PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

सिंगापुरको 'क्यासिफिक'ले इलन मस्कको स्पेसएक्स प्रयोग गरेर नेपालमा यसरी दिँदैछ स्याटलाइट इन्टरनेट सेवा



उन्नत सापकोटा

सिंगापुरको 'क्यासिफिक'ले इलन मस्कको स्पेसएक्स प्रयोग गरेर नेपालमा यसरी दिँदैछ स्याटलाइट इन्टरनेट सेवा

काठमाडौं : अमेरिकी कम्पनी स्पेस एक्सको स्याटलाइट प्रयोग गरेर सिंगापुरको कम्पनी क्यासिफिकले नेपालमा स्याटलाइटबाट इन्टरनेट सेवा दिने भएको छ।

स्पेसएक्स विश्वका सबैभन्दा धनाढ्य उद्यमी इलन मस्कको कम्पनी हो। अन्तरिक्षसँग सम्बन्धित विभिन्न क्षेत्रमा काम गरिरहेको स्पेस एक्सले स्याटलाइट इन्टरनेट पनि संचालन गरिरहेको छ। सिंगापुरको ब्रोडब्यान्ड स्याटलाइट्स इन्टरनेसनल लिमिटेड (क्यासिफिक) ले पनि स्पेस एक्सकै स्याटलाइट प्रयोग गरेर नेपालमा इन्टरनेट सेवा व्यवसायिक रुपमा संचालनमा ल्याउने भएको हो।

क्यासिफिकले स्याटलाइटबाट विभिन्न देशहरुमा इन्टरनेट सेवा दिँदै आएको छ। नेपालमा मर्कन्टाइलले पनि स्याटलाइटमा आधारित इन्टरनेट सेवा दिइरहेको भए पनि यसले खासै प्रभावकारी ढंगले यसमा व्यवसायिक रुपमा काम गर्न सकेको छैन।

क्यासिफिकले केए-ब्यान्ड हाइ थ्रुपुट स्याटलाइट (क्यासिफिक १) प्रविधिबाट एसिया तथा प्रशान्‍त क्षेत्रमा इन्टरनेट सेवा दिइरहेको छ। क्यासिफिकले विश्वका अन्य २५ मुलुकहरुमा स्थानीय दूरसंचार अपरेटर, इन्टरनेट सेवा प्रदायक र सरकारहरुसँगको सहकार्यमा स्याटलाइटमा आधारित इन्टरनेट सेवा दिँदै आएको छ।

नेपालमा भने क्यासिफिकले ग्रामीण इन्टरनेट सेवा प्रदायक (रुरल आइएसपी) को लाइसेन्स पाएको एभरेष्ट लिंकसँगको सहकार्यमा सेवा संचालनमा ल्याउन लागेको हो। यसका लागि एक वर्षअघि (सन् २०२१ मा) नै नेपाल दूरसञ्चार प्राधिकरणबाट केए ब्यान्ड स्पेक्ट्रम प्रयोग गर्न अनुमति पाएको थियो।

'एक वर्षअघि नै हामीले काम गर्न दूरसञ्चार प्राधिकरणबाट लाइसेन्स पाएका थियौं। हाम्रो स्थानीय साझेदार एभरेष्ट लिंक हो। क्यासिफिकले सिधै नेपालमा काम गर्न र मार्केटिङ गर्न मिल्दैन। त्यही भएर स्थानीय आइएसपीमार्फत काम गर्न खोजेका हौं,' क्यासिफिकका लागि नेपाल, भुटान, बंगलादेश र म्यानमारका क्षेत्रीय निर्देशक धनबहादुर गुरुङले भने, 'एक वर्षअघि नै लाइसेन्स पाएको भए पनि उपकरणहरु नेपाल ल्याउन समय लागेकाले सेवा बल्ल दिन सक्ने अवस्थामा पुगेका छौं।'

क्यासिफिकले व्यवसायिक रुपमा स्याटलाइटमा आधारित इन्टरनेट सुरु गर्नुअघि भायनेट, डिसहोमलगायतका आइएसपीहरुलाई ट्रायल बाँडेको गुरुङले जानकारी दिए। परीक्षणको नतिजा राम्रै आएपछि व्यवसायिक सुरुवात गर्ने चरणमा पुगेको बताइएको छ।

कसरी चल्छ स्याटलाइट इन्टरनेट?

नेपाल जस्तो भौगोलिक विकटता भएको क्षेत्रमा सबै स्थानमा फाइबर वा केबल इन्टरनेट पुर्‍याउन सम्भव नहुन सक्छ। मुख्यगरी डाँडाकाँडा जहाँ फाइबर वा केबल पुग्न सक्दैनन् त्यहाँ स्याटलाइटमा आधारिक इन्टरनेट बाँड्ने गरी सेवा विस्तार गर्न लागिएको गुरुङले जानकारी दिए।

इलन मस्कको कम्पनी स्पेसक्राफ्ट इन्जिनियरिङ कम्पनी स्पेसएक्समार्फत् क्यासिफिकले आफ्नो स्याटलाइट उडाएको थियो। एशियाली विकास बैंक (एडीबी) ले क्यासिफिकलाई शिक्षा, स्वास्थ्य, सूचनामा पहुँच, व्यापार र देशहरुबीच कनेक्टिभिटी विस्तार गर्न स्याटलाइटबाट  इन्टरनेट पुर्‍याउन पाँच करोड अमेरिकी डलर लगानी गरेको थियो। 

अमेरिकाको फ्लोरिडा केप क्यानाभेरलबाट स्पेसएक्सको फाल्कन ९ रकेटले क्याफिसिकलाई उडाएको थियो। क्यासिफिकको सेवा अवधि १५ वर्ष रहने बताइएको छ। यो स्याटलाइटले एसिया र प्यासेफिक क्षेत्रमा कुनै पनि व्यवसायिक स्याटलाइटले पाएकोभन्दा अहिलेसम्मकै शक्तिशाली सिग्नल पाउने दाबी गरिएको छ।

जसका कारण नेपालको ग्रामीण क्षेत्र जहाँ अहिलेसम्म इन्टरनेट पुगेको छैन त्यस क्षेत्र लाभान्वित हुने जिकिर क्याफिसिफको छ।

खर्चिलो स्याटलाइन इन्टरनेट

कम्पनीले व्यवसायिक रुपमा संचालनमा ल्याउन स्याटलाइट इन्टरनेट चलाउन भने खर्चिलो हुनेछ। यसको जडानमा नै ८५ हजार रुपैयाँभ‍न्दा बढी पर्ने देखिएको छ। 

कम्पनीले प्रोमोसनल अफर भन्दै तोकेको शुल्कअनुसार उपकरण जडान खर्च ६७८ अमेरिकी डलर (हालको विनिमय दरअनुसार ८५ हजार २३८ रुपैयाँ) पर्ने जनाएको छ। यो भने एकपटक तिरे पुग्छ। प्रमोसन अफर नदिँदा जडान खर्च नै करिब १२०० डलर पर्ने गुरुङले बताए।

क्यासिफिकले विभिन्न सातवटा अनलिमिटेड प्लान ल्याउने जनाएको छ। सबैभन्दा बढी स्पिडको फ्लागशिप प्लान ४० एमबीपीएसको छ। ३० एमबीपीएस डाउनलोड स्पिड र १० एमबीपीएस अपलोड स्पिड। जसको मूल्य कम्पनीले प्रतिमहिना करिब ३२ हजार रुपैयाँ तोकेको छ।

यो भेरि स्मल अपर्च्योर टर्मिनल्स (भिस्याट) मा आधारित हुने कम्पनीले जनाएको छ। यो भनेको सानो र जडान गर्न सहज हुने कम्पनीको दाबी छ। पछिल्लो एमडीएम २०१०, जुन दुईतर्फी उच्च क्षमताको थ्रुपुट मोडेममा आधारित रहेको कम्पनीले जनाएको छ। 

क्यासिफिक १ स्याटलाइटले नेपालको सबै भूभाग ओगटिसकेको बताइएको छ। कम्पनीले अहिलेसम्म ५५ वटा भिस्याट टर्मिनल्सहरु नेपाल ल्याइसकेको गुरुङले जानकारी दिए। जसमध्ये पाँचवटा ठूलो अर्थात् १.८ मिटरको छ। बाँकी ५० वटा भने १.२ मिटरको रहेको उनले बताए। जसको मूल्य पनि फरक पर्ने बताइएको छ। कम्पनीले यी उपकरणहरु नेपाल ल्याउन ६५ लाख रुपैयाँ हाराहारी खर्चिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell