
बलिउड अभिनेता रणवीर सिंहलाई पिपल फर दी इथिकल ट्रिटमेन्ट अफ एनिमल्स (पेटा)ले ‘न्यूड फोटोसुट’का लागि प्रस्ताव गरेको छ। नग्न तस्विरका लागि चर्चा र विवादमा रहेका रणवीरलाई पेटाले फेरि त्यस्तै प्रकारको फोटोसुटका लागि बोलाएको एएनआइले उल्लेख गरेको छ।
सो संस्था रणवीरमार्फत ‘शाकाहारी’ जीवनलाई प्रवर्द्धन गर्न चाहन्छ, जसको ट्यागलाइन ‘अल एनिमल्स ह्याभ दी सेम पार्टी, ट्राइ भेगन’ (सबै जनावरको शरीरको अंग एउटै हो, शाकाहारी बन्नुस्) हो।
रणवीर हालैमात्र ‘रकी ओर रानी की प्रेम कहानी’ फिल्मका लागि शाकाहारी बनेका थिए।
पेटा इन्डियाका सेलिब्रेटी र पब्लिक रिलेसन्स उपाध्यक्ष सचिन बनगेराले रणवीर फोटोसुटका लागि राम्रो उम्मेदवार भएको बताएका छन्।
‘मानिसमा जस्तै अरु जनावारमा पनि मासु, रगत र हड्डी हुन्छ। उनीहरूसँग भावनाहरू हुन्छन् र अद्वितीय व्यक्तित्वहरू छन्, पीडा महसुस गर्छन्, र आफ्नो परिवारसँग बस्न चाहन्छन् - तिनीहरू मर्न चाहँदैनन्,’ उनले भने, ‘स्वस्थ शाकाहारी खाना खानु राम्रो हो। रणवीर सिंह जनावर, तिनीहरूको आफ्नै स्वास्थ्य र ग्रहको लागि अरूलाई पनि शाकाहारी भोजन गर्न प्रोत्साहित गर्नका लागि उत्तम उम्मेद्वार हुन्।’
सिंहको यसअघिको न्यूड फोटोसुटका कारण भारतमा हंगामा मच्चेको थियो। रणवीरविरुद्ध मुम्बई प्रहरीमा उजुरी दर्ता गरिएको थियो।