
काठमाडौं : भलिबल संघमा सक्रिय रहेक निरोज मास्केले नेपाल भलिबल संघको अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेकी छिन्। मंगलवार उम्मेदवारी घोषणा कार्यक्रममा मास्केले पाँच 'प' को प्रतिबद्धतासमेत जनाएकी छिन्।
डेढ दशकदेखि भलिबल संघमा आबद्ध उनले दार्चुला जिल्लाबाट प्रतिनिधित्व गर्दै भलिबल संघमा प्रवेश गरेकी थिइन्। अध्यक्षमा उम्मद्वारी दिएकी उनले प्रशिक्षण, प्रतियोगिता, पूर्वाधार, प्रोत्साहन र प्रशासनिक संरचना गरी पाँच 'प' प्रतिबद्धता जारी गरेकी छिन्। जसमा खेलाडी, रेफ्री, प्रशिक्षकको प्रशिक्षणदेखि विभिन्न तहका प्रतियोगिता, केन्द्र र प्रदेशमा कभर्ड हल, स्थानीय तहमा भलिबलका पूर्वाधार विकास गर्ने, खेलाडी प्रोत्साहनको कार्यक्रम ल्याउने, प्रशासनिक संरचनामा सुधार ल्याउने लगायतका प्रतिबद्धताहरु गरेकी छिन्।
उनीबाहेक हालका महासचिव जितेन्द्र चन्दले पनि अध्यक्षमा उम्मेद्वारी दिने चर्चा चले पनि उनले घोषणा भने गरेका छैनन्। यता मास्केले हालसम्म कसैले उम्मेद्वारी नदिएकाले आफूले नै शतप्रतिशत समर्थन पाउने दाबी गरेकी छिन्। भलिबल संघको चुनाव भदौ २२ गते हुँदैछ।