
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को नेतृत्वले पछिल्ला वर्षहरुमा लगाएको रटान हो नेपाल टी - २० लिग। लिगसँग सम्बन्धित सम्झौतालाई लिएर विवाद, मुद्दा, आलोचना सबै ब्यहोरेको क्यानले असोज ८ गतेबाट कात्तिक ५ गतेसम्म प्रतियोगिता सुरु गराउने तयारी अघि बढाएको छ। यसका लागि फेन्चाइजीहरु पनि घोषणा गरिसकेको छ।
अर्कोतर्फ नेपाली खेलकुदको महाकुम्भ राष्ट्रिय खेलकुद पनि यसैबीचमा पर्ने भएको छ। नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ को बीचमा हुनेछ। दुई मुख्य प्रतियोगिताको मिति जुधेपछि खेल क्षेत्रमा अन्योलता छाएको छ।
राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंककुमार घिसिङले राष्ट्रिय खेलकुद निर्धारित मितिमा हुने भन्दै प्रतियोगिता सर्नु नहुने र नसर्ने बताएका छन्। उनले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गरेको 'स्पोर्ट्स डाइलग' मा प्रतियोगिताको समय जुधेकोबारे आफू जानकार रहेको उल्लेख गर्दै खेल अघिपछि गरेर मिलाउने बताए।
'प्राविधिक समिति हुँदै मसम्म पनि यो कुरा आइपुगेको छ। यस्तो सन्दर्भमा केही खेललाई २८ गते भनिए पनि केही अगाडि नै सञ्चालन हुन्छ। केही खेल प्रतियोगितापछि पनि हुन सक्छ, ' सदस्य सचिव घिसिङले भने, 'कुनै संघले पहिल्यै सेड्युल गरेका छन् भने समझदारी हुन सक्छ। तर, अब अहिले आएर गरेर चाहीँ भएन।'
खेलाडीले दुबै प्रतियोगितामा सहभागिता जनाउने वातावरण बनाउने प्रतिबद्धता गर्दै घिसिङले भने, 'राष्ट्रिय खेलकुद र लिग दुबैमा सहभागी हुन पाउने व्यवस्था गरिन्छ। यसमा दोधार हुनपर्ने आवश्यकता छैन।'