चिनियाँ जनमुक्ति सेना (पीएलए) को पूर्वी थिएटर कमाण्डले बिहीवार ताइवान जलडमरूको पूर्वी भागमा तोकिएको क्षेत्रहरूलाई लक्षित गरी लामो दूरीको लाइभ फायर ड्रिलहरू सञ्चालन गरेको छ।
चाइना डेलीले पीएलएको वक्तव्यलाई उद्धृत गर्दै लाइभ फायर ड्रिलको समाचार प्रकाशित गरेको छ। चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले यसलाई पुष्टि गरेको छ। पूर्वी थिएटर कमान्डले ताइवानको पूर्वी तटीइ क्षेत्रमा कन्भेन्सलन मिसाइल प्रहार गरेको हो।
ताइवानको समाचार संस्था लिबर्टी टाइम्सले दङफङ (डीएफ-१६) ब्लास्टिक मिसाइल प्रहार भएको पुष्टि गरेको छ। पीएलएले यसअघि पूर्व निर्धारित ६ स्थानबाट हवाइ तथा जल सेनाको ड्रिल गरेको छ। स्थानीय समयअनुसार बिहीवार १ बजेबाट मिसाइल प्रहार भएको बताइएको छ।
त्यस्तै ताइवानको रक्षा मन्त्रालयले पनि प्रतिकार्यका लागि संयन्त्रहरुलाई सक्रिय पारिएको जनाएको छ। साथै उसले चीनको यो कदमको निन्दा गर्दै यसले यस क्षेत्रको शान्तिमा खलल पुर्याउने बताएको समाचारमा उल्लेख छ।
WATCH: PLA Eastern Theater Command Rocket Force launched conventional missiles to designated waters in the east of the island of Taiwan on Thu pic.twitter.com/WpFURLeN8X
— Global Times (@globaltimesnews) August 4, 2022
पीएलएले ६ वटा क्षेत्र तोकी ७२ घण्टा लामो सैन्य अभ्यास गर्ने जनाएको थियो। यसैबीच ताइवान प्रशासनले त्यहाँका माछा मार्ने जहाजहरुलाई चीनले निर्धारण गरेका अभ्यास क्षेत्रमा प्रवेश नगर्न सुचना दिएको लिबर्टी टाइम्सको अर्को समाचारमा उल्लेख छ।
यसैबीच गत राति ताइवानका केही क्षेत्रमा चिनियाँ ड्रोन उडेको समाचार छ। यता चीनको सम्भावित खतरालाई लिएर अमेरिकी सेनाको युएसएस रोनाल्ड रेगनसहितका वारसिप दक्षिण चीन सागरमा परिचालित भएका छन्।
पीएलएले गरेको संयुक्त अभ्यासका कतिपय क्षेत्रहरु ताइवानबाट १२ माइल दुरीसम्म रहेको बीबीसीले जनाएको छ। पछिल्लो समय अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमण सकेर फर्किएको अर्को दिनबाट ताइवान टापुलाई चारैतिरबाट घेर्ने गरी पीएलएले सैन्य अभ्यास गरेको हो। यस्तै ड्रिल सन् १९९६ मा पनि पीएलएले गरेको थियो।
पीएलएले त्यतिबेला चार स्थानमा ड्रिल गरेको थियो। त्यतिबेला सीमित मात्रामा गरिएको ड्रिललाई अहिले पीएलएले बढाएको छ। ताइवानका मुख्य ९ एयरबेस तथा विमानस्थल र ८ नेभल बेस र पोर्टलाई लक्षित गरी ड्रिलका लागि स्थान तोकिएको ग्लोबल टाइम्सले जनाएको छ।
यो अभ्यासका क्रममा पीएलएका जे-२० स्टेल्थ फाइटर जेट, एच-६के बम्बर, जे-११ फाइटर जेट, टाइपी ०५२ डी डिस्ट्रोयर, टाइप ०५६ ए कोर्भेट्टे, डीएफ-११ सर्ट रेन्ज ब्यालेस्टिक मिसाइल सहभागी गराइने उल्लेख छ। त्यस्तै यो अभ्यासमा अर्ली वार्निङ एयरक्राफ्ट र डीएफ-१७ हाइपरसोनिक मिसाइल पनि सहभागी हुने बताइएको छ।