
काठमाडौं: नेपाल टी २० लिगका दुई फ्रेन्चाइजी विराटनगर सुपर किंग्स र जनकपुर रोयल्सले लोगो सार्वजनिक गरेका छन्। आज काठमाडौंमा कार्यक्रम गर्दै यी दुई टोलीले लोगो सार्वजनिक गरेका हुन्। यसअघि अलस्टार क्लबले लोगो सार्वजनिक गरेको थियो।
नेपाल क्रिकेट संघ (क्यान)ले यही महिना पत्रकार सम्मेलन गर्दै नेपाल टी २० लिगका लागि काठमाडौं, लुम्बिनी, जनकपुर र विराटनगरको टिम घोषणा गरेको थियो।
काठमाडौं टोलीमा कान्तिपुर क्यापिटलको स्वामित्व रहने छ। यसको मालिक कान्तिपुर मिडिया ग्रुप रहेको छ। त्यस्तै लुम्बिनी / भैरहवाको स्वामित्व अमेरिकाको अल स्टार्स स्पोर्ट्सको रहनेछ। नेपालका पूर्व क्रिकेटरहरुले पनि यस क्लबबाट खेलिसकेका छन् भने नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिकामा छँदा अभ्यास खेल खेलेको थियो। त्यस्तै टिम जनकपुरको स्वामित्व भारतको राजस्थानको कम्पनी गोल्ड स्पोर्ट्स प्राइभेट लिमिटेडले लिएको छ। टिम विराटनगरको स्वामित्व भारतकै डाइमण्ड डिजीक्याप स्पोर्ट्स प्राइभेट लिमिटेडले लिएको छ।
नेपाल क्रिकेट लिगलाई आईसीसीले मान्यता दिइसकेको छ। लिग २४ सेप्टेम्बरबाट सुरु गर्ने तयारी छ।