पाँच वर्षकी गोमा कार्कीको हत्या भएको थियो।

घटना भएको ६ दिनपछि अर्थात भदौ २७ गते लोकबहादुरक कार्कीलाई पक्राउ गरिएको थियो। त्यसको केही समयपछि प्रहरीले ४७ वर्षीय खड्गबहादुर कार्की, उनका २८ वर्षीय छोरा हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादर कार्की र १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको थियो। नरेश र रणबहादुर कार्की लोकबहादुरका भाइ र बुबा हुन्। सामूहिक हत्या रिसिइबीको कारण भएको प्रहरीको अनुसन्धानमा खुलेको थियो। चक्कु र दाउराको चिर्पट प्रहार गरेर हत्या गरिएको प्रहरीको अनुसन्धानमा देखिएको थियो।

हत्या प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेकामध्ये ४ जनालाई आजीवन कैद सजाय तोकि सकिएको छ। जिल्ला अदालत संखुवासभाले प्रतिवादीमध्ये ४ जनालाई आजीवन कैद गर्ने निर्णय सुनाइसकेको छ। त्यस्तै, एक नावालक प्रतिवादीको हकमा भने २५ वर्षको दुई तिहाई कैद सजाय सुनाइएको छ।

यसअघि २०७६ जेठमा पाँचथरको मिक्लाजुङ्मा नौ जनाको हत्या भएको थियो। एक बालिका भने भागेर बाँच्न सफल भएकी थिइन् त्यतिखेर। ३६ वर्षीया जस्मिता फियाक, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, पुर्सीमाया फियाक र १२ वर्षीया आशिका खजुम लिम्बुको हत्या भएको थियो। घटना भएको स्थानबाट करिब २ किलो मिटरको दुरीमा मानबहादुर माखिम झुन्डिएको अवस्थामा फेला परेका थिए। घटनास्थल नजिकै रगत लागेको लुगा, खुकुरी भेटिएकाले उनले नै अरुको हत्या गरेर आफूले आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकालेको थियो। हत्या गरेका मानबहादुर माखिम बमबहादुरका कान्छा ज्वाइँ हुन्।

त्यस्तै, २०७७ जेठमा रुपन्देही तिलोत्मा १० मा एक व्यक्तिले कोदालोले प्रहार गरेर पाँच जनाको हत्या गरेका थिए। गंगादेवी पशु फार्ममा काम गर्नेले राति हत्या गरेका थिए। जसमा ४ जना पुरूष र एक महिला छन्। मृत्यु हुनेहरुमा जानकी मुसहर, माधव मुसहर, करण चौधरी, आशिष चौधरी र पोषराज मुसहर रहेका थिए। मारिनेमा श्रीमान् श्रीमती नै थिए।

प्रहरीले हत्या अभियोगमा सोही दिन सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिंजालीलाई नियन्त्रणमा लिएको थियो। उनी मदिरा खाएर बेहोस भएको अवस्थामा फेला परेका थिए। उनले हत्या गरेको स्वीकार समेत गरेका थिए। अफवाह फैलाएपछि आफूले रिसको आवेगमा हत्या गरेको उनले बयान दिएका थिए। घटना भएको सात महिनापछि उनलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell