PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

को हुन् काबुलको सुरक्षित मानिने घरको बार्दलीमा निस्किएका बेला 'निन्जा' मिसाइल आक्रमणमा परी मारिएका जवाहिरी?



पहिलोपोस्ट

को हुन् काबुलको सुरक्षित मानिने घरको बार्दलीमा निस्किएका बेला 'निन्जा' मिसाइल आक्रमणमा परी मारिएका जवाहिरी?

अलकायदाका नेता आयमन अल जवाहिरी मारिएका छन्। अफगानिस्तानको राजधानी काबुलमा भएको ड्रोन आक्रमणमा उनी मारिएका हुन्। यो हत्या सन् २०११ मा अलकायदाका संस्थापक ओसामाबिन लादेनको हत्यापछिको ठूलो धक्का भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन्।  

७१ वर्षीया जवाहिरी आइतवार बिहान एकदमै सुरक्षित मानिएको काबुलको डाउनटाउन क्षेत्रको घरको बार्दलीमा निस्किएको बेला सिआइएको ड्रोनले 'निन्जा' मिसाइल प्रहार गरेको थियो। यसलाई सिआइएले ६ महिनाअघिदेखि चलाएको मिसनसमेत भनेको छ।

'बल्ल न्याय दिलाइएको छ। र यो आतंकवादी नेता रहेको छैन,' सोमवार अमेरिकी राष्ट्रपति बाइडेनले ह्वाइटहाउसबाट प्रतिक्रिया दिँदै भनेका छन्, 'जति लामो समय लागे पनि केही छैन। तिमी जहाँ लुके पनि केही फरक पर्दैन। यदि तिमीहरुले हाम्रा जनतालाई चुनौती दिन्छौँ भने अमेरिकाले तिमीहरुलाई फेला पार्नेछ र बाहिर निकाल्नेछ।'

उक्त आक्रमणमा कुनै पनि सर्वसाधरणको मृत्यु नभएको अमेरिकाले दाबी गरेको छ। 

यता तालिवान सरकारका प्रवक्ताले भने जवाहिरीको मृत्युप्रति कुनै प्रतिक्रिया दिएको छैन। प्रवक्ता जविहुल्ला मुजाहिदले ड्रोन स्ट्राइक भएको पुष्टि गर्दै यसको निन्दा गरेका छन्। उनले यसलाई अन्तराष्ट्रिय मान्यताको उल्लंघन भनेका छन्।  

काबुलको सेरपुरमा एक अग्लो घरमा रकेट आक्रमण भएको छ। 'घर पुरै खाली थियो। त्यहाँ कुनै मानवीय क्षति पुगेको छैन,' त्यहाँको आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता नाफी ताकोरले भनेका छन्। 

तालिवान अधिकारीहरुले आक्रमण गरिएको घरमा सुरक्षा कडाइ गरेका छन्। तालिवानका एक उच्च अधिकारीले जवाहिरी यसअघि हेलमन्ड प्रान्तमा रहेको र तालिवानले देश नियन्त्रणमा लिएपछि अगस्टमा काबुल आएको रोयटर्सलाई  बताएका छन्। 

यसअघि जवाहिरीको मृत्युको पटक पटक हल्ला चल्दै आएको थियो। साथै उनको स्वास्थ्य अवस्थासमेत कमजो रहेको बताइँदै आएको थियो।  

यो ड्रोन आक्रमण गत अगस्टमा अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि अफगानिस्तानभित्र अमेरिकाले गरेको पहिलो आक्रमण हो। 

को हुन जवाहिरी?

अमेरिकी ड्रोन आक्रमणबाट मारिएका जवाहिरी अल कायदाका प्रमुख विचारक हुन्। उनी नेत्र शल्यचिकित्सक हुन्। उनले इजिप्टमा इजिप्टियन इस्लामिक जिहाद मिलिटेन्ट ग्रुप स्थापना गरेका थिए। उनले ओसामा बिन लादेनको हत्यापछि अलकायदाको नेतृत्व समालेका हुन्। 

सिआइएले अवाहिरीको टाउकोको मुल्य २५ मिलियन डलर राखिएको थियो। उनी सन् २००१ सेप्टेम्बर ११ मा भएको आक्रमणका सहयोगी हुन्। 

सअघि जवाहिरी लादेनका दाहिने हातको रुपमा चिनिन्थे। उनी नै सेप्टेम्बर ११ को आक्रमणपछिका 'अपरेसनल ब्रेन' भएको मानिन्छ। २२ सर्वाधिक खोजीमा रहेका आतंकावादी‍मध्ये लादेनपछिका दोस्रो नम्बरमा छन्। उनको टाउकाको मूल्य २५ मिलियन डलर तोकिएको थियो। 

सेप्टेम्बर ११ पछि जवाहिरी अलकायदाका प्रमुख प्रवक्ताको रुपमा देखिएका थिए। सन् २००७ मा मात्र उनी १६ भिडियो र अडियो टेपमा देखिएका थिए। जुन लादेन भन्दा चार गुणा बढी हो। 

उनी यो आइतवारमात्र अमेरिकी आक्रमणमा परेका होइनन्। उनलाई लक्षित गरी सन् २००६ मा अमेरिकाले पाकिस्तान र अफगानिस्तानको सीमा नजिक मिसाइल आक्रमण गरेको थियो। त्यतिवेला तालिवानका चार नेता मारिए पनि जवाहिरी बाँचेका थिए। र त्यसको दुई सातापछि उनले भिडियो टेप सार्वजनिक गर्दै तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसलाई चेतावनी दिँदै उनी वा विश्वको सबै तागत लागेपनि मृत्यु आफ्नो नजिक ल्याउन नसक्ने बताएका थिए। 

१९५१ जुन १९ मा इजिप्टको राजधानी कायरोमा जन्मिएका जवाहिरी आफैमा सम्मानित चिकित्सक तथा विज्ञहरुको परिवारमा जन्मिएका हुन्। उनका हजुबा रबिया अल जवाहिरीमध्य पूर्वकै सुन्नि इस्लामिक सिकाइ केन्द्र अल-अजरका ग्रान्ड इमाम थिए। त्यस्तै उनका एक काका अरब लिगका प्रथम महासचिव थिए। 

जवाहिरी १५ वर्षकै उमेरमा मुस्लिम ब्रदरहुडमा सहभागि भएर पक्राउ परेका थिए। कायरो विश्वविद्यालयको मेडिकल स्कुलमा उनले १९७४ मा स्नातक उत्तीर्ण गरी चारवर्ष पछि स्नातकोत्तरसमेत हासिल गरेका थिए। 

उनका पत्नी सोही स्कुलका फार्माकोलोजीका प्रध्यापक थिए। उनको मृत्यु सन् १९९५ मा भएको थियो। सुरुवातमा जवाहिरीले आफ्नो पारिवारिक पेसालाई नै निरन्तरता दिए। कायरोमा उनले क्लिनिक सञ्चालन गरेका थिए। तर, उनी इजिप्ट सरकार अपदस्त गर्न गठित इस्लामिक समूहमा आवद्ध भए। १९७३ मा स्थापित इस्लामिक जिहादमा उनी जोडिए। 

कायरोमा सैन्य परेडमा सहभागी हुँदा त्यहाँका राष्ट्रपति अनवर सदातको हत्या भयो। उनी त्यसमा सहभागी थिए। सामूहिक रुपमा भएको ट्रायलमा जवाहिरी नै नेताको रुपमा भिडियो उपलब्ध गराउँदै इस्लामिक राष्ट्र र इस्लामिक समाज निर्माणको प्रयास गरिरहेको बताएका थिए। 

उनलाई राष्ट्रपतिको हत्या अभियोगमा उन्मुक्ति दिइए पनि अवैध हातहतियार राखेको अभियोगमा तीन वर्ष सजाय दिइएको थियो। जेलमा भएको यातनाले उनलाई थप कट्टरपन्थी बनाएको बताइन्छ। १९८५ मा रिहा भएपछि उनी साउदी अरेबिया पुगे। त्यहाँबाट पाकिस्तान पेशावर हुँदै अफगानिस्तान पुगे। त्यहीबाट उनले इजिप्टियन इस्लामिक जिहादको शाख खोली काम गर्न थाले। 

जवाहिरी १९९० को दशकमा विश्वका विभिन्न देशमा सुरक्षित स्थान र लगानीका स्रोत खोज्न पुगेका थिए। अफगानिस्तानबाट सोभियत युनियनपछि हटेपछि उनी बुल्गेरिया, डेनमार्क, स्विट्सजरल्याण्ड पुगेको विश्वास गरिन्छ। जाली पासपोट बोकेर उनी बाल्कन, अष्ट्रिया, यमन, इराक, इरान र फिलिपिन्ससमेत पुगेको बताइन्छ। 

१९९६ को डिसेम्बरमा उनी ६ महिना रुसी जेलमा बिताएका थिए। त्यतिबेला उनी वैध भिसा विना प्रवेश गरेको अभियोगमा पक्राउ परेका थिए। सन् १९९७ मा उनी ओसामा बिन लादेन बसेको क्षेत्र जलालाबाद पुगे। त्यहाँ पुगेपछि लादेनले नेतृत्व गरेको अलकायदा, जवाहिरीले नेतृत्व गरेको इस्लामिक जिहादसहितका अन्य पाँच संगठन मिलेर वर्ल्ड इस्लामिक फ्रन्ट फर जिहाद अगेन्स्ट जिउज एण्ड क्रुसेडर गठन भयो। 

यही समूहले केन्या र तानजानीयमा २२३ जनाको ज्यान जाने गरी अमेरिकी दूतावासमा आक्रमण गर्‍यो। 

यो आक्रमणको दुई सातापछि अमेरिकाले उनीहरुको तालिम केन्द्रमा आक्रमण गर्‍यो। त्यसको अर्को दिन जवाहिरीले पाकिस्तानी पत्रकारलाई भनेका थिए- अमेरिकालाई भनिदेउ यो बमबारीले, यो चेतावनी र यो आक्रमणले हामीलाई डराउने छैन। युद्ध त बल्ल सुरु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell