
काठमाडौं : बुधवार बिहानबाट कोशी नदीको भँगालो उदरयपुरको बेलका नगरपालिकाका विभिन्न बस्तीमा पसेसँगै यहाँ सतर्कता अपनाइएको छ। बेलका नगरपालिकाका मेयर आशोक कार्कीका अनुसार अहिले वडा १, २, ३, ८ र ९ का बासिन्दा सुरक्षित स्थानमा सर्दैछन्।
बाढीले सप्तरीका तीनवटा नगरपालिकासमेत प्रभावित भएको कार्कीले बताए। 'बेलका विपदको ठुलो संकेत हो। कोशीको मुलधार नै पसेको छ। वडा नम्बर ९ वडा ८ वडा ३, २ र १ हुँदै सप्तरी जिल्लाका तीनवटा पालिकालाई प्रभावित गर्दैछ कोशीले,' कार्कीले पहिलोपोस्टसँग भने।
प्रभावित क्षेत्रमा २६०० घर परिवार रहेको अनुमान गरिएको छ। त्यसमध्ये हालसम्म ७०० परिवार सुरक्षित स्थानमा सारिसकिएको कार्कीले जानकारी दिए।
'यो क्षेत्रमा झन्डै २६०० घर परिवार छन्। ३/४ सय परिवार हिजै बस्ती सरिसक्नुभएको छ। आज रातिबाट झन्डै सात सय घरपरिवार सारिरहेका छौ। पानी धेरै बढेकोले अहिले डुंगा प्रयोग गर्नुपर्ने अवस्था छ। मान्छे धेरै भएकोले समस्या देखिएका छन्,' उनले भने।
प्रभावितलाई सुरक्षित स्थानमा सार्नका लागि तयारी भने भइरहेको कार्कीले बताए। 'तर हामी सुरक्षित स्थानमा सार्ने कुरामा लागि परेका छौं। प्रमुख जिल्ला अधिकारीको टिममा जिल्ला विपद्को टिम घटनास्थलमा आइपुगिसक्नुभएको छ,' उनले भने।
बाढी पसेको स्थानमा अहिले वर्षा नभएकोले उद्धारमा सजिलो भएको उनको भनाई रह्यो। 'अहिले वर्षा नभएकोले उद्धारमा सजिलो भएको छ। बहाव थोरै घटेको छ। तीन दिन यता वर्षा भएको छैन तर बाढी ठुलो आइरहेको छ। चीनको दक्षिण भेगबाट आएको पानी हो। उद्धारका लागि त सम्पूर्ण तयारी छ,' कार्कीले भने।
बाढीग्रस्त क्षेत्रमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की, भौतिक पूर्वाधार मन्त्री हिमाल कार्की र सुनसरीका प्रजिअ ईन्द्रदेव यादवसमेत पुगेका छन्।
उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री बालकृष्ण खाँणले बेलका नगरपालिका १, २ , ८ र ९ मा सप्तकोसीले कटान सुरु गरेपछि नेपाली सेनालाई बाढी प्रभावितहरूको उद्धार र राहतका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्न निर्देशन दिएका छन्।
नेपाली सेनाका रथी बालकृष्ण कार्कीसँग कुराकानी गर्दै गृहमन्त्री खाणले सप्तकोसीको कटान तत्काल रोकिने अवस्था नदेखिएकोले कटान प्रभावितको उद्धार, राहत र स्थानान्तरणका लागि हेलिकोप्टर आवश्यक पर्ने भन्दै तयारी अवस्थामा राख्न निर्देशन दिएका हुन्।
सेनाले कटान पीडितलाई आवश्यक परेमा तत्काल उपलब्ध हुने गरी हेलिकोप्टर तयारी अवस्थामा राखिएको बताएको छ। सप्तकोसीको कटानका कारण दुई हजार चार सय घर परिवार विस्थापित हुने भएकाले उनीहरूलाई अन्यत्रै स्थानान्तरण गर्ने तयारी भइरहेको छ।