
काठमाडौं : नेपाली काङ्ग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आफू प्रत्यक्षबाट निर्वाचन लड्ने बताएका छन्। बिहीवार बिहान आफू निकट नुवाकोटका पत्रकारहरुसँग आफ्नै निवास धापासीहाइटमा भेटघाटका क्रममा प्रवक्ता महतले उक्त भनाइ राखेका हुन्।
काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचन लड्ने चर्चा चलिरहँदा महतले गृह जिल्लाबाटै निर्वाचन लड्ने मनासयसमेत राखे।
निर्वाचन आउँदैछ, तपाईको क्षेत्र काठमाडौंको ५ नम्बर कि नुवाकोटको १ त? पत्रकारले प्रश्न राखे।
‘सल्लाह पनि चलिरहेको छ। साथीहरुको सद्भाव रह्यो भने जाने हो,’ जवाफमा महतले भने।
भेटका क्रममा महतलाई समानुपातिकमा बस्नुहुन्छ कि भनी प्रश्नसमेत गरेका थिए। महतले भने यसपटक आफू प्रत्यक्ष निर्वाचन लड्ने प्रष्ट पारे।
‘मेरो पहिलो प्राथमिकता प्रत्यक्षमै चुनाव लड्ने हो र जितेर संसद्मा जाने गरी नै तयारी गरेको छु,’ महतले भने।
पूर्व अर्थमन्त्री रामशरण महत स्वास्थ्यका कारण प्रत्यक्ष निर्वाचनमा नजाने बताइएसँगै प्रवक्ता महत नुवाकोट क्षेत्र १ मा दाबेदारका रुपमा देखिएका हुन्। रामशरण प्रकाशशरणका दाइ हुन्।
महतसँगै अर्जुननरसिंह केसी परिवारको राज रहेको नुवाकोटमा टिकट पाउन सकस हुनेगर्छ। यसपटक भने साउन १५ मा गोगंबुस्थित निवासमा नुवाकोट काङ्ग्रेसका पूर्व सभापतिसमेत रहेका जगदीशनरसिंह केसीले खिर खाने कार्यक्रम राखेर महतलाई 'ग्रिन सिग्नल' दिएको बताइन्छ। महत उक्त कार्यक्रममा गोगंबु पुगेका थिए।
महतलाई क्षेत्र १ को टिकट पाए क्षेत्र नम्बर २ आफ्नो परिवारको लागि सुरक्षित रहने केसी परिवारको विश्वास रहेको बताइन्छ। केसी परिवारले आयोजना गर्ने हरेक कार्यक्रममा जाने गरेको उल्लेख गर्दै महतले अनावश्यक द्वन्द्व गर्ने पक्षमा आफू नरहेको बताए।
‘मैले सधैँ बोलाउँथे। मेरो तर्फबाट नराम्रो गर्छु भन्ने कहिले पनि छैन। पहिले पनि थिएन,’ उनले भने।
अरुले टिकट पाएपनि असहयोग गर्ने पक्षमा आफू नरहेको महतको भनाइ रह्यो। पछिल्लो स्थानीय निर्वाचनमा केही तालमेल नमिलेको उनले स्वीकारे। नुवाकोटमा थप विकासका लागि पनि आफ्नो आवश्यकता रहेको महतको भनाइ थियो।
‘साथीहरूले मैले काम गर्न सक्छन् भनेर विश्वास गरेका छन्’, महतले भने, ‘नुवाकोटमा थप विकास गर्ने चाहना छ।’
पाँच दलीय गठबन्धन भएमा भने महत काठमाडौं ५ बाट भिड्नुपर्ने देखिन्छ। नुवाकोट क्षेत्र १ बाट माओवादीका हितबहादुर तामाङले चुनाव भिड्ने तयारी गरिरहेका छन्। महतले संघ र प्रदेशको निर्वाचनमा पाँच दलीय गठबन्धन गर्ने गरी अघि बढिरहेको बताए।