
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन र यसका नेताहरुले देशलाई दुर्गतिमा डुबाएको बताएका छन्। पार्टीको उपत्यका विशेष प्रदेश कमिटीले शुक्रवार भक्तपुरको बोडेमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष ओलीले दुर्गतिबाट देशलाई जोगाउन पनि आफूहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विजयी हुनुको विकल्प नभएको दोहोर्याए।
उनले सत्तारुढ गठबन्धनका आवद्ध नेताहरुले आ-आफ्ना स्वार्थका लागि देशविरुद्ध जस्तासुकै कुकर्म गर्न पनि पछि नपर्ने आरोप लगाए।
उनले भने, ‘मुख्य फोकस चाहीँ निर्वाचनको तयारीमा काम गर्ने हो। अहिलेको निर्वाचन हामीले हार्न मिल्दैन। नेकपा एमालेका लागि त केही छैन। प्रतिपक्षमा बस्छ। प्रतिपक्षमा बसेर जनताको पक्षमा आवाज उठाउँछ। देशको पक्षमा बोल्छ, आवाज उठाउँछ। राष्ट्रियताको पक्षमा, लोकतन्त्रको पक्षमा, स्वच्छताको पक्षमा, सुशासनको पक्षमा, विकासको पक्षमा बोल्छ। तर, एमालेले हार्दा देश हार्छ। एमालेले जित्नैपर्ने कारण के छ भने देश जिताउनुपर्नेछ। देशलाई हार्न दिनुहुने छैन।’
अध्यक्ष ओलीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले संगठित ढंगले इमान्दार प्रयास गर्न सके बहुमत प्राप्त गर्न सक्ने सम्भावना रहेको दावी गरे। पार्टीको सरकार नढल्नका लागि पनि आगामी निर्वाचनमा बहुमत चाहिने र त्यसका लागि इमान्दार प्रयास पार्टीका नेता, कार्यकर्ताले गर्नुपर्ने उनले बताए।
अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई हुँदाहुँदै एमालेले गरेको विघटन बदर गर्ने र अरुले गरेको विघटनलाई सदर गर्ने काम अदालतले गरेको भन्दै आक्रोश समेत व्यक्त गरे।
अध्यक्ष ओलीले मुलुकलाई समृद्ध बनाउने आकांक्षा एमालेले लिएको र त्यसैलाई पूरा गरेरै छोडने दृढता समेत व्यक्त गरे।