बुटवल : लुम्बिनी विकास गुरूयोजना विपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको परिषद् बैठकले लुम्बिनी विकास कोषभित्र निजी कम्पनीलाई रिसोर्ट सञ्चालन गर्न दिने निर्णय खारेज गरेको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए।
संसारा वेलनेस कम्पनीले लुम्बिनीग्रामस्थित श्रीलंकाको पिलग्रिमेज हाउससँग जोडिएको क्याम्पियन ग्राउन्डको जग्गा रिसोर्ट सञ्चालनका लागि उपलब्ध गराउन लुम्बिनी विकास कोषसामु प्रस्ताव गरेको थियो।
सोही प्रस्ताव प्रेमकुमार आले संस्कृति मन्त्री रहेका बेला स्वीकृत गरिएको थियो। तर, लुम्बिनी विकास गुरूयोजना विपरीत रहेकाले गत जेठ १९ मा बसेको कार्यकारिणी समितिको बैठकले गरेको निर्णय परिषद् बैठकले खारेज गरेको सदस्य सचिव शाक्यले बताए।
त्यस्तै बैठकले गौतमबुद्धले २९ वर्ष विताएको कपिलवस्तुको तिलौराकोटलाई विश्वसम्पदा सूचीमा मनोनयनका लागि रणनीतिक मनोनयन दस्तावेज तयार गर्नका लागि अन्तरराष्ट्रिय विज्ञ अष्ट्रेलियाका डङकन मार्शलललाई छनौट गर्ने निर्णय गरेको छ।
यसैगरी परिषद् बैठकले लुम्बिनीमा पर्यटक सुविधाका लागि विद्युतीय बस सञ्चालन गर्ने निर्णय पनि गरेको छ। बैठकले एक महिनाभित्र विद्युतीय बस सेवा सञ्चालन गर्ने निर्णय गरेको हो।