
काठमाडौं : संगीतकार योगेन्द्र उपाध्यायका तीन वटा गीति एल्बम एकसाथ सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच उपाध्यायका तीन एल्वम ‘सँगै हिडौँ न’, ‘काटिमा कुटी’ र ‘क्लियरकट’ एकसाथ सार्वजनिक गरिएको हो।
डश म्युजिकले तीनै एल्बमको उत्पादन गर्नुका साथै वितरणको जिम्मा लिएको छ। कार्यक्रममा उपाध्यायले आफूले २०७६ सालमै पहिलो एल्बम रिलिजको तयारी गर्दै गर्दा कोरोना महामारीका कारण रोकिएको बताए।
‘२०७६ सालमै एल्बम निकाल्ने तयारी थियो तर कोरोनाका कारण रोकियो। त्यसपछि सँगै अर्को एल्बम निकाल्ने सोचेको फेरि दोस्रो लहर आयो। जसकारण तीन वटा एल्बम एकैसाथ सार्वजनिक गर्ने दिन जुरेको हो,’ उनले भने।
आफूले सिकेको संगीतका विभिन्न सुरहरुलाई फरक-फरक जनराका तीन एल्बममार्फत प्रस्तुत गरिएको उपाध्यायले बताए। ६ वटा गीत समावेश भएको ‘सँगै हिडौँ न’ आधुनिक तथा गजल गीतहरुको संग्रह हो।
त्यसैगरी, ७ वटा गीतहरु समावेश भएको ‘काटिमा कुटी’ लोक फ्लेवरका गीतहरु समावेश भएको एल्वम हो। र, ‘क्लियरकट’ वेस्टर्न फ्लेवरका गीतहरुको संग्रह हो जसमा ७ वटा गीतहरु समावेश छन्।
कार्यक्रममा गायक तथा संगीतकार दीप श्रेष्ठले एउटै संगीतकारले भर्सटायल रुपमा आफूलाई प्रस्तुत गर्न सक्नु र त्यसमा उत्कृष्टता प्रदान गर्नु उपाध्यायको अब्बल पक्ष रहेको बताए। उपाध्याय नेपाली संगीत क्षेत्रको चम्किलो तारा भएको श्रेष्ठको भनाइ थियो।
गायक शिव परियारले पछिल्लो समय एल्बम बिमोचनको परिपाटी लगभग हराइसकेको भए पनि योगेन्द्रले त्यसलाई पुनर्जीवित बनाएको बताए।
कार्यक्रममा श्रेष्ठ र परियारका साथै गायिका ज्ञानु राणा, संगीतकार राजु सिंह, भुपेन्द्र रायमाझी, टीका भण्डारी, रोयल्टी संकलन समाजका महासचिव बी पाण्डे, संगीतकार संघका अध्यक्ष पारस मुकारुङ, संगीत उत्पादक संघका अध्यक्ष सूर्य मगर, डश म्युजिकका कार्यकारी निर्देशक एवं संगीतकार शंकर थापा ‘स्माइल’ लगायतको उपस्थिति रहेको थियो।
विसं २०६८ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका उपाध्याय २०७१ सालको राष्ट्रब्यापी खुला आधुनिक गीत प्रतियोगितामा संगीततर्फ प्रथम भएका थिए। विभिन्न प्रतियोगितमा प्रथम स्थान हासिल गर्न सफल उनले त्रिभुवन विश्व विद्यालयबाट संगीतमै स्नातकोत्तर गरी ‘ललितकलाचार्य’ उपमा समेत प्राप्त गरिसकेका छन्।