PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

मुम्बई उड्न लागेको जहाजमा सुन चोरीको आरोप लागेका व्यक्ति : पक्राउपछि उड्यो जहाज



सविन ढकाल

मुम्बई उड्न लागेको जहाजमा सुन चोरीको आरोप लागेका व्यक्ति : पक्राउपछि उड्यो जहाज
फाइल फोटो

काठमाडौं : बुधवार काठमाडौंबाट दिउँसो १:१५ मा नेपाल इयरलाइन्सको जहाज उड्दै थियो। तर, उक्त जहाज एकाएक रोकियो। शंकास्पद व्यक्ति रहेको सूचना आएपछि जहाज प्रहरीले नियन्त्रणमा लियो र एक जना पक्राउ परे।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट सूचना आएपछि विषेश ब्युरोसहितको टोली त्रिभुवन विमानस्थल पुगेको थियो। रोकिएको जहाजबाट सन्तोष लामिछाने नाम गरेका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लियो।

लामिछानेलाई सुन चोरीको आरोप लागेको प्रहरीले जनाएको छ।  सुन चोरीपछि भारत तर्फ लागेको सूचनाको आधारमा पक्राउ गरेको प्रहरी स्रोतले जनायो। लामिछानेका साथमा उनकी श्रीमती पनि भारत जान लागेको खुलेको छ। उनी सुनचाँदी व्यवसायी समेत भएको खुलेको छ।

जहाजमा जाँच चलेपछि उडान तीन घण्टा ‘डिले’ भएको थियो। मुम्बई उडानका लागि तयार जहाजमा लामिछाने चढेको जानकारी प्रहरीबाट आएपछि उडान ‘डिले’ भएको निगमकी प्रवक्ता अर्चना खड्काले बताइन्।

‘प्रहरीको सूचना आएलगत्तै जहाज उडानमा रोक लगाइएको थियो। लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जहाज पुस ब्याक भइसकेको छ,’ प्रवक्ता खड्काले भनिन्।

उनका अनुसार बुधवार निगमको न्यारोबडी जहाजमा आज एक सय २७ जना यात्रु मुम्बई जाने तालिका रहेको थियो। यी मध्ये लामिछानेलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो। शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएपछि जहाज मुम्बईतर्फ उडेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell