PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

त्रिभुवन विमानस्थलबाट सुन चोरीमा समातिएका सुन व्यवसायी:  प्रहरी भन्छ,' भारतबाट चोरी भएका सुनचाँदी किनबेच गर्थे'



सविन ढकाल

त्रिभुवन विमानस्थलबाट सुन चोरीमा समातिएका सुन व्यवसायी:  प्रहरी भन्छ,' भारतबाट चोरी भएका सुनचाँदी किनबेच गर्थे'
फाइल फोटो

काठमाडौं : भारत उड्न लागेको विमान रोकेर समातिएका व्यक्ति माथि सुन चोरीको आरोप लागेको खुलेको छ।

बुधवार काठमाडौंबाट दिउँसो १:१५ मा नेपाल इयरलाइन्सको जहाज उड्दै थियो। तर, उक्त जहाज एकाएक रोकियो। शङ्कास्पद व्यक्ति रहेको सूचना आएपछि जहाज प्रहरीले नियन्त्रणमा लियो र एक जना पक्राउ परे। पक्राउ पर्ने धनगढीका सन्तोष लामिछाने भएको खुलेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट सूचना आएपछि विशेष ब्युरोसहितको टोली त्रिभुवन विमानस्थल पुगेको थियो। रोकिएको जहाजबाट सन्तोषलाई नियन्त्रणमा लिएको हो। उनीसँगै भारत जान लागेकी उनकी श्रीमतीलाई समेत प्रहरीले विमानबाट ओरालेको थियो।

लामिछानेलाई सुन चोरीको आरोप लागेको प्रहरीले जनाएको छ। उनी सुनचाँदी व्यवसायी समेत भएको खुलेको छ। धनगढीमा उनको सुनचाँदीको व्यवसाय छ। उनी भारतबाट चोरी गरेर नेपाल ल्याएको सुनचाँदीहरू किन्ने गरेको प्रहरीको दावी छ।

'भारतबाट चोरी गरेर ल्याएको सुन किन्ने र बेच्ने गरेको खुलेको छ। त्यही आधारमा नियन्त्रणमा लिएको हो,' जिल्ला प्रहरी कैलालीका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौंरले भने।

जहाजमा जाँच चलेपछि उडान तीन घण्टा ‘डिले’ भएको थियो। मुम्बई उडानका लागि तयार जहाजमा लामिछाने चढेको जानकारी प्रहरीबाट आएपछि उडान ‘डिले’ भएको निगमकी प्रवक्ता अर्चना खड्काले बताइन्।

‘प्रहरीको सूचना आए लगत्तै जहाज उडानमा रोक लगाइएको थियो। लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जहाज पुस ब्याक भइसकेको छ,’ प्रवक्ता खड्काले भनिन्।

उनका अनुसार बुधवार निगमको न्यारोबडी जहाजमा आज एक सय २७ जना यात्रु मुम्बई जाने तालिका रहेको थियो। यी मध्ये लामिछानेलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो। शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएपछि जहाज मुम्बईतर्फ उडेको थियो। तर प्रहरीले उनले कति मात्रामा कहिले सुन किने? किन भारत जान लाग्दै थिए? लगायतका विषयहरु भने खुलाइसकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell