अमेरिकी डेन्टिस्ट र बिग गेम हन्टर लरेन्स रुडल्फले आफ्नी श्रीमती बियान्स रुडल्फ को हत्या गरेको ठहर अदालतले गरेको छ। सन् २०१६ मा अफ्रिकी देश जामबियामा सफारी गएको बेला लरेन्सले गोली हानेर श्रीमतीको हत्या गरेका थिए। लरेन्सले सो घटनाका बारेमा अन्जानमा गोली चलेको स्पष्टीकरण दिँदै आएका थिए।
‘मैले मेरो श्रीमतीलाई मारेको होइन। म मेरो श्रीमतीलाई मार्न सक्दिन,’ गत हप्ता भएको सुनुवाइका क्रममा उनले भनेका थिए।
बियान्सको हत्यापछि लरेन्सले धेरै इन्सुरेन्स दाबी गरेको पनि फेला परेको छ। ६ वर्षअघि बियान्सको मृत्युपछि उनले ४.८ मिलियन डलर भन्दा बढीको भुक्तानी समेत लिएको फेला परेको छ।
सन् २०१६ मा उनीहरु काफु नेश्नल पार्क गएका थिए। त्यहाँ चितुवाको सिकार गर्न उनीहरुले राइफल र सटगन लगेका थिए। लरेन्सले गोली चलेको बेला आफू बाथरुममा रहेको र बियान्सले घर फर्कनका लागि सटगन राख्दै गर्दा अन्जानमा गोली चलेको र उनैलाई लागेको बयान दिएका थिए। उनले आफ्नी श्रीमतीले आत्महत्या गरेको हुन सक्ने समेत बताएका थिए। तर, गोली चल्नु र त्यसपछि बियान्सको हतारहतारमा अन्तिम संस्कार गरिनुले शंका उत्पन्न भएको थियो। लरेन्सले जामबियामा नै श्रीमतीको अन्तिम संस्कार पूरा गरेका थिए। तर, घटनालाई लिएर धेरै प्रश्न उठेपछि बियान्सको साथीले छानबिनको माग गरेका थिए। शंका लागेपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो। र, गत वर्ष लरेन्सलाई प्रहरीले पक्राउ गरेको थियो।
अभियोजनकर्ताहरुले भने लरेन्सले आफ्नी ३० वर्षीय श्रीमतीलाई इन्स्युरेन्सको रकम लिनका लागि मारेको भन्दै अदालतमा बहस गरेका थिए।
जुरीले लरेन्सको गर्लफ्रेन्ड मिल्लिरनलाई पनि दोषी गरेको छ। उनलाई हत्याको बारेमा थाहा भएको र न्याय सम्पादनमा बाधा पुर्याएकोमा दोषी ठहर गरिएको हो। मिल्लिरन र लरेन्स सन् २०१७ देखि साथमा नै बस्दै आएका थिए। बियान्सको मृत्यु भएको ३ महिनापछि मिल्लिरन लरेन्ससँग बस्न पुगेकी थिइन्। बियान्सको साथीले मिल्लिरन र लरेन्स धेरै समयदेखि सम्बन्धमा रहेको प्रहरीलाई बयानमा भनेका थिए। मिल्लिरनका वकिलले भने आफ्नो ‘क्लाइन्ट’ निर्दोष रहेको भन्दै फेरि निवेदन दिने बताएको छ।