काठमाडौं : आशिफ करिमले सन् १९९६, १९९९ र २००३ को विश्वकप क्रिकेट खेले। दोस्रो सहभागितामा उनले टिमको नेतृत्व पनि गरे। ३४ वटा एकदिवसीय खेलेका उनले करियरमा कहिल्यै सोचेका थिएनन् कि उनको टिमको ‘दुर्दशा’ होला भनेर। उनी केन्याली क्रिकेटर हुन्।
क्रिकेटमा खस्कनुको दोषी को ?
विश्व क्रिकेटमा केन्या कुनैबेलाको शक्ति राष्ट्र थियो। पटकपटकको विश्वकप यात्रा र त्यसमा पनि सेमिफाइनल पुगेको इतिहास। तर, बिचमा केन्याको क्रिकेट यसरी खस्कियो कि ऊसँग अहिले एकदिवसीय मान्यतासमेत छैन। जसको कारण केन्याली नै भएको करिम बताउँछन्।
'केन्याका मानिसहरुले खेल्न मन पराउँछन्। आफ्नै शैलीमा मानिसहरुले माया गर्छन्, ' केन्याको क्रिकेट गौरवको साक्षी उनी भन्छन्, 'हाम्रो विरुद्धमा कोही थिएन। हामी नै हाम्रो शत्रु थियौं। हामीले नै हामीलाई तल पार्यौं। तीतो सत्य यही हो।'
सन् १९८० मा केन्या लागि खेल्न थाल्दा उनको उमेर १७ वर्षको थियो। त्यसपछिको २३ वर्षसम्म उनले देशका लागि क्रिकेट खेले। उनले टिमको सफलताका दिन देखे र अहिलेको अवस्था देखिरहेका छन्। अहिले केन्याले डिभिजन ३ मा खेलिरहेको छ। डिभिजन ४ मा पुग्न पनि टोलीलाई जोखिम पनि छ।
करिम खासगरी सन् १९९६ को विश्वकपमा वेस्ट इण्डिजलाई हराएको स्मरण गर्छन्। त्यतिबेला भारतको क्रिकेट बोर्डले केन्यालाई धेरै सहयोग गरेको थियो। त्यसपछि खेलाडीहरुको चर्चा चुलिएको थियो, म्यागजिन, टेलिभिजन, जताततै।
'टोलीलाई अनुभवी खेलाडी चाहिएको थियो। हामी क्रिकेट उदीयमान राष्ट्र थियौं र सिक्ने प्रकृयामा थियौं। त्यतिबेला भारत र वेस्ट इन्डिजले पनि सन् १९७१ र त्यसपछि १९८३ को विश्वकपसम्म प्रतिस्पर्धात्मक बन्न समय लगाएका थिए,' उनी सम्झन्छन्।
सन् २००३ मा दक्षिण अफ्रिकामा भएको विश्वकपबाट उनले संन्यास लिएका थिए। हाल उनलाई क्रिकेटमा केन्याको पतन प्रति पछुतो छ।
असिफ करिम (बिचमा) तस्विर : विलियम वेस्ट
'हामीले संरचनाबारे कुनै योजना बनाउन सकेनौं। अर्को पुस्ताका खेलाडी कहाँबाट आउँछन्? सडकबाट त होइन,' उनी भन्छन्, 'क्रिकेटको वरपर नहुनु पर्ने मानिसहरूले केन्याली क्रिकेटको महिमालाई पूँजीकरण गर्न थाले। हामीले विश्वकप खेल्दाखेरी नै यो महसुस गरेका थियौं। त्यहाँ काम नगर्ने मानिसहरु आएका थिए। हाम्रो घरेलु क्रिकेट कमजोर भयो। खेलाडी, प्रशासन र पूर्वाधार तीनवटा स्तम्भ भत्किए।'
केन्याको सफलताको पछाडि भारतीय मुलका खेलाडीको योगदान ठूलो थियो। जब घरेलु संरचना नै कमजोर भइदियो, र त्यसमाथिको राजनीतिले केन्याको क्रिकेट अन्धकारको बाटोमा रुमल्लियो।
'केन्यामा खेल चलाउने मानिसहरू अयोग्य छन्। हामीले स्वीकार गर्नुपर्छ कि हामीले अब बिग्रिएको स्थानबाट सुरु गर्नुपर्छ। हामीले खेल चलाउन सक्ने र निश्चित स्तरमा लैजान सक्ने व्यक्तिहरूको समूह पहिचान गर्नुपर्छ,' उनले भने।
+++
गत फेब्रुअरी महिनामा भएको चुनावबाट मनोज पटेल केन्या क्रिकेटको नेतृत्वमा आएका छन्। उनले चुनावमा लोकप्रिय ५१ मत ल्याएर जित्दा उनका दुई प्रतिस्पर्धीले मत ल्याउनै सकेनन्।
पटेल अहिले केन्याको क्रिकेट विकासका लागि योजना बुनिरहेको बताउँछन्। हाल उनी नेपाललाई सिरिजका लागि मनाउन काठमाडौंमा छन्।
'मेरो भ्रमण खासगरी नेपाल र केन्याबिचको क्रिकेट सम्बन्ध बनाउनका लागि हो। भारतमा केही खेलहरुका बारे सम्झौता गरेको छु। हामीले केन्या र नेपालबिच बाइल्याट्रल सिरिजको तयारी गरेका छौं,' उनले भने, 'सिरिजका लागि सकारात्मक कुरा भइरहेको छ। नेपालको खेल तालिका टाइट छ। ब्याक टू ब्याक सिरिज खेलिरहेको छ। राम्रो रेस्पोन्स आएको छ। मितिमा सहमति बाँकी छ।'
नेपालसँगको सिरिजका लागि उनले प्रायोजक समेत खोजिसकेका छन्।
'हामीसँग स्पोन्सरहरु छन्। ५ वटा टी २० र ३ वटा ओआइडी खेलको तयारी हो। तर नेपालमा प्रतियोगिताको कुरा चलिरहेकाले केही घट्न सक्छन्,' उनले भने।
नेपालसँगको सिरिज नतिजा भन्दा पनि सम्बन्धको लागि भएको उनले स्पष्ट पारे।
उनी नेपाल केन्या भन्दा अघि रहेको भए पनि केन्या इतिहास बोकेको टिम भएको बताउँछन्।
'नेपालको क्रिकेट केन्या भन्दा अगाडि छ। तपाईं केन्याबारे सायद जान्नु हुन्छ। केन्याले पाँचवटा विश्वकप खेलिसकेको छ। कुनै समय फरक थियो। सबैलाई थाह छ, केन्याको क्रिकेट कसरी खस्कियो? २००३ सेमिफाइनल सम्म खेलेको थियो। त्यतिबेला खेलेका सबै लेजेन्डहरु अहिले क्रिकेट बोर्डमा छन्,' उनले भने।
त्यतिबेला राजनीतिदेखि व्यवस्थापनसम्मका कारणहरुको चर्चा चलेका थिए केन्या क्रिकेटको पतनको पछाडि। उनी केन्या क्रिकेटको दुरावस्थाको कारण मान्छन् : ब्याकअप टिम बिना नै अनुभवी खेलाडीको संन्यास।
'हाम्रो ६/७ जना लेजेन्ड खेलाडीले एकै पटक संन्यास लिए। त्यो मुख्य कुरा थियो। धोनीले संन्यास लिँदा उनलाई प्रतिस्थापन गर्न कोही तयार थियो। कोहली जानु भन्दा अगाडि उनको प्रतिस्थापन पनि तयार हुनेछन्,' उनले थप स्पष्ट पार्न चाहे, 'यसमा केन्या चुक्यो। एकैपटक आधा दर्जन बढी खेलाडीले संन्यास लिँदा त्यसपछि टिम डाउन भयो।'
उनको भनाइ छ : हामीसँग युवा टिम थियो। भारतसँग जसरी धेरै विकल्पहरु थिए, हामीसँग थिएनन्। उनीहरुसँग रणजी, आईपीएल जस्ता प्रतियोगिता छन्। तर, एकपटक चेन ब्रेक भएपछि हामी फर्कन सकेनौं।
उनी केन्या पछाडि परे पनि संरचना र कल्चरका हिसाबले अगाडि रहेकाले चाँडै ‘बाउन्सब्याक’ हुने विश्वास लिएका छन्। त्यसैले जुटेका छन् नेपाल र अन्य टोलीसँग टीमलाई एक्सपोजर दिलाउन।
'हामीसँग संरचना छ। अफ्रिकामा हामीसँग संरचनामा साउथ अफ्रिका भन्दामात्र पछाडि छौं। जिम्बावे हाम्रो भन्दा ठूलो नाम हो, तर उनीहरुसँग भन्दा पनि हामीसँग संरचना राम्रो छ,' उनले सुनाए, 'हामीसँग चारवटा अन्तर्राष्ट्रिय स्तरका स्टेडियम छन्। त्यसबाहेक अन्तर्राष्ट्रिय प्रतियोगितामात्र गर्न नसकिने १२ वटा भन्दा बढी मैदान छन्। यसमा हामीले स्कुल ग्राउन्ड गनेका छैनौ।'
उनी विश्वक्रिकेटमा केन्याले ‘बाउन्स ब्याक’ गर्ने विश्वासी देखिए।
'केन्या चाँडै विश्वक्रिकेटमा बाउन्स ब्याक हुनेछ। हामी चाँडै फर्कने छौं। केन्यामा ट्यालेन्टको कमी छैन। अन्य देशले सुरु गर्दा ग्रासरुटबाट सुरु गर्न पर्छ,' उनले भने, 'तर, हामीले यो स्तरबाट सुरु गर्नपर्ने अवस्था छैन। सबै कुरा बन्न समय लाग्छ। ग्राफ हेर्दा जानुहोस्, हामी प्रगति देखिँदै जानेछ।'
तर, करिमको भने भर्खरै चुनाव पछि आएको नेतृत्वसँग पनि ठूलो अपेक्षा छैन। त्यसलाई त उनी ‘मजाक’ करार दिन्छन्।
भने, 'पहिला सबै चीजहरू व्यवस्थित गर्नुहोस् र त्यसपछि पैसाको अपेक्षा गर्नुहोस्।'