PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

घरघरमा टासिँयो नागको तस्विर, पोखरी जीर्ण बन्दा नागपोखरीमा घट्यो रौनक

घरघरमा टासिँयो नागको तस्विर, पोखरी जीर्ण बन्दा नागपोखरीमा घट्यो रौनक

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आज नाग पञ्चमी। बिहानै घरको मूल ढोकामा नागको तस्विर टाँसेर नागको पूजा गरिएको छ।

घरमा नागको तस्विर टाँस्दा घरमा नाग, बिच्छी लगायतका जीवको दु:ख नहुने र आगो र चट्याङको भय नहुने जनविश्वास रहेको छ। प्रचलनअनुसार नागको मूर्ति एवं तस्बिरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी गाईको गोबरले घरको ढोकामाथि टाँस्ने प्रचलन छ।

बजारमा नागका विभिन्न आकृतिका तस्विरहरु पाउन सकिन्छ। हाल धेरैजसो भारतबाट आयातित नागका तस्विरहरुको व्यापार हुने गरेको छ। नेपालमै हातले बनेका नागका तस्विरहरुले बजार पाउन सकेका छैनन्। भारतबाट आउने नागको तस्विरले नेपाली मौलिक नागको तस्विरलाई विस्थापित गर्दै लैँजादा यसरी नागको तस्विर बनाउने समुदाय लोप हुदै गएको छ।

नाग पञ्चमीको दिनदेखि बर्खा सकिएर हिउँद सुरु भएको मानिन्छ। यसदिन नागको वासस्थान भएका पोखरी, कुवा, इनारमा गएर पूजा गर्ने चलन रहेको छ।

काठमाडौंको नक्सालस्थित नागपोखरीमा पनि बिहानैदेखि मानिसहरु दर्शन गर्न पुगेका थिए। पोखरी जीर्ण भएकाले मध्यभागसम्म भक्तजनहरुलाई यसपटक जान दिइएन। भक्तजनहरुले बाहिरैबाट नागको पूजा गरेका थिए। पहिला भने मध्य भागसम्म गएर नागको दर्शन गर्ने व्यवस्था थियो। पोखरी जीर्ण बनेकाले केही वर्षयता नाग पञ्चमीमा रौनक घटेको स्थानीय बताउँछन्।

नाग पोखरीमा केही बाबाहरुले नाग ल्याएका थिए। नाग पोखरी पुगेका भक्तजनहरु नाग हेर्न र नागलाई दूध र पानी चढाएर पूजा गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell