PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

गठबन्धनको चुनावी रणनीतिः शीर्ष नेतालाई जिताउन ‘पुसअप’, शक्तिको आधारमा भागबन्डा



प्रकाश भण्डारी

गठबन्धनको चुनावी रणनीतिः शीर्ष नेतालाई जिताउन ‘पुसअप’, शक्तिको आधारमा भागबन्डा

काठमाडौं: सत्ता गठबन्धनले शीर्ष नेतालाई चुनाव जिताउने गरी सिट बाँडफाँटको तयारी गरेको छ। शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा चुनावी रणनीतिबारे छलफल भएको थियो। शीर्ष नेतालाई ‘पुसअप’गरेर भए पनि चुनाव जिताउने गठबन्धनको तयारी छ।

‘चुनाव जिताउनुपर्ने व्यक्तित्व को-को हो कसलाई पुसअप गर्नुपर्छ त्यसको आकलन गर्छन्, ’नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले भने।

पार्टीको शक्तिको आकलन गरेर चुनावी जितको आधार तयार पार्न गठबन्धन जुट्ने भएको हो। प्रधानमन्त्री देउवाले सत्तारुढ पाँच दलको सहमतिमा बिहीबार प्रदेश तथा प्रतिनिधि सभाको चुनावको घोषणा गरेका थिए। चुनाव घोषणा भएकै भोलिपल्ट गठबन्धनको बैठक बसेको हो।

भागबन्डाको सहमति गर्न कार्यदल

निर्वाचनमा टिकटको भागबन्डा मिलाउन सत्ता गठबन्धनले ११ सदस्यीय कार्यदल बनाएको छ। एकीकृत समाजवादीका नेता झलनाथ खनालले‍ कार्यदल बनेको पुष्टि गरे।

‘गठबन्धन गरेर चुनावमा जाने, भदौ पहिलो हप्तासम्म बाँडफाँटको काम सक्ने र त्यसका लागि भित्री कार्यदल बनाउने सहमति भएको छ,’ खनालले भने।

नेपाली कांग्रेसबाट कार्यदलमा नेता कृष्ण सिटौला, ज्ञानेन्द्रबहादुर कार्की र गगन थापा छन्। माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन कार्यदलमा समेटिँदा एकीकृत समाजवादीबाट वेदुराम भुसाल र प्रमेश हमाल छन्। जनता समाजवादी पार्टीबाट रकम चेम्जोङ र रामसहायप्रसाद यादव सदस्य छन्। राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदलको सदस्य छन्। उक्त समितिले कुन दललाई कति टिकट दिने भन्नेबारेमा टुङ्गो लगाउने छ। स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले महानगर र उपमहानगरमा केन्द्रबाटै गठबन्धन गर्ने सहमति गरेको थियो। त्यतिबेला पनि कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठबन्धनले कार्यदल गठन गरेको थियो। सबै तहमा टिकट बाँड्न कार्यदल हुने व्यवस्था गठबन्धनले स्थानीय तह निर्वाचनका बेलामा गरेको थियो।

केन्द्रबाट स्थानीय तहको विवाद मिलाउन नसकेपछि शीर्ष नेताहरू स्थानीय तहमा रहेको कार्यदलमार्फत् गठबन्धन गर्न सहमत भए। तर, धेरैजसो स्थानीय तहमा सत्ता गठबन्धनभित्र मात्रै गठबन्धन भएन। केन्द्रबाट भएको सहमतिमा गठबन्धनभित्रै मात्रै सहमति गर्न मिल्ने बुँदा समावेश थियो। गठबन्धन दलले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग पनि तालमेल गरेका थिए।

‘पार्टीको शक्ति आकलन गरेर भागबन्डा’

गठबन्धनले पार्टीको शक्तिको आकलन गरेर भागबन्डा हुने एकीकृत समाजवादीका उपमहासचिव खतिवडाले बताए।

‘सबैभन्दा पहिला सबै पार्टीहरूले आफ्नो शक्तिको आकलन गर्छन्। सम्भावनाको आकलन गर्छन्। त्यसका आधारमा चार पाँचवटा आधार बनाउँछन्,’ उनले भने।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि पार्टीहरूको शक्ति हेरेर चुनावी तालमेलको खाका बन्ने बताए।

‘कार्यदल बनेको छ कार्यदलले पार्टीहरूको अवस्था हेरेर तालमेलको मोडालिटी बनाउँछ,’ उनले भने।

विभिन्न आधारहरूको विश्लेषण गरेर गठबन्धनलाई प्रतिशतका आधारमा भागबन्डा गर्ने छ। स्थानीय तहको नतिजालाई आधार बनाएर भागबन्डा गर्न नहुने पक्षमा माओवादी र एकीकृत समाजवादी छन्। सबै ठाउँमा आफ्नो पार्टीको उम्मेदवार नउठाइएको भन्दै उनीहरूले तालमेलको आधार स्थानीय तहको नतिजालाई बनाउन नहुने मत राखेका हुन्।

‘आजको रियालिटीमा भएको शक्ति सन्तुलन, आजको रियालिटीमा भएको अवस्था। व्यक्तिहरूको प्रभाव। उम्मेदवारी दिने बित्तिकै सबै ठाउँमा जितिँदैन नि त। कति ठाउँमा व्यक्तिकै प्रभावले पनि जितिन्छ,’ खतिवडाले भने।

सजिलो छैन तालमेल

पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा प्रमुख प्रतिपक्षी दल एमालेलाई पराजित गर्ने रणनीति बनाएको थियो। वैशाख ३० मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले सबैभन्दा धेरै ठाउँमा चुनाव जित्यो। एमाले पहिलो शक्तिबाट दोस्रो बनेको छ। कांग्रेसले ३ सय २९ ठाउँमा चुनाव जितेको थियो। एमाले २ सय ६ ठाउँमा विजयी भएको थियो। सत्तारुढ दल माओवादी केन्द्रले १२१ ठाउँमा चुनाव जितेर तेस्रो दल बनेको थियो। प्रतिनिधि सभाको निर्वाचनमा माओवादीलाई दोस्रो दल बनाउनेगरि मात्रै गठबन्धन हुने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउँदै आएका छन्।

नेपाली कांग्रेस अधिकांश ठाउँमा आफ्नो पार्टीको उम्मेदवार उठाएर कमजोर जनधार भएको ठाउँमा मात्रै गठबन्धनका अरू दललाई उम्मेदवार बनाउने रणनीतिमा छ। कांग्रेसका नेताहरूले कांग्रेसलाई फाइदा हुनेगरि मात्रै गठबन्धन गर्नुपर्ने मत राखिरहेका छन्। गठबन्धनलाई चुनावी भागबन्डा मिलाउन सकस पर्ने देखिन्छ। प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभाका र ३३० प्रदेश सभाको टिकट केन्द्रबाटै बाँड्नुपर्ने दबाबमा गठबन्धन छ।

एकीकृत समाजवादी पनि आफ्नो शक्तिको अवमूल्यन भएको भन्दै स्थानीय तह निर्वाचनको परिणामबाट असन्तुष्ट बनेको थियो भने जसपाले पनि भागबन्डाप्रति चित्त बुझाएन।

आम निर्वाचनमा कांग्रेसबाहेकका सत्तारुढ दलको मोर्चा बनाउनेबारेमा पनि माओवादीका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गृहकार्यमा छन्।

उक्त मोर्चा बनेपछि कांग्रेससँगको गठबन्धन कसरी अगाडि बढ्छ भन्नेबारेमा अन्यौलता छ। अर्कोतिर प्रमुख प्रतिपक्षी दल एमालेले पनि सत्ता गठबन्धनलाई तोड्ने रणनीति तय गर्ने छ। स्थानीय तह निर्वाचनका बेलामा पनि एमालेले सत्ता गठबन्धनलाई फुटाउन चाहेको थियो। अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रूपमा पटक-पटक गठबन्धन फुटाउन आफूलाई समय नलाग्ने बताउँदै आएका छन्।

कुन दलको शक्ति कस्तो?

२०७४ सालमा भएको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा एमाले र माओवादी केन्द्र एकता भएर चुनावमा गएका थिए। एकतापछि बनेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रतिनिधि सभाको २७५ मध्य १७४ सिट जितेको थियो। प्रत्यक्ष तर्फ २०७४ मा एमालेले ८०, माओवादी केन्द्रले ३६ र कांग्रेसले २३ सिट जितेका थिए। हाल भने एमाले र माओवादी केन्द्र अलग भइसकेका छन् भने एमालेबाट माधवकुमार नेपाल अलग भएर एकीकृत समाजवादी पार्टीको नेतृत्व गरिरहेका छन्। हाल प्रतिनिधि सभामा एमालेका ९८, कांग्रेसका ६३, माओवादी केन्द्रका ४९,एकीकृत समाजवादीका २३ र जनता समाजवादी पार्टीका १९ सांसद छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell