काठमाडौं : हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नियमति मौसम बुटेलिनमार्फत महाशाखाले अहिले वाग्मती प्रदेश, गण्डकी प्रदेशका, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ।
आज दिउँसो पनि देशभर सामान्य देखि पूर्ण बदली रहने र देशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।
यस्तै, आज राति देशको पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको पूर्वानुमान छ। राति देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ। नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु महाशाखाले आग्रह गरेको छ।