
नयाँदिल्ली : पूर्व उपप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र भारतका सडक परिवहन मन्त्री नितिन गडकरीबीच भेटघाट भएको छ। बुधवार राति भएको भेटमा नेपालको भौतिक पूर्वाधार निर्माणका बिषयमा छलफल भएको निधिको सचिवालयले जनायो।
सडक परिवहन मन्त्री गडकरीको निवासमा भएको आधा घण्टा लामो छलफलमा कांग्रेस नेता निधिले भारत सरकारले निर्माण कार्य अघि बढाएको अयोध्या–भिठ्ठाभोड चार लेन सडक भारतको मधुवनी जिल्लाको गिरिजास्थान (फुलहर) हुँदै नेपालको जटही सीमासम्म थपेर निर्माण गर्न आग्रह गरेका छन्।
निधिको आग्रहपछि मन्त्री गडकरीले तत्कालै मन्त्रालय र सडक विभागका अधिकारीहरुलाई टेलिफोन गरेर जटही सीमासम्म थप सडक निर्माणलाई मन्त्रालयको कार्यक्रममा राख्न निर्देशन दिएका थिए। जटही–जनकपुर–ढल्केवर ६ लेनको सडक निधि भौतिक पूर्वाधार मन्त्री भएकै बेला सम्पन्न भएको थियो।
यसैगरी, कलकत्ता बन्दरगाहदेखि दरभंगा हुँदै नेपालको जटही सीमासम्म वैकल्पिक अन्तर्राष्ट्रिय व्यापारिक मार्ग निर्माण गर्न पनि निधिले मन्त्री गडकरीसँग आग्रह गरेका छन्।
यसैबीच, मन्त्री गडकरीकै निवासमा नेता निधि र भारतका जलशक्ति मन्त्री गजेन्द्र सिंह सेखावतबीच भेटघाट भएको छ। भेटमा दुबै देशको सडक, जलस्रोत, उर्जा विकास तथा बाढी नियन्त्रण लगायतका बिषयमा छलफल भएको छ।
मन्त्री गडगरी र सेखावतसँगको भेटमा निधिसहित भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा पनि सहभागी थिए। त्यस अवसरमा राजदूत शर्माले लाइन अफ क्रेडिट र नेपालको भौतिक पूर्वाधार निर्माणमा प्राविधिक सहयोग उपलब्ध गराउने विषय अगाडि सारेका थिए। हिजै निधिले भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटेका थिए।