PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

प्रहरीकै उपस्थितिमा चिनियाँ नागरिकको अपहरण : होटलमा पुऱ्याएर १ करोड माग



पहिलोपोस्ट

प्रहरीकै उपस्थितिमा चिनियाँ नागरिकको अपहरण : होटलमा पुऱ्याएर १ करोड माग

काठमाडौं : चिनियाँ नागरिक सहित दुई जनालाई अपहरण गरी एक करोड रुपैयाँ फिरौती रकम माग गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले घटनामा संलग्न रहेका उनीहरुलाई बुधवार पक्राउ गरी बिहीवार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरुमा गोरखाको आरुघाट गाउँपालिका-७ घर भई हाल काठमाडौंको रानीबारी बस्ने ३७ वर्षीय कर्ण बहादुर गुरुङ, गोरखाकै सिरानचोक गाउँपालिका-५ घर भई हाल धापासी बस्ने २८ वर्षीय लक्ष्मण गुरुङ र सर्लाहीको लालबन्दी नगरपालिका-११ घर भई हाल मित्रनगरस्थित सिन्धुली गेस्टहाउसमा बस्ने २९ वर्षीय रोहित मगर रहेका छन्।

त्यस्तै, प्यूठानको प्यूठान नगरपालिका-८ बागदुला घर भई हाल मित्रनगर बस्ने २८ वर्षीय विशाल मगर, नुवाकोटको शिवपुरी गाउँपालिका-६ पालथोक स्थाई घर भई हाल बानियाँटार बस्ने २७ वर्षीय बिनोद केसी र बर्दियाको राजापुर नगरपालिका-१० स्थाई घर भई हाल बालाजु बस्ने २८ वर्षीय शिव सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ। कर्ण गुरुङ र शिव सुनार नेपाल प्रहरीमा कार्यरत थिए।

उनीहरुले बुधवार साँझ ७ बजे काठमाडौंको कपुरधारास्थित सडकखण्डबाट ओखलढुङ्गाको चिसाङ्खुगढी गाउँपालिका-५ चिसापानी घर भई हाल बनस्थली बस्ने २६ वर्षीय सूर्यबहादुर राईलाई अपहरण गरेका थिए। त्यस्तै, लाजिम्पाटस्थित खरेलटोलस्थित रहेको एउटा घरबाट चिनियाँ नागरिक याङ याङलाई पनि अपहरण गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

अपहरणको करिब १ घण्टापछि उक्त चिनियाँ नागरिकलाई सुरक्षित साथ फिर्ता लैजाने भए एक करोड नगद लिएर आउन भनेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष प्रहरी टोलीद्वारा मातहत प्रहरी बृत्तहरू दरवारमार्ग, लैनचौर, महाराजगञ्ज, मालीगाऊँलाई उच्च सतर्क गराई खोज तथा उद्धारको कार्यमा सक्रिय गराएको प्रहरीले बताएको छ।

बुधवार राति ११:४० बजे खोज तलासको लागि संयुक्त रुपमा खटिएको प्रहरी टोलीले अपहरणमा परेका चिनियाँ नागरिक र राईलाई काठमाडौं-२६ नयाँ बसपार्कस्थित मित्रनगरमा रहेको न्यू स्वर्गद्वारी प्यूठान होटल एण्ड लजबाट सकुसल उद्धार गरेको थियो। पक्राउ परेकाहरुबाट प्रहरीले नगद ८ लाख १४ हजार ९०० रुपैयाँ, मोबाइल २६ सेट र हतकडी १ थान बरामद गरेको छ।

घटनाको सम्बन्धमा पक्राउमा परेका व्यक्तिहरु उपर मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद-१७ को अपहरण वा शरीर बन्धकसम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell