एसियाली देशको भ्रमणमा रहेकी अमेरिकी सभामुख न्यान्सी पेलोसी दक्षिण कोरियामा छन्। बुधवार राति स्थानीय समय अनुसार ९:२६ बजे ओसान एयर बेसमा उनी सवार अमेरिकी सेनाको एसपीएआर १९ कलसाइनको विमान अवतरण गरेको थियो।
त्यहाँ अवतरण गरेकी पेलोसीको स्वागतमा दक्षिण कोरियाका कुनै पनि उच्च अधिकारी नपुगेको भन्दै यसप्रति चर्चा सुरु भएको छ। दक्षिण कोरियास्थित अमेरिकी दूतावासले सार्वजनिक गरेको फोटोमा दूतावासका कर्मचारीहरु र भ्रमण दलका सदस्यहरु मात्र देखिन्छ। दक्षिण कोरियाली अधिकारीहरु नदेखखिएको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन्।
सभामुख पेलोसीको स्वागतका लागि पुगेका अमेरिकी दूतावासका कर्मचारीहरु। फोटो: ट्वीटर/अमेरिकी दूतावास
त्यहाँका स्थानीय मिडियाहरुले पेलोसी सवार विमानको तश्विर टाढाबाट मात्र खिच्न पाएका थिए। त्यहाँको विदेश मन्त्रालयले पनि कुनै सरकारी अधिकारीहरु स्वागतका लागि नगएको स्पष्ट पारेको छ- 'यदी कुनै संसदी शाखाका व्यक्तिहरु भ्रमणमा आउँछन् भने कार्यकारी शाखाबाट उपस्थित हुन आवश्यक छैन।'
त्यहाँका पत्रकारहरु उनी बस्ने होटलमा उनको तश्विर खिच्न पुगेका थिए। तर, पेलोसीसहितको टोली होटलको पछिल्लो गेटबाट भित्र पसेको थियो। होटलको अघिल्लो गेटमा युद्ध पीडित महिला पनि सभामुखलाई ज्ञापनपत्र बुझाउन पुगेकी थिइन्। तर, उनले पनि भेट पाइनन्।
अमेरिकी सभामुख पेलोसीलाई ज्ञापनपत्र बुझाउन होटलमा कुरिरहेकी एक द्वन्द्वपीडित महिला। फोटो: योनहाप
यता सिंगापुर, मलेसिया र 'ताइवान' भ्रमण गरेर कोरिया पुगेकी पेलोसीसँग त्यहाँका राष्ट्रपति युन सुक योलसँग भेट पाइनन्। हरेक देशमा पुग्दा त्यहाँका राष्ट्रप्रमुखसँग भेट गरेकी उनलाई दक्षिण कोरियाका सरकारका प्रतिनिधिहरुले भेट गरेनन्।
यस विषयमा पनि पेलोसीको ताइवान भ्रमणको विषयलाई लिएर चर्चा गर्न थालिएको छ। राष्ट्रपति युनले पेलोसीसँग टेलिफोन वार्ता मात्र गरेको त्यहाँका राष्ट्रिय सुरक्षा सल्लाहकार उपप्रमुख किम ताइ हायोलाई उदृत गर्दै योन्हापले जनाएको छ।
पेलोसीले त्यहाँको राष्ट्रियसभाका सभामुख किम जिन-प्योसँग भेट गरेकी थिइन्। दुई दिने भ्रमणको क्रममा रहेकी उनले दक्षिण कोरिया र उत्तर कोरियालाई छुट्याउने 'डिमिलिटराइज जोन (असैनिकीकृत क्षेत्र)' पानमुनजोम पुगेकी छन्।
पेलोसीले दक्षिण कोरिया प्रवेश गर्दै गर्दा राष्ट्रपति युन भने बिदामा थिए। पेलोसी ताइवान भ्रमणमा पुगेर दक्षिण कोरिया गएकी हुन्। पेलोसीको ताइवान भ्रमणलाई लिएर अमेरिका-चीन तनाब बढ्दा चीनले ताइवानलाई घेर्दै सैन्य अभ्यास जारी राखेको छ।
पेलोसी सन् २००२ पछि दक्षिण कोरिया पुग्ने पहिलो सभामुख हुन्। सत्तारुढ र विपक्षी दलका केही सांसदहरुले राष्ट्रपति युनले पेलोसीसँग भेट गर्नुपर्ने बताएका थिए। अर्को तिर त्यहाँका स्थानीय सञ्चार माध्यमहरुले राष्ट्रपति युनले पेलोसीसँग भेट नगर्नुको कारण ताइवान मामिलामा चीन-अमेरिकाको बढ्दो तनाब भएको बताएका छन्।
यस विषयमा राष्ट्रपति कार्यालयका जनसम्पर्क हेर्ने उच्च अधिकारी चोइ योङ-बुमले प्रत्यक्ष भेटवार्ताको विषयमा प्रतिक्रिया दिन अस्वीकार गरे पनि राष्ट्रिय हितलाई ध्यानमा राखेर सबै निर्णय भएको बताएकी छन्।
सभामुख पेलोसीलाई त्यहाँका राष्ट्रपतिले मात्र होइन् विदेश मन्त्रीले पनि भेट गरेनन्। विदेश मन्त्री पार्क जि कम्बोडियाको भ्रमणमा छन्। राष्ट्रपति अगस्ट १ देखि ५ सम्म गर्मी बिदामा छन्।
यसअघि नै पेलोसीको एसियाको भ्रमणका क्रममा राष्ट्रपतिसँग भेटबारे चासो राखेकी थिइन्। दुई साता अगाडि यस विषयमा अमेरिकाबाट चासो व्यक्त गरिएको थियो।
त्यहाँको राष्ट्रपति कार्यालयका एक अधिकारीले त्यतिबेला राष्ट्रपतिको गर्मी बिदाको तालिका तयारी पूरा भइसकेको थियो। त्यतिबेला नै अमेरिकी अधिकारीलाई भेट हुन नसक्ने जानकारी गराएको राष्ट्रपति कार्यालयका अधिकारीलाई उदृत गर्दै योन्हापले जनाएको छ।
राष्ट्रपति युन यसअघि आफ्नो प्रान्तमा २-३ दिन सम्म बस्ने योजनामा थिए। राष्ट्रपतिले आफ्नो पहिलो दिनको बिदा सोलमै बिताएका थिए। त्यसपछि राष्ट्रपति युन र पेलोसीबिच भेट हुन सक्ने आँकलन गरिएको थियो। तर, उनी अर्को दिन नै सोल छाडे।
राष्ट्रपति युनले टेलिफोन गरी सदासयता देखाए- 'प्रत्यक्ष भेट नभएपनि टेलिफोनबाटै न्यानो स्वागत गर्छु।' तर, राष्ट्रपतिले प्रत्यक्ष भेट नगरेको प्रति उनको आलोचना भइरहेको छ।