PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

चुनावबारे सत्ता गठबन्धनमा किचलो, मिति तोक्न कसले रोकिरहेको छ देउवालाई?



प्रकाश भण्डारी

चुनावबारे सत्ता गठबन्धनमा किचलो, मिति तोक्न कसले रोकिरहेको छ देउवालाई?

काठमाडौं: मंसिर ४ गतेका लागि चुनाव गर्न निर्वाचन आयोगले सुझाएको मिति घर्किन थालेको छ। असार २२ गते  आयोगको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रदेश तथा प्रतिनिधि सभाको चुनावको मिति प्रस्ताव गरेको थियो। तर, महिना दिनसम्म पनि सरकार चुनावबारे अनिर्णित छ।

निर्वाचनको मिति नतोकिइपछि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले असार १० गतेको पत्रकार भेटघाटमा चाँडै चुनावको मिति तोकिने दाबी गरेका थिए।

‘आउँदो क्याबिनेटको बैठकबाट मंसिर ४ गते निर्वाचन तोकिए अचम्म नमाने हुन्छ,’ थपलियाले भनेका थिए।

निर्वाचनको मितिबारे सत्ता गठबन्धनमा सहमति जुटेको छैन। चुनाव घोषणा गर्ने तयारी भए पनि चुनावबारे गठबन्धनमा सहमति नजुटेपछि सोमबारको नियमित मन्त्रिपरिषदको बैठक समेत प्रभावित भएको थियो।

‘विभिन्न कारणले गर्दा सोमबार मन्त्रिपरिषदको बैठक बसेन,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले भने।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मंसिर ४ मै चुनाव हुने दाबी गरेका थिए।

चुनावको मिति तोक्न किन ढिलो?

सत्ता गठबन्धनमा चुनावको विषयमा किचलो छ। चुनावबारे नेताहरुबीच सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मिति घोषणा गरेका छैनन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवालाई चुनावको मिति घोषणा गर्न रोकेको बताएका छन्। असार १२ गते काठमाडौंमा आयोजित प्रेस सेन्टरका केही नेताहरुसँग प्रचण्डले देउवाले तत्काल चुनावको मिति घोषणा गर्न चाहे पनि आफूले नागरिकता विधेयक पारितपछि मात्रै मिति तोक्नुपर्ने मत राखेको बताएका थिए। सत्ता गठबन्धन गरेर चुनावमा जाँदा कसलाई कति सिट दिने भन्नेबारेमा सहमति जुटेको छैन। स्थानीय तह निर्वाचनका बेलामा कांग्रेसले भागबण्डा गर्दा आफ्नो शक्तिको अवमूल्यन गरेको माओवादी र एकीकृत समाजवादीले गुनासो गरेका थिए।

प्रचण्डले स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रलाई नेपाली कांग्रेसले इमानदार भएर मत नदिएको भन्दै खबरदारी गर्दै आएका छन्।

‘मैले नेपाली कांग्रेसका नेताहरुलाई भनेको छु पहिलो त तपाईंहरु नै हो दोस्रो मा‌ओवादी हुनपर्छ। त्यसमा सहयोग गर्ने हो भने सबै सहयोग हुन्छ नत्र हुँदैन्,’ प्रचण्डले नेपाली कांग्रेसलाई चेतावनी दिँदै सम्पर्क समन्वय प्रदेशको प्रशिक्षणमा जेठ १२ गते भनेका थिए।

‘प्रधानमन्त्रीले हिसाब गर्दै होलान्’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावबारे कस्तो रणनीति बनाउने भन्ने तय नभएकोले मिति घोषणा हुन नसकेको बताए। उनले देउवाले चुनावका बारेमा गठबन्धनका नेताहरुसँग छलफल गरिरहेको जानकारी दिए। गठबन्धनको बैठक बोलाएर चुनावबारे छलफल हुने र त्यसपछि मात्रै मिति तय हुने पौडेलको भनाई छ।

‘कसरी चुनावमा जाने कस्तो रणनीति बनाउने भन्नेबारेमा पहिला छलफल होला नि। चुनावको मिति चाँडै घोषणा हुन्छ भन्ने हामीले विश्वास गरेका छौँ। प्रधानमन्त्रीले हिसाब गर्दै होलान् नि,’ पौडेलले भने।

उनले गठबन्धनको बैठक बुधबार बस्ने जानकारी दिए।

सत्ता गठबन्धनमा रहेका दलहरुभित्र देखिएको किचलोका कारण पनि चुनावको मिति घोषणा हुन ढिला भइरहेको छ। एकीकृत समाजवादीभित्र सत्ता गठबन्धन कायमै राख्ने कि नराख्ने भन्नेबारेमा किचलो छ भने माओवादी केन्द्रमा पनि कांग्रेसले माओवादीलाई स्थानीय तहमा अवमूल्यन गरेको भन्दै चुनावी गठबन्धनबारे सोच्नुपर्ने मत राखिरहेका छन्। अर्कोतिर प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गठबन्धनभित्र उपगठबन्धन बनाइरहेका छन्। प्रचण्ड-नेपालले समाजवादी केन्द्र बनाउनेबारे तत्कालीन नेकपाको सचिवालय सदस्यहरु वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र झलनाथ खनालसँग छलफल गरेका थिए। समाजवादी केन्द्र बनाउनेबारे जनता समाजवादी केन्द्रबाट कारबाहीमा परेका डा. बाबुराम भट्टराई पनि गृहकार्यमै छन्। त्यसो त प्रचण्डले पनि उपगठबन्धन बनाएर कांग्रेससँग तालमेल गरेमा वामपन्थी शक्ति बलियो हुने बताइरहेका छन्।

उपगठबन्धनलाई लिएर नेपाली कांग्रेसले संशय व्यक्त गरिरहेको छ। एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिले दलहरु प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनबारे आ-आफ्नो तरिकाले अघि बढेकाले मिति घोषणा हुन नसकेको बताए।

‘मंसिरको पहिलो हप्तामा घोषणा गर्ने भन्ने मोटामोटी अण्डरस्ट्याडिङ हो मोटामोटी। चुनावबारे दलहरुभित्रको असहमतिभन्दा पनि दलहरु आ-आफ्नो तरिकाले गइरहेका छन्,’ खनालले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell