PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० सिट बाँड्न शीर्ष नेतालाई सकस, बालुवाटारको बैठकले कसरी मिलाउला भाग?



प्रकाश भण्डारी

प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० सिट बाँड्न शीर्ष नेतालाई सकस, बालुवाटारको बैठकले कसरी मिलाउला भाग?

काठमाडौं : सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमकल दाहाल ‘प्रचण्ड’को सचिवालयले बैठक सुरु भएको जानकारी दिएको छ।

प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन घोषण भएपछि गठबन्धनको पहिलो बैठक बालुवाटारमा सुरु भएको हो। बैठकमा चुनावी गठबन्धनको सिट बाँडफाँडबारे छलफल गर्न नेताहरु जुटेका हुन्।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल (जसपा) र राष्ट्रिय जनमोर्चाले चुनावमा भागण्डा गर्ने तयारी गरिरहेका छन्। स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनबिच भागबण्डा भएको थियो।

अहिले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा पनि गठबन्धन गर्ने गरी गठबन्धनले चुनावको मिति घोषणा गर्ने सहमति गरेको थियो। उक्त सहमति अनुसार एकै चरणमा प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन हुने तय भएको छ।

गठबन्धनका नेताहरुले आजकै बैठकबाट प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा बलियो गठबन्धन बनेको सन्देश दिने गरी सहमति गर्न बालुवाटारमा जुटेका हुन्। सत्ता गठबन्धनले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई पराजित गर्नुपर्ने रणनीति अन्तर्गत चुनावी भाग मिलाउने तयारी गरिरहेका छन्।

सजिलो छैन गठबन्धनलाई

स्थानीय तह निर्वाचनमा गठबन्धनले महानगर र उपमहानगरमा भागबण्डा गरेको थियो भने अरु ठाउँमा स्थानीय कमिटीलाई जिम्मा दिएको थियो। कांग्रेस बाहेकका दलहरु त्यतिबेला गठबन्धनबाट रुष्ट बनेका थिए।

अहिले पनि प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा भागबण्डा मिलाएर जान सत्तारुढ दलहरुलाई सकस छ। प्रत्यक्ष निर्वाचित हुने १६५ प्रतिनिधिसभा सदस्यका लागि सिटमा सहमति गरेर गठबन्धन अघि बढनुपर्ने छ भने प्रदेशसभाको ३३० मा पनि भागबण्डा गर्नुपर्ने चुनौति छ।

नेपाली कांग्रेसभित्र संस्थापन इतर नेताहरुले गठबन्धन गरेर जान नहुने मत राखिरहेका छन्। एकै पटक सबै निर्वाचन क्षेत्रको भागबण्डा गर्नुपर्ने भएकाले सत्तारुढ दलका शिर्ष नेताहरु सकसमा देखिएका छन्।

गठबन्धनले दशैँ अघि नै भागबण्डा मिलाइसक्नुपर्ने छ। किनभने निर्वाचन आयोगले दशैँ सकिएलगतै मनोनयनको काम सुरु बताएको छ। प्रदेश तथा प्रतिनिधिसभाको चुनाव आउन १०७ दिन मात्रै बाँकी छ।

उपगठबन्धनले सत्ता गठबन्धनलाई के गर्ला असर?

सत्ता गठबन्धन भित्रै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपाल वाम मोर्चा बनाएर अघि बढ्न खोजिरहेका छन्। जसमा माओवादी केन्द्र र एकीकृत समाजवादीसँगै जसपाको उपेन्द्र यादव र डा बाबुराम भट्टराई तथा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम सम्मलाई समेट्न गृहकार्य भइरहेको छ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले चाहेका थिए चुनाव धकेल्न

गठबन्धनमा रहेका दल एकीकृत समाजवादी र माओ‌वादी केन्द्रले फागुनसम्म प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मिति तोक्नुपर्ने धारणा राखिरहेका थिए। तर, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिरमै चुनाव गर्ने अडान लिएपछि प्रचण्ड-नेपाल सहमत हुन बाध्य भएका हुन्।

देउवाले निर्वाचन आयोगले चुनावको मिति प्रस्ताव असार २२ मा गरे लगतै निर्वाचनबारे निर्णय गर्न खोजेका थिए। तर, प्रचण्डले केही समय देउवालाई पर्खन आग्रह गरेपछि निर्वाचन आयोगले प्रस्ताव गरेको एक महिनापछि मात्रै चुनावको मिति घोषणा भएको हो।

माओवादी चाहन्छ दोस्रो पार्टी बन्न

माओवादी केन्द्रले आफूलाई दोस्रो पार्टी बनाउने गरी गठबन्धन गर्नुपर्ने मत राखिरहेको छ। चुनावी भागबण्डामा दोस्रो पार्टी हुने गरी सिट बाँड्नुपर्ने मत प्रचण्डले केही दिन अघि सार्वजनिक गरेका थिए।

उनले कांग्रेसले माओवादीलाई दोस्रो हुन नदिए ठीक नहुने चेतावनी समेत दिएका थिए। तर, कांग्रेस भने गठबन्धनमा आफ्नो पार्टीलाई बहुमत आउने गरी मात्रै सिट बाँड्न चाहेको बताइन्छ।

त्यसो त गठबन्धनका कांग्रेस बाहेकका दलहरु कांग्रेसलाई चुनाव पछि सहजै सरकारमा पुग्ने बाटोबाट रोक्ने रणनीतिमा छन्। त्यसबारे सत्तामै भएका वाम दलहरुले प्रमुख प्रतिपक्षी दल एमालेसँग पनि संवाद तीव्र पारेका थिए।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनावी विषयमा दुई पटक बालकोटमै गएर कुराकानी गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell