PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

अस्तव्यस्त स्वास्थ्य क्षेत्रमाथिको व्यङ्ग्य हो नाटक 'सिटामोल'

अस्तव्यस्त स्वास्थ्य क्षेत्रमाथिको व्यङ्ग्य हो नाटक 'सिटामोल'

लक्ष्मी बलायर/पहिलोपोस्ट


काठमाडौं : मञ्चको पर्दा खुलेसँगै रोएको आवाज सुनिन्छ। भुन्टी रूदै आत्तिँदै भाग्दै आउँछिन्। भुन्टीलाई पछ्याउँदै उनका दाइ ठूले पनि खाली चौरतिर पुग्छन्। मास्टर काका आफ्नो श्रीमती खोज्दै हतारिँदै त्यतै आइपुग्छन्।

त्यसपछि थपिदैँ जान्छन्- बुढी आमा, उनकी नातिनी, भण्डार्नी काकी, भक्तबहादुर, जड्याहा, एकल महिला र अन्य गाउँलेहरू। एकल महिला आफ्नो पिडालाई गीतमार्फत पोख्न थाल्छिन्:

म दु:खीको भाग्य नै नासियो

घर सम्पत्ति बाटोमै भासियो

भुइँचालोले गर्नु गरायो

दु:ख पाउनु भाग्यमै रहेछ

भावीले नि गर्नु गरायो

भूकम्पले गर्दा उनीहरूलाई एउटै चौरमा बस्न बाध्य बनायो। भूकम्पले मानविय क्षति नभए पनि भौतिक क्षति प्रशस्तै भएको छ। जसकारण उनीहरू ज्यान जोगाउन चौरमा पालमुनि बसेका छन्। सबैको खाना पकाउने चुलो समेत एउटै हुन्छ। सबै नजिक छन्। तर एकल महिला चौरको एउटा कुनामा चुपचाप बसिरहेकी छिन्। त्यस्तै, दलित जँड्याहा अर्को कुनामा। गाउँको स्वास्थ्य चौकीका अहेब पनि चौरमा बेला बेला पुग्छन्।

भूकम्पको त्राससँगसँगै उनीहरूलाई हैजाले सताउँछ। चौर नजिकैको स्वास्थ्य चौकी भए पनि औषधी हुँदैन्। हैजा भएसँगै गाउँलेहरूले औषधी पाउँछन् कि पाउँदैनन्? उनीहरूले बिरामी हुँदा औषधीको लागि के के समस्या भोग्नुपर्छ? र, स्वास्थ्य चौकीका अहेबले कसरी गाउँलेलाई झाँक्री बनेर झुक्याउँछन्? यी नै प्रश्नहरूको जवाफ हो : नाटक ‘सिटामोल’। सिनामङ्गलस्थित पुरानो घर थिएटरमा साउन २५ गतेसम्म यो नाटक मञ्चन हुँदैछ।

रंगकर्मी सुलक्षण भारतीको लेखन रहेको नाटक ‘सिटामोल’ लाई जयराम ढकालले निर्देशन गरेका हुन्। नाटकले नेपालको राजनीतिक व्यवस्था र स्वास्थ्य क्षेत्रमा हुने कालोबजारीमाथि व्यङ्ग्य गरेको छ। सिटामोल पनि जनताको पहुँचसम्म छैन यो देशमा। अनुदानका औषधीलाई स्वास्थ्य क्षेत्रका माफियाले लुकाएर कालोबजारी गर्छन्। बिरामी भएसँगै एउटा सिटामोल पाउनको लागि स्थानीय सरकारदेखि केन्द्रसम्म धाउदा पाएको आश्वासन र भोग्नु परेको सास्तीलाई नाटकमा प्रस्तुत गरिएको छ।

कोरोना महामारीका बेला नेपालमा सिटामोल अभाव भयो। सिटामोलकै कारण जनताले झेल्नुपरेको समस्या ताजै छ। सिटामोलको उत्पादन  नघटेको दाबी गरियो। तर, व्यवसायीहरूले भने सिटामोल मंहगोमा बेच्न कृत्रिम अभाव सिर्जना गरे। यस विषयको समाधान खोज्न सरकारले वास्ता नै गरेन। उल्टै सरकारले नेपालमा सिटामोलको उत्पादनमा घाटा भएको भन्दै कम्पनी बन्द गरेर विदेशबाट आयात गर्ने सम्मका कुरा गर्‍यो। विपत र कोरोनाकालमा सरकारले स्वास्थ्यको क्षेत्रमा जनताप्रति देखाएको असंवेदनशिल व्यवहारमाथि यस नाटकले प्रश्न गर्छ। सम्रगमा भन्नुपर्दा स्वास्थ्य क्षेत्रमा हुने कालोबजारी र लापरवाहीमाथिको व्यङ्ग्यको खुराक हो नाटक ‘सिटामोल’।

पुरानो घरको प्रस्तुतीमा तयार पारिएको यस नाटकमा सिटामोललाई बिम्बका रूपमा प्रस्तुत गरिएको छ। राजनीति, स्वास्थ्य र समाजमाथि नै व्यङ्ग्य प्रहार गर्नु नाटकको सबल पक्ष हो। साथै यस नाटकले समाजमा दलित र एकल महिलाप्रति गरिने भेदभावलाई पनि समेटेको छ।

नाटकक लेखक भारती आफूहरुले गम्भीर विषयलाई उथान गरेको बताउँछन्।

भन्छन्, ‘यो नाटक छलफलसँगै निस्किएको विषयवस्तु हो। सिटामोललाई केन्द्रमा राखेर अध्ययन गरि नाटक लेखिएको हो। यसमा हाम्रै गाउँघरमा भएका समस्याहरू समेटिएको छ। हामीले गम्भीर विषयलाई ‘लाइट’ बनाएर प्रस्तुत गर्न खोजेका छौँ।’

स्वास्थ्य क्षेत्रका माफियाले औषधीको कालोबजारी गरि जनताको स्वास्थ्यमाथि खेलवाड गरेको कुराहरू नाटकले समेटेको उनको भनाई छ।

त्यसैगरि, निर्देशक ढकालले पनि नाटकमा नेपाली समाजको परिवेशको कुरालाई देखाइएको बताए। ‘यो नाटक एक व्यङ्ग्यात्मक नाटक हो। एउटा सानो चिजले पनि कतिसम्म असर पुर्‍याउँछ र ठूलो समस्या ल्याउन सक्छ। र, माथिल्लो स्तरका मानिसहरूलाई पनि सानो चिज कति आवश्यक हुन्छ भन्ने नाटकले सन्देश दिन खोजेको छ। नाटकमा हाम्रै समाजमा भएका घटनाहरू समेटेका छौं’ उनले भने।

नाटकमा अरुण पौडेल, ऋतेश कार्की, श्रवण यादव, प्रकाश थापा, युनिशा बजगाईं, प्रविन खरेल, अस्मिना भारती, सागर भट्टराई, टिका निरौला, सविता तामाङ, पियुस कुँवर, धनलक्ष्मी राई, सन्देश कार्की, शिशिर गिरी, सुरेश राई, सरोज खालिङ राई, तुलसी बोहोरा, सदीन लुइँटेल, अर्णव घिमिरेको अभिनय रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell