PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

साउन २९ देखि संघीय सरकारविरुद्व आन्दोलन गर्ने मधेश सरकारको तयारी



पहिलोपोस्ट

साउन २९ देखि संघीय सरकारविरुद्व आन्दोलन गर्ने मधेश सरकारको तयारी

जनकपुरधाम : मधेश सरकारले आगामी साउन २९ गतेदेखि संघीय सरकारविरुद्ध आन्दोलन गर्ने तयारी थालेको छ।

बुधवार मधेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले पत्रकार सम्मेलनको आयोजना गर्दै साउन २२ गते नेपाल सरकारका प्रतिनिधि प्रदेश प्रमुखमार्फत सातदिने अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाउने र माग सम्बोधन नभए आठौँ दिनदेखि सडक आन्दोलन थाल्ने बताएका हुन्।

२२ गते मधेश प्रदेशको मन्त्रिपरिषद्का सम्पूर्ण सदस्य, सम्पूर्ण सांसदसहित सामूहिक रुपमा प्रदेश प्रहरी समायोजनका लागि ज्ञापन पत्र दिएर नेपाल सरकारलाई सात दिनको समयसीमा दिइने उनले बताए। उनका अनुसार संघीय गृह मन्त्रालयले प्रहरी समायोजनको सम्पूर्ण काम पूरा गरिसकेको र नेपाल सरकारले निर्देशन दिए सात दिन भित्र समायोजन गर्न सकिने बताइसकेको अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावअघि समायोजन सम्भव नभएको आशयको प्रतिक्रिया दिएको बताए।

मन्त्री साह आफूहरुको आन्दोलनमा अन्य छ प्रदेशको समेत साथ रहेको बताउँदै जनकपुरधाममा भएको सबै प्रदेशका गृहमन्त्रीको सामूहिक घोषणा पत्रले पनि स्पष्ट गरिरहेको दावी गरेका छन्।

मन्त्री साहले भने, ‘स्थानीय सरकारको नगर प्रहरी हुने, संघीय सरकारले प्रहरीको कमान्ड गर्ने अनि हामी हातमा दही जमाएर बस्ने?’

मन्त्री साह प्रदेश प्रहरी समायोजन र प्रमुख जिल्ला अधिकारी प्रदेश मातहत ल्याएर मात्र चुनावमा जानु पर्ने अन्यथा आफूहरुको आन्दोलन प्रदेश र संघीय क्षेत्रसम्म पुग्ने भएकाले चुनाव समेत प्रभावित हुने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell