अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवानको संसदमा पुगेकी छिन्। चीनको चेतावनी बाबजुद उनी मंगलवार राति संसदीय टोलीसहित राजधानी ताइपेइ पुगेकी हुन्। आज बिहानै उनले संसदमा पुगेर सम्बोधन गरिन्। त्यसक्रममा न्यान्सीले ताइवान विश्वकै स्वतन्त्र समाज मध्ये एक रहेको बताइन्।
सम्बोधनका क्रममा न्यान्सीले ताइवान र अमेरिकाबिच संसदीय आदानप्रदानमा जोड दिइन्। साथै, ताइवानसँग विज्ञान प्रविधिको विकासमा साझेदारी बढाउन अमेरिकाले लगानी बढाउने बताइन्।
न्यान्सी ताइवान पुगेकोमा चीनले कडा विरोध जनाएको छ। चीनले ताइवानको वरिपरि ६ ठाउँमा ‘लाइभ फायर ड्रिल’ सँगै सैन्य प्रदर्शन गर्ने घोषणा गरेको छ।
चीनको विदेश मन्त्रालयले पेलोसीको चीन भ्रमणको विरोध गर्दै भनेको छ : चीनले यसलाई स्वीकार गर्दैन। चिनियाँ जनताले यसलाई अस्वीकार गर्छ। विदेश मन्त्रालयले आगोलसँग खेले नष्ट हुनुपर्ने भन्दै अमेरिकालाई चेतावनी पनि दिएको छ।
यसबिच विदेश मन्त्रालयले चीनका लागि अमेरिकी राजदूत निकोलस बर्न्सलाई बोलाएर पेलोसीको भ्रमणबारे विरोध जनाएको छ। चिनियाँ उपविदेशमन्त्रीले पेलेसीको भ्रमणलाई ‘खराब नियत’ भन्दै त्यसको परिणाम गम्भीर हुने चेतावनीइ दिएका छन्।
चिनियाँ कम्युनिष्ट पार्टीको ताइवान हेर्ने मामिला हेर्ने कार्यालयले पेलोसी ताइवान पुगे पनि चीनको पुनर्मिलन प्रक्रिया रोक्न नसक्ने बताएको छ। ‘पुनर्मिलन हुनुपर्छ र हासिल गरिनेछ,’ कार्यालयले भनेको छ।
पेलोसीले ताइवानका राष्ट्रपतिलाई भेट्ने कार्यक्रम छ। पेलोसीले भने आफ्नो ताइवान भ्रमण त्यहाँको प्रजातन्त्र रक्षाको लागि अमेरिकाको समर्थनको सम्मानको लागि भएको बताएकी छिन्।
यता, चीन भने हाइ अलर्टमा छ। चीनले जुनसुकै बेला सैन्य गतिविधिलाई अगाडि बढाउने सक्ने भन्दै अमेरिकी युद्धपोतहरु पनि ताइवान नजिकै तैनाथ गरिएको बताइन्छ। चिनियाँ रक्षा मन्त्रालयले भने अखण्डता र सार्वभौमसत्ता जोगाउन आफूहरु पछि हट्ने जनाएको छ।