पोखराः कोहलपुर चोकदेखि केही भित्र। लगभग आधा घण्टाको दूरी पार गरेपछि पुगिन्छ गाभर भ्याली। अर्थात् बाँकेको ‘कान्छो देउराली’। तराईको उखरमौलो गर्मीमा गाभर भ्याली पुगेपछि राहत मिल्ने। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको भ्याली। चुरे पहाडको फेदमा निकुञ्जको सिमामा। त्यसैले पनि फरक छ गाभर भ्याली। जसलाई थप विशेष बनाएको छ भ्यालीभित्र रहेको मिश्रीत समुदायको बस्तीले। तराई, पहाड र हिमालको संस्कृतिक झल्को एकै ठाउँमा भेटिने।
बस्ती रारा राष्ट्रिय निकुञ्जको स्थापनापछि बसेको थियो। ०३२ सालमा मुगु र जुम्लाको केही भेगमा वन्यजन्तु संरक्षणका लागि निकुञ्ज स्थापना भएपछि सो क्षेत्रका स्थानीयलाई स्थानान्तरण गरिएको थियो। सोही क्रममा मुगु र जुम्लाका स्थानीय आइपुगेका थिए बाँके जिल्लाको बैजनाथ गाउँपालिका १ को गाभर भ्यालीमा। गाभरमा बस्ती बस्न थालेपछि विस्तारै बसाइँसराइँ गर्ने पनि गाभरतिरै लागे। गाभरमा बस्ती त बस्यो तर विकट थियो स्थान। बस्तीमा सडक, बाटो केही थिएन। आर्थिक उपार्जन ठप्पजस्तै थियो।
निकुञ्जकै कारण स्थापित बस्तीको मुहार पनि निकुञ्जले नै फेर्दै थियो। ०६७ सालमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना भयो। जसको लाभ उठाउन थाल्यो गाभर भ्यालीले। मध्यवर्ती क्षेत्रमा पर्ने गाभरले निकुञ्जको लाभ उठाउन त सक्थ्यो तर कसले र कसरी?
कृषि र मजदुरी थियो अधिकांशको जीविकोपार्जन माध्यम। सक्ने विदेसिन्थे। त्यसबेला पर्यटनलाई जीविकोपार्जनको आयाम मान्ने अवधारण कसले निकालोस्। होमस्टेको अवधारण पनि नयाँ थियो त्यसबेला।
तर, गाभरकै कृष्ण चौधरी सामुदायिक होमस्टेको योजना बुन्दै थिए।
२०४० सालमा दाङबाट बसाइँसराइँ गरेर आएको परिवार हो कृष्णको। उनका पिता रामदास चौधरी दाङबाट गाभर झरे। कृष्ण गाभरमै जन्मिए, हुर्किए। गाउँमै मिहिनेत गर्नुपर्छ भन्ने उनको मान्यता। विदेशिएका युवा देखेर खिन्न हुने उनी गाउँमा रोजगारको वातावरण सिर्जना गर्न चाहन्थे। सोही क्रममा बाँके राष्ट्रिय निकुञ्ज स्थापना भयो। निकुञ्ज स्थापना भइसकेपछि चोरी सिकार नियन्त्रण जागरण सञ्जालको समिति बन्यो। समुदायस्तरमा चोरी नियन्त्रण जागरण गर्न बनेको सञ्जालको अध्यक्ष बने कृष्ण। त्यही मौकामा निकुञ्जका व्यक्तिसँग नजिकिए उनी।
गाउँमा रोजगारको वातावरण सिर्जना गर्न भौतारिरहेका कृष्णलाई दैलोमै मौकाले ढोका ढकढकायो। जैविक पर्यटनलाई आर्थिक आम्दानीसँग जोड्न सकिन्छ भन्ने कृष्णले मेसो पाए। नजिकैको जिल्लाको होमस्टेको चर्चा गाभरमा पनि पुगेको थियो। कृष्णले पनि सोचे जैविक विविधताको संरक्षणमा टेवा पुग्नेगरि होमस्टे सञ्चालनमा ल्याउने। तर, त्यसबेला कृष्णको सोचमा साथ दिने भने कोही भएनन्। ०७० सालमा एक्लै भए पनि कृष्णले गाभरमा होमस्टे सञ्चालनमा ल्याए। घर नम्बर एक बन्यो गाभर होमस्टेको उनको घर। दुई वर्षपछि कृष्णको सफलताले अन्य स्थानीयलाई पनि खिच्यो। अहिले गाभरमा २५ घर छन् होमस्टे चलाउने। त्यसैले खुसी सुनिन्छन् उनी।
‘निकुञ्ज स्थापनासँगै यो क्षेत्रलाई जैविक विविधताको संरक्षण गर्ने पर्यटनको विकास गर्ने योजना थियो। ग्रामीण र तराई क्षेत्र भए पनि चुरेको काखमा भएकोले वातावरणको हिसाबले पनि साथ दिएको छ,’ कृष्णले भने, ‘सामूदायिक रुपमा पूर्वाधार विकाससँगै जनचेतनाका हिसाबले यो अभियानमा लाग्यौं। अहिले सफलता हासिल भएको छ। तर, अझै गर्न बाँकी नै छ।’
होमस्टेले मजदुरी गरेर छाक टार्न गाह्रो हुने बस्ती आर्थिकरुपमा उकासिन थाल्यो ।
‘अहिले संख्या वृद्धि भएर २५ वटा होमस्टे छन्। खासगरी टाइगर टुरिजमको गन्तव्यको रुपमा विकास गर्ने अभियानस्वरुप होमस्टेलाई पनि विस्तारै व्यवस्थापन गरिरहेको छ। यसले स्वरोजगार र रोजगारको विकास गर्दै समुदायमा आर्थिक वृद्धि गर्ने महत्वपूर्ण माध्यम बनेको अवस्था छ,’ कृष्णले सुनाए।
गाभरको अर्को विशेषता छ मिश्रित समूदाय। विभिन्न जिल्लाबाट बसाइँसराइँ गरेर आएकाले पनि होमस्टे सञ्चालन गरेका छन्। पाहुनालाई एकै ठाउँमा फरक-फरक संस्कृतिक झल्को दिएको छ। जसलाई गाभरको ‘ब्रान्ड’ भन्छन् कृष्ण।
‘रारा निकुञ्ज स्थापना भइसकेपछि स्थान्तरण भएर आउने र विभिन्न जिल्लाहरुबाट पनि बसाइँसराइँ गरेर आइसकेपछि होमस्टे त्यसैगरी छ। गाभर भ्याली मिश्रित परम्परा आधारित छ। मेरो परिवार पनि दाङबाट आएको हो,’ कृष्णले सुनाए, ‘कान्छो देउरालीको रुपमा चिनिएको गाभरमा मिश्रित परम्परामा छन्। मुगेली समूदायका हिमाली परिवेशका कुरा पनि हामी यहाँ दिन सक्छौं। मिश्रित संस्कृति छन्। त्यस हिसाबले पनि एउटा ब्रान्ड बनेको छ।’
गाभरको आफनै विशेषता भए पनि यहाँ बाह्य तथा जिल्ला बाहिरका पर्यटकको संख्या भने न्यून छ। विशेषगरी नेपालगंज र कोहलपूरका स्थानीय रिफ्रेसमेन्टका लागि परिवारसँग पुग्छन्।
गाभरमा सामुदायिक होमस्टे सञ्चालनमा त आयो। तर, यसको प्रचारप्रसार र व्यवस्थापनको पक्ष समस्या बनेको छ। यात्रा थाल्दाको कठिनाइ पार गरिसकेका छन् कृष्णले। गन्तव्यमा पुग्ने बाटो हिँड्न बाँकी रहेको बताउँछन् कृष्ण।
होमस्टेले फेरिएको स्थिति
श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन्। काखमा छोराछोरी च्यापेर हुम्लाको घरमा रेश्मी जैशी एक्लै। स्याङ्जाबाट हुम्ला पुगेकी रेश्मीलाई उकालोओरालो गर्न मुस्किल। श्रीमान् गंगदत्त जैशी भारतबाट फर्किए। ०४९ सालमा हुम्लाबाट गाभर भ्याली झरे दम्पती। भारत पुगेर कमाएको पैसाले गाभरमा थोरै जमिन किने। कृषिलाई आफनो पेशा बनाए। तर, दश सदस्य भएको परिवार पाल्न त्यतिले अपुग भयो।
०७२ सालमा कृष्णले जस्तै गंगदत्तले होमस्टे सञ्चालनमा ल्याए। होमस्टे सञ्चालक समितिको उपाध्यक्ष बने। हुम्लाको विशेषतालाई आफनो होमस्टेमा समेट्न खोजे। जसले गर्दा परिवारको आर्थिक स्थिति बदलिँदै गयो।
‘होमस्टे सञ्चालन गरेपछि पर्यटकहरुलाई पनि अवलोकन गर्न सजिलो भयो। हामीलाई पनि काम भयो। गाउँमा बसेर। पहिल्यैको जस्तो दुःख भएन। अहिले राम्रो छ होमस्टेले गर्दा,’ गंगदत्तले भने।
खेतीपाती मात्र गरेर अपुग भएको परिवारलाई अहिले घरमा आएका पाहुनालाई सत्कार गरे पुग्ने भएको छ। परिवारमा दूईवटा सदस्य पनि थपिएका छन्। छोराले बिहे गरेपछि दुई बुहारीले सासु रेश्मीलाई सघाउँछन्।