PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अमेरिकाद्वारा मंकिपक्स भाइरसलाई जनस्वास्थ्य आपतकाल घोषणा



पहिलोपोस्ट

अमेरिकाद्वारा मंकिपक्स भाइरसलाई जनस्वास्थ्य आपतकाल घोषणा
फोटो : onmanorama.com

अमेरिकाले मंकिपक्सलाई जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ। ७० भन्दा बढी देशमा फैलिसकेको मंकिपक्सलाई विश्व स्वास्थ्य संगठनले केही समय अघि नै ‘पब्लिक हेल्थ इमरजेन्सी अफ इन्टरनेश्नल कन्सर्न’ घोषणा गरेको थियो।

अगस्ट ३ सम्ममात्र अमेरिकामा ६ हजार ६०० भन्दा बढीमा मंकिपक्स संक्रमण देखिएको छ। अमेरिकी स्वास्थ्य मन्त्री जेभियर बेसेरराले मंकिपक्सलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्।  

यो संक्रमण विशेष गरि मध्य र पूर्वी अफ्रिकी क्षेत्रमा सामान्य रुपमा भेटिने गर्छ। अफ्रिकाबाट नै अन्य देशमा यो संक्रमण फैलिएको अनुमान गरिएको छ। केही महिना अघि मंकिपक्सको संक्रमण सुरुवातमा बेलायतमा देखिएको थियो। पछि इटाली, स्पेन, स्वीडेन, पोर्चुगल, अमेरिका, क्यानडा, स्वीटजरल्यान्ड, इजरायल लगायतका देशमा पनि यो भाइरसको संक्रमण देखिएको थियो। हाल ७० भन्दा बढी देशमा यसको संक्रमण देखिएपछि संगठनले मानिसलाई सचेत बनाउन यसलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरिएको थियो।

‘मंकिपक्स’का संकेत र लक्षणहरू

मंकिपक्सको इन्क्युबेसन अवधि (संक्रमण देखि लक्षण देखिनसम्मको अन्तराल) सामान्यतया ६ देखि १३ दिनसम्म हुन्छ तर यो अवधि ५ देखि २१ दिन सम्मको पनि हुन सक्छ।

संक्रमण दुई अवधिमा विभाजन गर्न सकिन्छ :

- भाइरसको आक्रमण अवधि (० देखि ५ दिन)मा ज्वरो, तीव्र टाउको दुखाइ, लिम्फ्याडेनोप्याथी (लिम्फ नोडहरू सुन्निने), ढाड दुख्ने, मायल्जिया (मांसपेशीको दुखाइ) र तीव्र एस्थेनिया (ऊर्जाको कमी) जस्था लक्षणहरु देखिन सक्छ। लिम्फ्याडेनोप्याथी तुलनात्मक रुपमा चिकेनपक्स, दादुरा, स्मलपक्सको सुरुमा देखिने जस्तै मंकिपक्सको एक विशिष्ट विशेषता हो।

- सामान्यतया ज्वरो आएको १ देखि ३ दिनमा शरीरमा फोकाहरु देखिन थाल्छ। ९५ प्रतिशत केसहरूमा यसले अनुहारलाई असर गरेको देखिएको छ भने हत्केला र ७५ प्रतिशत केसहरूमा खुट्टाको पैतालामा असर गरेको देखिएको छ।

साथै, ७० प्रतिशत केसहरूमा मुख भित्रको झिल्ली, ३० प्रतिशत केसमा गुप्ताङ्ग, २० प्रतिशत केसहरुमा कन्जङ्क्टिभेइ र कोर्निया पनि प्रभावित भएको देखिएको छ। छालाको सतहमा देखिने दागहरु क्रमशः म्याकुल्स (छालामा देखिने सामान्य घाउ) देखि प्यापुल्स (थोरै उठेको तर कडा बिबिरा), भेसिकल्स (स्पष्ट तरल पदार्थले भरिएको घाउ), पुस्टुल्स (पहेँलो तरल पदार्थले भरिएको घाउ) र क्रस्टमा परिणत हुन्छ। जुन पछि सुक्छ र झर्छ। बिबिराको संख्या केहिदेखि धेरै हजारसम्म फरक हुन सक्छ। गम्भीर अवस्थाहरूमा छालाको ठूला भागहरू बिबिरा एकापसमा जोडिएर ठूला घाउहरु बन्छन्।

मंकिपक्स सामान्यतया २ देखि ४ हप्तासम्म लक्षण रहने एक सेल्फ-लिमिटेड रोग हो। गम्भीर केसहरू सामान्यतया बालबालिकाहरूमा देखा पर्छन् र भाइरसको जोखिम बिरामीको स्वास्थ्य स्थिति र जटिलताहरूको प्रकृतिसँग सम्बन्धित छन्।

अन्तर्निहित प्रतिरोधात्मक क्षमताको कमजोरीले खराब अवस्था निम्त्याउन सक्छ। मंकिपक्सका जटिलताहरूमा सेकेन्डरी इन्फेक्सन, ब्रोन्कोन्युमोनिया, सेप्सिस, इन्सेफलाइटिस र कोर्नियाको संक्रमणले दृष्टि गुम्नेसम्म हुन सक्छ। कुन हदसम्म एसिम्प्टोमेटिक संक्रमण हुन सक्छ भने पत्ता लागेको छैन।

मंकिपक्सको मृत्युदर ऐतिहासिक रूपमा सामान्य जनसंख्यामा शून्यदेखि ११ प्रतिशतसम्म रहेको छ। साना बालबालिकाहरूमा यो उच्च रहेको छ। पछिल्लो समय मृत्युदर ३ देखि ६ प्रतिशतको हाराहारीमा रहेको छ।

यसको उपचार के हो?

संक्रमण रोकथामको विधिहरु प्रयोग गरेर प्रकोप नियन्त्रण गर्न सकिन्छ। मंकिपक्सविरुद्ध स्मलपक्सको खोप ८५ प्रतिशत प्रभावकारी देखिएको बताइएको छ।

एन्टिभाइरल औषधिहरूले पनि यसको उपचारमा मद्दत गर्न सक्ने बताइएको छ।

यो कति खतरनाक छ?

मंकिपक्स भाइरसका धेरैजसो केसहरू सामान्य हुन्छन्। कहिलेकाहीँ चिकेनपक्स जस्तै पनि देखिन्छन्। र, केही हप्तामा यो आफैँ पनि निको हुन्छ।

यद्यपि, यो भाइरसको प्रभाव कहिलेकाहीँ गम्भीर पनि हुन सक्छ। तथापि, पश्चिम अफ्रिकामा यसले मानिसहरुको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell