PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सहकारीका सञ्चालकको 'बेइमानी'ले सयौं बचतकर्ताको करौडौं रकम जोखिममा : केही सञ्चालक जेलमा, कोही प्रहरीको खोजीमा



सविन ढकाल

सहकारीका सञ्चालकको 'बेइमानी'ले सयौं बचतकर्ताको करौडौं रकम जोखिममा : केही सञ्चालक जेलमा, कोही प्रहरीको खोजीमा

काठमाडौं : दुई सातादेखि काठमाडौं महानगरपालिका १४ स्थित केन्द्रीय कार्यालय कुलेश्वरमा रहेको गौतम श्री बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक फरार भएपछि बचतकर्ता चिन्तामा छन्। यसरी सञ्चालक सम्पर्कविहीन हुँदा बचतकर्ताको ७ अर्बभन्दा बढी रुपैयाँ जोखिममा परेको छ।

सञ्चालक सदस्यदेखि सहकारी केही कर्मचारीसमेत सम्पर्कविहीन भएपछि बचतकर्ताले सहकारी विभागको ढोका ढकढकाएका हुन्। उनीहरूले नयाँ बानेश्वरमा रहेको सहकारी विभागमा आफ्नो बचत रकम लिएर सहकारीका सञ्चालक फरार रहेको भन्दै उजुरी दिएका छन्। सोमवारसम्म एक हजार १४५ जनाले उजुरी दिएको सहकारी विभागका उपरजिस्ट्रार टोलराज उपाध्यायले बताए।

'सञ्चालक फरार रहेकाले आफ्नो लगानी डुबेको भन्दै उहाँहरुले उजुरी दिनुभएको छ। त्यसको लागि हामीले कानुनी उपचारको बाटो खोजी सकेका छौँ,' उपाध्यायले भने।

अहिले पनि विभागमा उजुरी दिन आउने निक्षेपकर्ताको सङ्ख्या उतिकै छ। अहिलेसम्म सानादेखि ठुलो मात्रामा सहकारीमा निक्षेप गराएका बचतकर्ताले उजुरी दिएका छन्। एक जनाको १ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको निक्षेप देखिएको छ। अहिलेसम्मको उजुरी परेकाहरुको निवेदन अध्ययन गर्दा डेढ अर्ब रुपैयाँ बराबर रकम डुबेको छ। सहकारीमा २५ सयभन्दा बढी निक्षेपकर्ता भएको पीडितहरूको भनाइ छ। त्यसको हिसाब गर्दा ७ अर्बभन्दा बढी रुपैयाँ जोखिममा परेको देखिन्छ।

सहकारीका अध्यक्ष रामबहादुर गौतम, उनकी श्रीमती (उपाध्यक्ष) निर्मला गौतम फरार छन्। गौतम परिवार भागेर भारत पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। कारोबार रोक्का भएपछि र संचालक नै फरार भएपछि एभरेष्ट बैंकले शुक्रवार सहकारीको केन्द्रीय कार्यालयमा पुगेर सिलबन्दी गरेको छ। त्यस्तै सहकारी विभागले सहकारीको नाममा रहेको सम्पत्ति र अध्यक्षको सम्पत्तिसमेत रोक्का गर्न सम्बन्धित निकायलाई पत्रचार गरिसकेको छ।

'हामीले संस्थान र व्यक्तिको नाममा रहेको सम्पत्ति रोक्का गर्नको लागि पत्राचार गरिसकेका छौँ। त्यस्तै अन्य निकायलाई समेत जानकारी दिएका छौँ,' उप रजिस्ट्रार उपाध्यायले भने।

सहकारी विभागले अध्यक्ष रामबहादुर गौतम, उपाध्यक्ष निर्मला गौतम, सचिव राम गौतम, प्रमुख व्यवस्थापक रवीन्द्र विष्टलगायत केही कर्मचारीलाई खोजेर विभागमा जिम्मा लगाउन प्रहरी प्रधान कार्यालय नक्साललाई पत्राचार गरिसकेको छ। प्रहरीले सञ्चालकलाई खोजी गर्न थालेको छ।

सहकारीमा बढ्दो ठगी

गौतम श्री सहकारी ठगी प्रकरण अहिले चर्चामा आएकोमात्र हो तर नौलो भने होइन। सहकारी ठगी प्रकरणमा प्रहरीदेखि सहकारी विभागले समय समयमा पक्राउ तथा कारबाही गरिरहेको छ।

पछिल्लो समय सबैभन्दा धेरै चर्चामा आएको सहकारी ठगी प्रकरण सिभिल सहकारी हो। सभासद् तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ अहिले अदालतको आदेशमा कारागारमा छन्। उनको मुद्दा जिल्ला अदालत काठमाडौंमा चलिरहेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तामाङसहित गत असोज १८ गते ठगी आरोपमा १२ जना पक्राउ गरेको थियो। तामाङलगायत ४२ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो। जिल्ला अदालत काठमाडौंमा उनीहरू विरुद्ध ५ अर्ब ७७ करोड ८० लाख ९० हजार ९ सय २ रुपैयाँ बिगोसहित ठगी र सङ्गठित अपराधमा मुद्दा दर्ता भएको थियो। अदालतले तामाङलाई पुर्पक्षको लागि थुनामा पठाएको छ।

त्यस्तै उनकी श्रीमती सिर्जना शाक्यलाई पनि  केन्द्रीय अनुसन्धान ब्युरो( सिआइबी) को टोलीले साउन ३ गते पक्राउपछि सार्वजनिक गरेको छ। गत पुस २७ गते जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि शाक्य फरार रहेकी थिइन्। उनी सिभिल सहकारीमा लेखा समिति सदस्य रहेको खुलेको थियो।

सहकारी विभागमा अहिलेसम्म १२ वटा सहकारीले बचतकर्ताको रकम तिर्न नसकेर फरार भएको उजुरी परेको थियो। सहकारी विभागले यस्ता सहकारीलाई समस्याग्रस्त घोषणा गरेर कारबाही गरिरहेको उप रजिस्ट्रार उपाध्यायले बताए। गएको आर्थिक वर्षमा ३ सय सहकारीविरुद्ध विभिन्न उजुरी सहकारी विभागमा परेको छ। सहकारी विभागको तथ्याङ्कअनुसार देशभर ३० हजार सहकारी दर्ता भएका छन्।

त्यस्तै अहिले काठमाडौंको बलम्बुमा रहेको प्रज्ञान बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको १७ करोड ९५ लाख रुपैयाँ हिनामिना गरेको  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को टोलीले अनुसन्धान गरिरहेको छ। यस प्रकरणमा संस्थाका अध्यक्ष श्रीकृष्ण महर्जनसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

उनीहरू विरुद्ध अदालतबाट ठगी मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। काठमाडौंको चन्द्रागिरि नगरपालिका १२ मा रहेको उक्त सहकारीले बचतकर्ताबाट उठाएको रकम अध्यक्षलगायतले धितो जमानी नराखी, नक्कली मुद्दती बचत प्रमाण दिने, नक्कली कर्जा लगानी गर्ने र सेयर अपचलन गर्ने गरेको देखिएको हो।

प्रहरीले सहकारी अध्यक्ष महर्जनसहित उपाध्यक्ष विरकृष्ण महर्जन, कोषाध्यक्ष धनकृष्ण महर्जन, सचिव धर्मरत्न महर्जन, तत्कालीन सचिव सुरज महर्जन, ऋण उपसमिति सदस्य अष्टकुमार महर्जन,लेखा परीक्षक हिमालयराज जोशी र दीपक राना मगरलाई नियन्त्रणमा लिएको हो।

सहकारीले बचतकर्ताको १७ करोड ९४ लाख ७६ हजार ५ सय १८ रुपैयाँ हिनामिना गरेको प्रहरीको अनुसन्धान खुलेको छ।

समस्यामा किन पुग्दैछन् सहकारी?

सहकारीको नियमन फितलो हुँदा संचालकले आफुखुशी लगानी गरिरहेका छन्। उनीहरुले छोटो समयमा धेरै नाफा कमाउने क्षेत्रमा लगानी गर्दा सहकारी डुब्ने गरेको छ।

डुबेका अधिकांश सहकारीको घरजग्गा र सेयरमा धेरै लगानी देखिएको छ। 'धेरै नाफा हुने क्षेत्र घरजग्गा नै हो। त्यही भएर अर्बौ कारोबार गर्ने सहकारीका अध्यक्ष र संचालकले आफूखुशी घरजग्गामा कारोबार गर्ने र कारोबारमा मन्दी आएपछि समस्यामा पर्ने गरेको देखिएको छ', विभागका एक कर्मचारीले भने, 'कोभिडपछि धेरैले घरजग्गामा लगानी गरे। भाउ उकालो पनि लाग्यो। तर अहिले तरलता अभावसँगै कारोबार रोकिँदा सहकारीहरु समस्यामा परेका हुन्।'

ती कर्मचारीका अनुसार सहरी क्षेत्रका धेरै सहकारीले साना-साना बचतकर्ताबाट उठाएको पैसा घरजग्गा कारोबारमा लगाएका छन्। ती सहकारी विस्तारै समस्यामा परेर निक्षेपकर्ताले रकम नपाउने अवस्था आउने उनी बताउँछन्। 'विभागले सहकारीको नियमन गर्न सक्ने अवस्था छैन। अर्बौ रुपैयाँ कारोबार गर्ने कम्पनीका अगाडि विभाग निरीह छ,' उनले भने, 'अहिलेको तरलता अभाव हेर्दा यो वर्ष धेरै सहकारी डुब्ने र लाखौ निक्षेपकर्ताले निक्षेप नपाउने अवस्था आउने देखिएको छ।'

विगतमा घरजग्गाको कारोबारबाट ओरियन्टल सहकारीसमेत डुबेको थियो। ओरियन्टल सहकारीका अध्यक्ष सुधिर बस्नेत थिए। घरजग्गाको कारोबार चम्किएपछि उनले सहकारीको पैसा त्यतै लगाए। तर राष्ट्र बैंकले ऋणमा सीमा तोकिदिएपछि तासको पत्तिजस्तै उनको व्यवसायिक साम्राज्य ढल्यो।

उनले ओरियन्टल सहकारीबाट अर्बौ रुपैयाँ घरजग्गामा लगानी गरेका थिए। त्यहाँ पैसा राखेका धेरैले अहिलेसम्म पनि निक्षेप फिर्ता पाएका छैनन्। सिभिल सहकारी पनि घरजग्गाकै कारण डुबेको हो। ती कर्मचारीका अनुसार सरकारले नियमन नगर्ने हो भने धेरै जनता सहकारीबाट पीडित बन्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell