PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

'चोरीमा संलग्न' व्यक्ति समात्न हौवा सूचनाः प्रश्न उडान सुरक्षाको कि प्रहरी विश्वसनीयताको?



सविन ढकाल

'चोरीमा संलग्न' व्यक्ति समात्न हौवा सूचनाः प्रश्न उडान सुरक्षाको कि प्रहरी विश्वसनीयताको?
फाइल फोटो

काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजलाई बुधबार दिउँसो करिब १ बजेतिर एयर ट्राफिक कन्ट्रोलरले रोक्न संकेत गरे। उड्ने तरखरमा रहेको विमानलाई तत्काल रोक्न संकेत गर्नु सामान्य विषय थिएन। किनकि उड्ने पोजिसनमा रहेको विमान रोक्ने संकेत कमै घटना हुन्छन्।

विमान रोक्न संकेत गर्नुको कारण आपराधिक गतिविधिमा संलग्न भएका मानिस भएको भन्ने थियो। नेपाल प्रहरीको विशेष ब्यूरो हुँदै विमानस्थल प्रहरीलाई आएको पत्र अनुसार विमान रोक्न प्रत्राचार भएको थियो।

सोही अनुसार आरए २०१ नम्बरको विमान रोकियो।

मुम्बई जान लागेका धनगढीका सन्तोष लामिछानेलाई विमानबाट प्रहरीले पक्राउ गर्‍यो। उनीसँगै मुम्बई जान विमानमा बसेकी उनकी श्रीमती समेत ओर्लिन्। जहाजमा जाँच चलेपछि उडान तीन घण्टा ‘डिले’ भयो। त्यसपछि विमान मुम्बई उड्यो। यतिबेरसम्म विमानमा 'आतंकवादी' भएको भन्दै चौतर्फी हौवा फैलिइसकेको थियो।

विमान रनवेमा पुगेको अवस्थामा प्रहरीले अपरेसन गर्ने घटना कमै छन्। ठूला आतङ्कवादी घटना वा कुनै अप्रिय घटना हुन लाग्दा यात्रु र अन्य जोखिमलाई हेरेर उड्ने अन्तिम क्षणमा पनि प्रहरीले अपरेसन गर्न विमानस्थललाई सूचना दिन सक्छ। त्यस्तै प्रकृतिको घटना भएको आशङ्का थियो। तर विमानबाट ओरालिएका व्यक्तिको 'आतंकवाद'सँग कुनै संलग्नता भएको देखिएन। केही समयमा नै प्रहरीले उनी सुन चोरीको आरोपी भएको जानकारी दियो।

विमानबाट ओरालिएका लामिछाने चोरीमा संलग्न भएको पुष्टि करिब दुई घण्टापछि नै प्रहरी प्रवक्ता डिआइजी टेकबहादुर राईले गरे। उनी सुन व्यवसायी समेत भएको खुल्यो।

चोरीको सुन गालेर विक्री वितरण गर्ने गरेको अभियोग लागेको प्रहरीले दाबी गरेको छ। चोरीको आरोप लागेका उनलाई पक्राउ गर्न उड्न लागेको विमान नै रोक्नुपर्ने अवस्था किन आयो? कि आतंकवादी भनेर आएको सूचनामा प्रहरी फेल भएर सुन चोर निस्किएको हो? अहिले यो प्रश्नको जवाफ छैन।

प्रहरीको यस्तो अपरेसन गलत भएको पूर्वडिआइजी हेमन्त मल्ल ठकुरी बताउँछन्।

'सूचना आएपछि केस डिल गर्ने प्रहरीले हो। तर मलाई घटनाको बारेमा थाहा थिएन भन्ने पाइँदैन। जे घटना हो त्यसलाई नै लिएर अगाडि बढ्नुपर्छ। आफ्नो स्वार्थको लागि हो -हल्ला गर्नु हुँदैन। यसले प्रहरीको विश्वसनीयतामा प्रश्न उठाउँछ,' ठकुरीले भने।

लामिछानेलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो। अहिले प्रहरीको एक्सनमा प्रहरीबीचनै आलोचना भइरहेको छ। सामान्य व्यक्तिलाई पक्राउ गर्न प्रहरीका केही व्यक्तिले गलत कदम चालेको उच्च अधिकृत नै बताउँछन्।

'यो एक दुई जना प्रहरीको स्वार्थको लागि भएको हो। घटनालाई यति ठूलो बनाउनु पर्ने कुनै आवश्यकता नै थिएन,' एक उच्च प्रहरी अधिकृतले भने।

पक्राउ परेका लामिछाने सुनको व्यापार गर्छन्। त्यसो त चोरी भएको सुन तथा चाँदी किनेर गालेर बेच्ने समेत गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। लामिछानेले भारतबाट चोरेर ल्याएको सुन किनेर बिक्री गरेका थिए। जुन घटनामा दैलेखका केही युवा समेत पक्राउ परे। भारतबाट केही समय अगाडि करिब एक किलो सुन चोरी गरेर ल्याएर लामिछानेलाई बिक्री गरेको प्रहरी स्रोतले जानकारी दिएको थियो। जिल्ला प्रहरी कार्यालय धनगढीका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरले लामिछानेले भारतबाट चोरिएको सुनचाँदी किन्ने गरेको बताए।

लामिछाने सुन चोरीका आरोपी भएको र मुम्बई भाग्न लागेको जानकारी भएर होहल्ला गरेर पक्राउ गर्न उड्न लागेको विमान रोकेर प्रहरीले अपरेसन गरेको भए त्यो गलत भएको पुर्वडिआइजी मल्ल बताउँछन्। त्यसको लागि अरू उपाय पनि प्रहरीले अपनाउन सक्ने उनको भनाई छ।

'मुम्बईमा फलानो व्यक्तिलाई डिपोर्ट गर्दे भनेको भए यत्रो हल्ला नै हुँदैन थियो। यस्ता गतिविधिले प्रहरीको अनुसन्धानमा विश्वसनीयता गुमाउँदै जान्छ,' ठकुरीले भने।

मुम्बई उडानका लागि तयार जहाजमा लामिछाने चढेको जानकारी प्रहरीबाट आएपछि उडान ‘डिले’ भएको थियो।

बुधबार निगमको न्यारोबडी जहाजमा १२७ यात्रु मुम्बई जाने तालिका रहेको थियो। तर उडान ढिलो भयो। ४ घण्टाभन्दा बढी डिले भएर यात्रुलाई समस्या परेको भए यसको व्ययभार एयरलाइन्सले बेहोर्नुपर्ने थियो।

'आर्थिक भार नै त भएन। तर यस्ता घटनाले देशलाई नकारात्मक सन्देश गएर पर्यटकलाई समेत असर पुग्छ। प्रहरीले ढिलो जानकारी दिएको हो। बुधबार भएको घटनाको आन्तरिक समीक्षा हुन्छ,' नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले भनिन्।

हवाई उडानमा सुरक्षित र सुरक्षाको विषयमा कुनै पनि सम्झौता गर्न नमिल्ने विज्ञहरू बताउँछन्। नागरिक उड्डयन प्राधिकरण पूर्वमहानिर्देशक सञ्जीव गौतम उडानमा कुनै सुरक्षा थ्रेट हुन्छ भने उडान रोक्न मिल्ने बताउँछन्।

'कुनै असुरक्षा छ भन्ने आधिकारिक जानकारी आयो भने उडान रोक्न मिल्छ। यात्रु र अरूको सुरक्षा सबैभन्दा महत्त्वपूर्ण हुन्छ,' गौतमले भने।

जनधनको क्षति, विस्फोट र आतंकवाद जस्ता घटनामा संलग्नलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीको तत्कालको एक्सन आवश्यक पनि हुन्छ। तर सामान्य प्रकृतिका अपराधमा रहेका घटनालाई अनुसन्धान गर्न भड्किलो प्रक्रिया प्रयोग गर्दा धेरै क्षेत्रमा असर पनि पर्न जान्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell