PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

संसदीय समितिमा परराष्ट्रमन्त्री र प्रधान सेनापतिको खोजी : मन्त्रीलाई बाढीले रोक्यो कि, सेनापति आइपिएसको कार्यक्रममा किन सहभागी?



प्रकाश भण्डारी

संसदीय समितिमा परराष्ट्रमन्त्री र प्रधान सेनापतिको खोजी : मन्त्रीलाई बाढीले रोक्यो कि, सेनापति आइपिएसको कार्यक्रममा किन सहभागी?

काठमाडौं : राज्यको निर्देशक सिद्दान्त नीति र दायित्वको कार्यन्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा सांसदहरुले परराष्ट्रमन्त्री डा नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्माको खोजी गरेका छन्। सिंहदरबारमा बिहीवार बसेको समितिको बैठकमा सांसदहरुले अमेरिकी कार्यक्रम एसपीपीमाथि प्रश्न गर्दै परराष्ट्रमन्त्री र प्रधानसेनापति खोजेका हुन्।

सांसद अनिलकुमार झाले मन्त्री बाढीका कारण आउन नसकेका हुन् कि भनी प्रश्न गरे। 'पररास्ट्रमन्त्री बाढीले आउन नसक्नु भएको हो कि अरु कारणले?' झाले प्रश्न गरे।

अर्का सांसद लक्ष्मी परियारले समितिको बैठकमा मन्त्री अनुपस्थित हुन राम्रो नभएको बताइन्।  'पररास्ट्रमन्त्री र अरु सम्बन्धित व्यक्ति नआइरहेको अवस्था छ। यसले अप्ठेरो भइरहेको छ,' परियारले भनिन्, 'संसदलाई जवाफ दिइ सके भनेर मन्त्रीलाई भन्ने होला। त्यो समितिमा आएर भन्न अप्ठेरो नहोला। समितिका बैठकलाई स्किप गरेर जाने राम्रो होइन।'

सांसद खेमप्रसाद लोहनीले एसपीपी अस्विकार गर्‍यो भन्ने तर जानकारी नगराउनु ढाँटछल भएको बताए। 'एसपीपीमा सहभागी हुन्न भन्ने अनि सेनाको लसपस एसपीपी प्रोग्राममा जाने? गएको हो भने त्यो बेठिक हो? के पत्र पठाउनु भएको छ सरकारले जानकारी नगराउनु ढाँटछल हो,' लोहनीले प्रश्न गरे।

सांसद अनिता देवकोटा भने परराष्ट्रमन्त्रीको बचाउमा उत्रिइन्। उनले मन्त्री खड्का कोशीको बाढी निरीक्षणका लागि उदयपुर पुगेको उल्लेख गर्दै मुखामुख नगर्नसमेत आग्रह गरिन्। 'एक अर्काका लागि दोहोरी नखेलौं। कोशीको बाढी निरीक्षणका लागि जानु भएकोले मन्त्री नआउनु भएको हो। मुखामुख नगरौं,' देवकोटाले भनिन्।

एमाले सांसद भीम रावलले सरकारप्रति अविश्वास झनै बढेको तर्क गरे। समितिले मागेको कागज नदिएर सरकारले विश्वासको खाडल बढाएको उनको भनाई थियो।

'समितिहरु संसदकै अधिकार सम्पन्न अंग हुन्। समितिले मागेको कागजात दिनु पर्दैन? मैले संसदमा सरकारले दिएको जवाफ सुने। त्यसमा पत्र माग्नु सरकारप्रति अविश्वास भन्नु भयो। धेरै अविश्वास छ हाम्रो। पत्र दिँदा आपत्ति भनेर भन्नु गैर जिम्मावार छ,' रावलले भने, 'संसदलाई विश्वास आफै नगर्ने? संसदलाई खै विश्वास? सरकार संसदप्रति उत्तरदायी हो संसद सरकारप्रति होइन। सम्बन्धित समितिमा नआउने, पत्र नपठाउने आपत्ति जनक हो।'

विदेशीले पठाएको पत्र लुकाउनुपर्ने कुनै कारणै नरहेको उनको भनाई थियो। 'विदेशीले पत्र हेर्न हुने अमेरिकी दूतावासले हेर्न हुने हामी नेपाली जनताका प्रतिनिधिले हेर्न नहुने? पहिला आफ्नो देशको जनताको विश्वास गर्नुपर्छ। विदेशीलाई पठाएको पत्र लुकाउनपर्ने कानुनसँग मेल खादैन,' रावलले भने।

समिति सभापति निरादेवी जैरुले प्रधानसेनापति र परराष्ट्रमन्त्री समितिको बैठकमा तत्काल उपस्थित हुन निर्देशन दिइन्। 'समितिको अधिकारक्षेत्र कमजोर भएको हो कि भन्ने महसुस भएको छ। परराष्ट्रमन्त्री मात्रै होइन सेनाको पनि प्रतिनिधित्व भएन। मन्त्रीको पार्टीका माननीयाले मन्त्रीलाई उपस्थित गराउन कुरा गर्नु होला,' जैरुले भनिन्, 'सरकारले एसपीपी फिर्ता लिन पत्र लेखेको हो भने सेनापति किन आइपिएसको कार्यक्रममा जानुभयो त? परराष्ट्रमन्त्री र सेनापतिलाई तत्काल उपस्थित हुन निर्देशन दिन्छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell