PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

विदेशबाट सुनका गहना ल्याउने क्रम बढ्यो, दैनिक २ किलोसम्म भित्रिन्छ



पहिलोपोस्ट

विदेशबाट सुनका गहना ल्याउने क्रम बढ्यो, दैनिक २ किलोसम्म भित्रिन्छ

काठमाडौं : विदेशबाट आउने सुनको परिमाण बढेको छ। विदेशबाट फर्किदा राजस्व तिरेर ल्याउने व्यक्तिगत सुनको परिमाण बढेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयलका अनुसार अघिल्लो दुई/तीन महिनाको तुलनामा अहिले सुनको परिमाण बढेको कार्यालयका प्रमुख महेश भट्टराईले जानकारी दिए।

‘चाडपर्व नजिकिएर हो या अन्य कारणले पछिल्लो केही दिनयता विदेशबाट फर्किएकाले ल्याउने सुनको परिमाण बढेको छ,’ प्रमुख भट्टराईले भने।

भन्सार ऐनअनुसार नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई फर्कँदा व्यक्तिगत प्रयोगका लागि सुनको गहना ५० ग्रामसम्म ल्याउन पाउँछन्।

यस्तै, भन्सार ऐनअनुसार बनेको निर्देशिकले एक व्यक्तिले विदेशबाट आउँदा ५० ग्राम बाहेक थप २ सय ग्रामसम्मको सुनका गहना ल्याएमा भन्सार महसुल बुझाई जाँचपास गर्न सकिने व्यवस्था छ। सोभन्दा बढी गहना ल्याएमा जफत हुन्छ।

५० देखि १ सय ग्राम सुनका गहना विदेशबाट ल्याउनुपर्दा प्रति १० ग्राम १० हजार रुपैयाँका दरले भन्सार शुल्क तिर्नुपर्छ। त्यसभन्दा बढी थप एक सय ग्रामसम्म सुनका गहनामा प्रति १० ग्राम १२ हजार रुपैयाँ तिर्नुपर्ने प्रावधान छ।

अहिले यस्ता व्यक्तिले ल्याउने सुन दैनिक डेढदेखि दुई किलोसम्म आउने गरेको कार्यालय प्रमुख भट्टराइले बताए।

‘दुई तीन महिनायता १ किलो तल झरिसकेको थियो। अहिले डेढदेखि २ किलो दैनिक यस्ता सुन आउँछन्,’ भट्टराइले भने।

व्यक्तिगत प्रयोगका सुनका गहना बाहेक अन्य जुनसुकै स्वरूपको सुन अधिकतम १ सय ग्रामसम्मलाई भन्सार महसुल लिई जाँचपास गर्न सकिने, सोभन्दा बढी परिमाणको सुन ल्याएमा त्यस्तो बढी परिमाण जफत गरिने व्यवस्था छ। यसरी ल्याएको १ सय ग्राम सुनमा पहिलो ५० ग्राममा प्रति १० ग्राम ९ हजार ५ सय रुपैयाँ र त्यसपछिको ५० ग्राममा १० हजार ५ सय रुपैयाँ भन्सार लाग्छ। अर्थात् १ सय ग्राम सुनमा १ लाख रुपैयाँ राजस्व तिर्नुपर्छ। त्यसैले भन्सार छलेर सुन तस्करीका लागि नयाँ नयाँ शैली अपनाउने गरेको देखिन्छ।

हरेक दिन विदेशबाट फर्किने नेपालीको संख्या सरदर ४ हजार हुन्छ। यसरी आउनेमध्ये केहीले सुनचाहिँ अनिवार्यजस्तै गरी ल्याउँछन्।

यता, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अहिले दैनिक २० किलो सुनको कारोबार भइरहेको छ। महासंघका महासचिव धर्मभक्त बज्राचार्यका अनुसार तीजका लागि गहनाको अर्डर गर्ने बढेका छन्।

सुनको मूल्य तोलाको ९५ हजारको हाराहारीमा छ। मुलुकमा मौज्दात विदेशी मुद्रा बाहिरिएपछि राष्ट्र बैङ्कले सुन आयात गर्ने कोटा घटाएको हो। यसअघि व्यवसायीले दैनिक २० किलो सुन ल्याउन पाउँथे। तर अहिले भने १० किलोमात्र आयात गर्न कोटा तोकिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell