PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

बाढी प्रभावित क्षेत्रका केही स्थानीयले घर छाड्न मानेनन्ः प्राधिकरणको चेतावनी, ‘मानवीय क्षति हुन सक्छ’



पहिलोपोस्ट

बाढी प्रभावित क्षेत्रका केही स्थानीयले घर छाड्न मानेनन्ः प्राधिकरणको चेतावनी, ‘मानवीय क्षति हुन सक्छ’

काठमाडौंः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उदयपुरमा सप्तकोशी बाढी प्रभावित क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा जान पुनः अपिल गरेको छ। केही स्थानीयले घर छानड्न नमान्दा मानवीय क्षति हुने सम्भावना बढेको भन्दै प्राधिकरणले यस्तो अपिल गरेको हो। हालसम्म मानवीय क्षति नभएको प्राधिकरणले जनाएको छ। 

प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बाढी प्रभावित क्षेत्रका केही स्थानीयले घर छाड्न नमानेकाले मानवीय क्षति हुनसक्ने भएकाले जिल्ला तथा स्थानीय प्रशासन सबै नागरिकलाई सुरक्षित स्थलतर्फ जान अनुरोध पनि गरेको छ।’ 

सप्तकोशी नदीको भंगालो तटबन्ध फुटाउँदै उदयपुर जिल्लाको बेलका नगरपालिकाको दक्षिण पश्चिम क्षेत्रमा पसेपछि पाँच वटा वडा प्रभावित भएका छन्। ती वडाका १५ सय घर परिवार बाढीबाट प्रभावित भएका हुन्। प्रभावितमध्ये एक हजार परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्राधिकरणले जनाएको छ। 

सप्तरीको सप्तकोशी र कञ्चनरुपा गाउँपालिकाका केही वडा प्रभावित हुन सक्ने भएकाले सतर्क रहन पनि प्राधिकरणले अपिल गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell