PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

यसपटक दर्शकले रुचाएनन् तीज गीत, माहोल नबन्दा दोष ‘आर्थिक संकट’लाई



लक्ष्मी बलायर

यसपटक दर्शकले रुचाएनन् तीज गीत, माहोल नबन्दा दोष ‘आर्थिक संकट’लाई

काठमाडौं : तीज आउन धेरै समय बाँकी छैन। तर, साउन महिना आधा बित्दा पनि तीजका नयाँ गीतको रन्को छुटेको सुनिँदैन।

पहिला वैशाखदेखि नै धमाधम तीजका गीत छायाङ्कन हुन्थे। असार सकिनै लाग्दा तीजका नयाँ गीत सार्वजनिक गर्ने होडबाजी नै चल्थ्यो। तर, यसवर्षको माहोल पहिलेजस्तो नरहेको स्विकार्छन् गायक खुमन अधिकारी।

तीजमा निकै ‘डिमान्ड’ हुने गायक हुन् खुमन। एउटा तीजमा दुई/तीन दर्जन गीतमा स्वर भरेको अनुभव छ उनीसँग। तर यसवर्ष भने अहिलेसम्म एक दर्जन तीज गीतमात्रै गाएको सुनाए खुमनले।

‘तीजको चहलपहल यसवर्ष कम होकी जस्तो लागिरहेको छ। गीतहरू सार्वजनिक भए पनि खासै चर्चा छैन। सुरूको केही गीत चले पनि पछिका गीतहरुले दर्शकलाई तान्न सकेन। युट्युबमा पनि तीज गीतमा भ्युज छैन,’ उनले भने।

दुई वर्षसम्म कोरोना भाइरस महामारीका कारण तीजको माहोल जम्न सकेको थिएन। अहिले संक्रमणको पहिला जस्तो अवस्था नरहे पनि तीज पुरानै माहोलमा फर्कन सकेको छैन। मानिसहरू आफ्नै काममा व्यस्त हुँदा तीजका गीतमा दर्शकको चासो नभएको खुमन बताउँछन्।

भन्छन्, ‘कोरोनामा दर्शकहरू फुर्सदमा हुनुहुन्थ्यो। जसकारण गीतहरू हेर्नुहुन्थ्यो। तर दुई वर्षपछि पुरानै काम गर्ने माहोल बनेको छ। काममा ध्यान दिँदा गीतलाई चासो नदिएको होकी जस्तो लाग्छ।’

अरू वर्ष तीज लाग्दा भ्याईनभ्याई हुन्थ्यो गायिका देवी घर्ती मगरलाई। यसवर्षको तीजमा एकदर्जन गीत गाइसकेको उनी अरू वर्षजस्तो तीजको रौनक नरहेको बताउँछिन्। ‍‘यसपटकको तीजमा पहिलेजस्तो चहलपहल छैन। गीत सार्वजनिक भएपनि खासै चलेका छैनन्।’

प्रकाश भट्ट अहिलेका चलेका भिडियो निर्देशक हुन्। उनकै निर्देशन रहेको तीज गीत ‘झमझम झम्काना’ निकै चर्चामा छ। भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको यो गीत टिकटकमा समेत चलेको छ। तर अघिल्ला वर्षभन्दा यस वर्ष तीज गीत निर्माणमा कमी आएको बताउँछन् प्रकाश पनि।

कोरोना महामारीबिच रहरले साथीहरू मिलेर गीत ल्याउने धेरै थिए। अहिले भने व्यवसायिक कलाकारहरूले मात्रै तीज गीत ल्याइरहेको बताउँछन् भट्ट। अरू वर्ष ६०/७० तीजका गीतहरू निर्देशन गरेता पनि यसवर्ष १८/२० वटा मात्रै गरेको सुनाउँछन् उनी।

देशमा आर्थिक संकटको हल्लाले गर्दा पनि यसपटक तीजको गीतमा लगानी गर्नेहरू घटेको सुनाउँछन् निर्देशक भट्ट। ‘यसवर्ष तीज आएजस्तो फिल भएको छैन। अरू वर्ष रहरले पनि तीजका गीतहरू ल्याउनेको संख्या बढी थियो। तर यसपटक तीजका गीतमा लगानी घटेको छ। एक त देश आर्थिक संकटको भुमरीमा छ। सबै सेयरमा डुबेका छन्। त्यसकै प्रभाव पनि होला।’

चर्चित गायिका शान्तिश्री परियारले पनि २०/२१ तीजका गीतमा स्वर भरिसकेकी छिन्। व्यक्तिगत लगानीमा पनि एउटा तीज गीत ल्याउने तयारीमा छिन् उनी। तर उनलाई अघिल्ला वर्षझै तीजको रौनकमा कमी आएको महसुस भएको छ। ‘पहिलेजस्तो तीजगीतको रौनक नछाएको महसुस गरेकी छु। तीज गीतहरू भने आइरहेका छन्। तर किन दर्शकले मन नपराएको त्यो उहाँहरूलाई नै थाहा होला। हुन त तीज आउन अझै एक महिना बाँकी छ। अझै पनि माहोल बन्नेमा आशावादी छु।’

शंकर बिसी म्युजिक भिडियोमा मोडलिङसँगै कोरियोग्राफी र निर्देशनमा जमेका नाम हुन्। तर यसवर्ष तीजमा अरूवर्षजस्तो चहलपहल नरहेको उनको पनि ठहर छ। ‍ यसपटक २५ वटा तीज गीतमा नृत्यका साथै कोरियोग्राफी र निर्देशन गरिसकेको छन् उनले। जुन पहिलेको तुलनामा निकै कम हो।

‘अहिले तीजको गीतमा कमी आएको छ। कोरोनाको असर अहिले देखिरहेको छ। पहिले ८०/८५ तीजका गीतमा काम गरिन्थ्यो। तर अहिले निकै कम छ। देश आर्थिक संकटमा हुँदा पैसाको अभाव छ,’ बिसीले भने।

राधिका हमाल पनि यसवर्ष तीजको माहोल सुस्ताएको बताउँछिन्। अरू वर्ष ५३/५४ तीज गीतमा स्वर भरेको याद छ उनलाई। कार्यव्यस्तताले यसवर्ष तीनवटा मात्रै तीजगीत गाएकी छिन् राधिकाले। कोरोनाका प्रभावका कारण तीज गीतमा कमी आएको उनको बुझाई छ।

यसवर्ष तीजको गीतहरू दर्शकको रोजाईमा नपर्नु निकै चिन्ताको विषय रहेको बताउँछन् गायक, संगीतकार र रचनाकार शिव हमाल। यसवर्ष तीजका ७ सय गीतहरू आएता पनि दुई/तीन गीत मात्रै दर्शकको रोजाईमा परेको उनी स्विकार्छन्।

‘दिदीबहिनीसम्बन्धी मैले पनि एक दर्जन गीत लेखे र संगीत भरे। तर खासै सफल भएनन्। यसपटक २/३ गीत बाहेक सबैको हालत खराब छ। दर्शकको मनमा बस्न सक्ने गीत बनाउन सकेनौँ कि भन्ने लागेको छ। जुन चिन्ताको विषय पनि हो,’ उनले भने।

तीजका गीत मात्रै नभई कोरोना महामारीपछि अन्य गीतहरूको संख्यामा पनि कमी आएको उनको भनाई छ।

‘कोरोनापछि तीजका गीतमात्रै नभई सम्रग गीतसंगीतको हालत कमजोर भएको छ। समग्रमा नै कोरोनापछि गीत रेकर्डिङको संख्यामा कमी आएको छ। चर्चित गायकगायिकाकै तीज गीतहरू आए पनि खासै चल्न सकेका छैनन्। न त युट्युबमा भ्युज नै राम्रो छ। हुन त अझै समय छ। अहिले नै मुल्याङ्कन गर्न मिल्दैन्,’ हमाल नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठानको उपमहासचिव एवम् प्रतिष्ठान अन्तर्गत गठित ‘विकृति, विसङ्गति न्यूनीकरण विभाग समिति’का संयोजक समेत रहेका हमालले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell