PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नेपालमा मंकिपक्सको जोखिम कत्तिको छ? सरकारको पूर्वतयारी यस्तो



रासस

नेपालमा मंकिपक्सको जोखिम कत्तिको छ? सरकारको पूर्वतयारी यस्तो
फोटो : onmanorama.com

  • शरद शर्मा

काठमाडौं : विश्वभरि फैलिरहेको मंकिपक्स भाइरस संक्रमणको जोखिम नेपालमा पनि रहेको पाइएको छ। नेपाल-भारत खुला सिमाना भएको र विभिन्न देशबाट पर्यटकको आउजाउका कारण नेपाल मंकिपक्स रोगको संक्रमणको जोखिममा परेको हो।

राजधानीमा आयोजित मंकिपक्सको अवस्था र जोखिम विषयक अन्तरक्रिया कार्यक्रममा डब्लुएचओ नेपालका प्रमुख राजेश पाण्डवले नेपाल मंकिपक्स संक्रमणको जोखिममा रहेको बताएका हुन्। यद्यपि, भाइरसबाट हुने एक किसिमको सरुवा रोग मंकिपक्स भने हालसम्म नेपालमा देखिएको छैन।

भारतमा मंकिपक्सका बिरामी भेटिनु र खुला सीमा भएकाले संक्रमितले सजिलै नेपाल प्रवेश पाउने भएकोले पनि उच्च जोखिम रहेको हो। भारतमा अहिलेसम्म नौ जना मंकिपक्सका संक्रमित फेला परिसकेका छन्।

यस्तै अफ्रिका, युरोप, मध्यपूर्वी एसिया देशबाट पनि नेपालमा पर्यटक आउने सक्ने भएकाले जोखिम बढेको डब्लुएचओका नेपालस्थित महामारी विज्ञ डा चथुरा इदिरीसुरियाले जानकारी दिए। ‘यी ठाउँबाट नेपालमा सजिलै पर्यटकको आउजाउ धेरै भएको पाइन्छ’, उनले भने, ‘त्यसैले नेपाल पनि मंकिपक्सको जोखिममा छ।’

८० देशका करिब २४ हजार मानिसमा मंकिपक्सको संक्रमण फैलिएको डब्लुएचओले जनाएको छ। डा इदिरीसुरियाले मंकिपक्स रोगको जोखिम बारेको जानकारी समुदायमा सरकारले गराउनु आवश्यक रहेको बताए।

रोग सार्नेमध्ये ९७ दशमलव पाँच प्रतिशत संक्रमण पुरुष पुरुषबिच हुने यौन सम्पर्कबाट सर्ने गरेको पाइएको डब्लुएचओले जनाएको छ। तीमध्ये ३८ प्रतिशतमा एचआइभी पोजिटिभ पाइएको छ।

डब्लुएचओका नेपालस्थित महामारी विज्ञ डा इदिरीसुरियाले यस रोगको संक्रमण एक व्यक्तिले अर्को व्यक्तिमा २१ देखि २४ दिनभित्रमा सार्ने सक्ने भएकोले एक महिनासम्म आइसोलेसनमा बस्नुपर्ने बताए।

डब्लुएचओ नेपालका स्वास्थ्य आपत्काल कार्यक्रम प्रमुख डा एलिसन गोकोटानोले भारतमा मंकिपक्सको बिरामी देखिएकोले खुला सिमानाका कारण नेपालमा मंकिपक्स फैलिन सक्ने बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा खगेश्वर गेलालले पनि छिमेकी मुलुकमा देखिएसँगै नेपाल पनि मंकिपक्स सङ्क्रमणको जोखिममा रहेको बताए। उनले अहिलेसम्म शङ्कास्पद चार वटा नमूना परीक्षणमा मंकिपक्स रोग नदेखिएको जानकारी दिए।

‘अहिलेसम्म नेपालमा एउटा पनि संक्रमण देखिएको छैन। तर छिमेकी मुलुक भारत र नेपालमा सजिलै आउजाउ हुने देशमा देखिएकोले ढुक्क हुने अवस्था छैन’, उनले भने।

डब्लुएचओले मंकिपक्स संक्रमणको परीक्षण गर्नका लागि नेपाललाई २५० किट उपलब्ध गराएको छ। अहिले सोही किटमार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मंकिपक्सको परीक्षण हुने गर्छ।

डब्लुएचओका जनस्वास्थ्य विज्ञ डा शीतल अधिकारीले मान्छेबाट मान्छे र जनावरबाट मान्छेमा यो रोग सर्ने गरेको बताइन्। उनले छाला र मुखमा रहेको दाग, बिमिरा फुट्दा र नजिक रहेको व्यक्तिमा मंकिपक्स रोग सर्ने जानकारी दिइन्। घाउ, खटिरा, बिमिराको सम्पर्कबाट, शरीरबाट निस्किएको तरल पदार्थ जस्तै थुक, र्‍यालको सम्पर्ककबाट, भाइरसबाट दूषित सतह र सामग्रीको प्रत्यक्ष सम्पर्कबाट, सङ्क्रमित बाँदर, मुसा, लोखर्केलगायत जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो रोग सर्दछ। काटिएको, बिमिरा वा फुटेको छाला, आँखा, नाक वा मुख, श्वासनली जस्ता अङ्गबाट पनि यो भाइरस सर्ने गर्दछ।

सरकारको तयारी

मंकिपक्सको जोखिम कम गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी गरेको छ। महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा गेलालले मंकिपक्स पत्ता लगाउन अध्ययन अनुसन्धान गर्न देशभर १४ जना चिकित्सकलाई फोकल पर्सन नियुक्त गरी काम गरिरहेको बताए। यस्तै मंकिपक्सका शंकास्पद बिरामीको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको छ।

महाशाखाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र कान्ति बाल अस्पतालका चिकित्सकलाई अभिमुखीकरण तालिम दिइसकेको छ। उनले ‘इन्टर्नल गाइडलाइन अन क्लिनिकल म्यानेजमेन्ट अफ मंकिपक्स–२०७९’ तयारी गर्न थालेको जानकारी दिए।

यस्तै उनले स्वास्थ्य सेवा विभागका सबै महाशाखालाई मंकिपक्सको प्रतिकार्यका लागि आगामी कार्ययोजनासमेत बनाउने निर्देशन दिइसकेको जानकारी दिए। महाशाखाले मंकिपक्सको उच्च जोखिममा रहेका समुदायसँग पनि रोकथाम र नियन्त्रणबारे छलफल गरेको उनको भनाइ छ। सातवटै प्रदेशका प्रदेश निर्देशनालयलाई मंकिपक्सको रोकथाम र नियन्त्रण गर्नका लागि निर्देशन दिइएको छ।

ज्वरो आउनु, सामान्य ज्वरो शुरु भएको एकदेखि तीन दिनभित्रमा छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्नु, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किनु, टाउको ढाड र मांसपेशी दुख्नु, शरीरका ग्रन्थीहरु बढ्नु यस रोगका लक्षण हुन्। मंकिपक्स रोगका सम्भावित जटिलता आँखामा सङ्क्रमण र दृष्टि गुम्नु, अन्य जीवाणुको संक्रमण, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जानुजस्ता रहेका छन्।

बच्ने उपायहरु

मंकिपक्सको शंका वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, संक्रमित व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेसनमा राख्ने, संक्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्णरूपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने, घाउसँग प्रत्यक्ष सम्पर्क हुन्छ भने पञ्जा लगाउने, निययमितरूपमा साबुन पानीले हात हुने वा सेनिटाइजर प्रयोग गर्ने, संक्रमित व्यक्तिको लुगा, तौलिया, ओछ्यान र भाँडा तातो पानी, साबुन वा डिटर्जेन्टले धुने गर्नुपर्दछ।

यस्तै मंकिपक्सको संक्रमण पुष्टि भई बिरामी भएका वा मरेका जनावरको सम्पर्कमा नजाने, संक्रमितको सम्पर्कमा आएका व्यक्तिले पिसिआर परीक्षण गर्ने, संक्रमितको सम्पर्ममा आएको सतह स्थान वा कोठा डिटर्जेन्टले निसंक्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने र फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्नुपर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell