PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

परराष्ट्रमन्त्री खड्काको चीन भ्रमण : बीआरआईमा होला त प्रगति? 



विधुर ढकाल

परराष्ट्रमन्त्री खड्काको चीन भ्रमण : बीआरआईमा होला त प्रगति? 

काठमाडौं : परराष्ट्रमन्त्री नारायण खड्का यसै साता मित्रराष्ट्र चीनको तीन दिने भ्रमणमा जाँदै छन्।  

गत मार्चमा नेपाल भ्रमणका क्रममा अमेरिकी विदेश मन्त्री वाङ यीले नेपाली समकक्षी खड्कालाई चीन भ्रमणको निम्तो दिएका थिए। मन्त्री खड्काले यही साउन २४ देखि २६ सम्म चीनको भ्रमण गर्ने मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्। उक्त भ्रमणका क्रममा साउन २५ गते दुई देशबीच विदेश मन्त्रीस्तरीय द्विपक्षीय भेटवार्ता हुने छ। 

के छन् एजेण्डा?

चीन भ्रमणका क्रममा द्विपक्षीय हितका विविध पक्षमा छलफल हुने मन्त्रालयकी प्रवक्ता लम्सालले जानकारी दिइन्। 'आपसी सहयोग, द्विपक्षीय हित, साझेदारीका विविध आयामहरुमाथि छलफल हुन्छ,' लम्सालले भनिन्। 

गत वर्ष असारमा नयाँ सरकार बनेपछि नेपालको तर्फबाट चीनमा उच्चस्तरीय भ्रमण हुन सकेको छैन। चीनको तर्फबाट विदेशमन्त्री यी, चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय सम्पर्क विभागका मन्त्री लिउ जियान चाओलगायतको उच्चस्तरीय भ्रमण भइसकेको छ। 

त्यस्तै पछिल्लो समय अमेरिकी उच्च अधिकारीहरु नेपालमा भ्रमण गरिरहेको अवस्थामा चीनले त्यसलाई चासोका साथ हेर्दै आएको छ। अमेरिकी परियोजनाहरु अगाडि बढ्दा चीनको बीआरआई परियोजना अगाडि बढ्न नसक्नु चीनको मुख्य चासो रहँदै आएको छ। 

यस्तोमा मन्त्री खड्काको चीन भ्रमणका क्रममा बीआरआई अन्तर्गतका परियोजना अगाडि बढाउने विषयमा ठोस प्रगति हासिल हुन्छ? परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्साल भन्छिन्, 'यस विषयमा अहिले नै भन्नु म्याचुओर नहोला।'

उनले भ्रमणका एजेण्डका विषयमा छलफल चलिरहेकोसमेत बताइन्। 'भ्रमणको तयारी पहिले देखिको हो। तपाईँलाई थाह छ मार्चमा चिनियाँ विदेशमन्त्री नेपाल आउँदा भ्रमणको निम्तो दिनुभएको थियो,' उनले भनिन्, 'हामीले आज भ्रमणको कार्यक्रम फाइनल गर्‍यौं। भ्रमणका एजेन्डाका विषयमा छलफल चलिरहेको छ। द्विपक्षीय वार्तामा एकतर्फी एजेन्डा तय हुँदैनन्। दुबै पक्ष बसेर छलफल गरी एजेन्डा तय हुन्छन्। अहिले नै यही विषयमा छलफल हुन्छ। बीआरआईमा यही प्रगति हुन्छ भनेर भन्ने बेला भएको छैन।'

उनले भ्रमणमा दुई देशको आपासी हितलाई केन्द्रमा राखेर छलफल हुने बताइन्। 

गत मार्चमा चिनियाँ विदेशमन्त्री वाङको नेपाल भ्रमणको क्रममा बीआरआई अन्तर्गतका परियोजनामा सहमति हुन सक्ने अपेक्षा गरिएको थियो। तर, त्यस विषयमा ठोस उपलब्धि हासिल हुन सकेको थिएन। त्यतिबेला नेपालले परियोजनाको बारेमा तयारी नपुगेको भन्दै प्रगति भएको थिएन। 

२०१७ मा नेपाल र चीनबीच बीआरआई फ्रेमवर्क अन्तर्गत साझेदारी अगाडि बढाउन समझदारी पत्रमा हस्ताक्षर भएको थियो। यसबीच नेपालले ९ वटा परियोजना प्रस्ताव अगाडि सारेको छ। यससम्बन्धि निर्माण तथा लगानी मोडालिटीको टुंगो लाग्न सकेको छैन। 

'ताइवान एजेण्डा बन्दैन'

पछिल्लो समय ताइवान मामिलालाई लिएर चीन-अमेरिकाबीच तनाव बढ्दै गएको छ। अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमण गरेपछि चीनले त्यसको विरोध गर्दै ताइवान वरिपरी सैन्य अभ्यास गरिरहेको छ। यस्तोमा परराष्ट्रमन्त्री खड्काको भ्रमणको क्रममा चीनले नेपाललाई ताइवान मामिलामा समर्थन खोज्ने अपेक्षा गरिएको छ। 

चिनियाँ दूतावासले वक्तव्य जारी गरेरै ताइवान मामिलामा नेपाल चीनको साथमा रहने अपेक्षा व्यक्त गरेको छ। नेपाल सधैं एक चीन नीतिप्रति प्रतिवद्ध रहेको भन्दै दूतावासले नेपालप्रति आभार व्यक्त गरेको छ। साथै ताइवान मामिलामा पनि नेपालको समर्थन रहने अपेक्षा गरेको छ। 

परराष्ट्र मन्त्री भ्रमणलाई ताइवानसँग जोडेर नहेर्न मन्त्रालयकी प्रवक्ता लम्सालले आग्रह गरिन्। 'नेपाल सधैं एक चीन नीतिप्रति प्रतिबद्ध छ। दुबै देशले एक अर्काको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्दै आएका छन्,' उनले भनिन्, 'ताइवान मामिलामा पछिल्लो विकासक्रमलाई नेपालले नजिकबाट नियालिरहेको छ। माननीय मन्त्रीज्यूको यो भ्रमण अगाडि देखिको तयारी हो। ताइवानको विषय पछिल्लो घटनाक्रम हो। त्यसैले यो भ्रमणलाई ताइवानसँग जोडेर हेर्न मिल्दैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell