PahiloPost

Oct 4, 2023 | १७ असोज २०८०

नेपाल समाजवादी पार्टीको पहिलो केन्द्रीय समिति बैठकमा बाबुरामले खुलाए जसपाबाट अलग्गिनुको कारण



पहिलोपोस्ट

नेपाल समाजवादी पार्टीको पहिलो केन्द्रीय समिति बैठकमा बाबुरामले खुलाए जसपाबाट अलग्गिनुको कारण
फोटो : न्युज एजेन्सी नेपाल

काठमाडौं : नवगठित नेपाल समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनता समाजवादी पार्टी, नेपाल (जसपा) जातीय/क्षेत्रीय संकीर्णताको बाटोमा पतन हुने अवस्था आएपछि 'नयाँ पार्टी पुनर्गठन' गर्नु परेको बताएका छन्। भट्टराईले जसपाले देश र जनताको हित गर्न नसक्ने र यो पार्टी जातीय/क्षेत्रीय संकीर्णताको बाटोमा जाने निष्कर्षसहित आफूहरुले मुलुकको बैकल्पिक राजनीतिक शक्ति निर्माणको ध्येय पूरा गर्न अघि परेको बताएका हुन्।

ललितपुरको बालकुमारीमा शनिवार सुरु भएको पार्टी केन्द्रीय समितिको प्रथम बैठकमा उनले पार्टीको वैधानिकतालाई पूरा गर्दै आगामी कार्यभार तय गर्ने बैठकको मूल एजेन्डा रहेको बताए।

उनले भने, ‘यो केन्द्रिय समितिको हाम्रो मुख्य उद्देश्य भनेको पुनर्गठित यो पार्टीको वैधानिकतालाई पूरा गर्ने र त्यसपछि विभिन्न पक्षहरुसँग राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थितिको समेत आँकलन गर्दै आगामी दिनको कार्यभार तय गर्ने हो। हामी एउटा नयाँ इतिहास रच्ने हिम्मत र आँट सुरु गरेको छौं। नयाँ काम जहिले पनि अप्ठ्यारो हुन्छ। तर, अप्ठ्याराहरुसँग जुधेर मात्रै रुपान्तरणकारी कामहरु गर्न सकिन्छ सजिलो बाटो त जो पनि हिँड्छ। समस्याहरुको समाधानका निम्ति असजिलो बाटो हिँडने हिम्मत र साहस गर्नुपर्छ।’

नेता भट्टराईले आगामी निर्वाचनमा नजिकका विचार मिल्ने राजनीतिक शक्तिहरुसँग चुनावी तालमेल र गठबन्धनका लागि प्रयास गर्ने पनि बताए। जनताका मुद्दाहरुलाई चुनावको क्रममा महत्वपूर्ण ढंगले उठाउने उल्लेख गर्दै उनले ती विषयहरुमा गम्भीर छलफल गरी पार्टीको कन्द्रीय समिति बैठकले आवश्यक निर्णय लिने बताए।

भट्टराईले भने, ‘हामी सदन, सडक र सरकार अर्थात सडक संघर्ष, चुनावी संघर्ष र सरकारमा गएर पनि गरिने सुधारात्मक काम यी सबैको संयोजनबाट मात्रै हामीले अगाडि सारेको समावेशिता, संघीयता, सुशासन, समृद्धि समाजवादको लक्ष्य प्राप्त हुन सक्छ भन्ने हाम्रो मान्यता छ। त्यस अनुरुप जुन हाम्रो आगामी निर्वाचन छ, यसबारेमा पनि हामीले यो बैठकमा गम्भीर छलफल गरेर यसलाई कसरी हामीले प्रयोग गर्ने यसको निम्ति हामी एक्लै अगाडि बढेर हुन्छ या विचार मिल्ने नजिकका शक्तिहरुसँग सहकार्य गरेर हुन्छ, त्यसबारेमा पनि हामी गम्भीर विचार विमर्श गर्नेछौं। र, त्यसको आधारमा हामीले निष्कर्ष निकाल्नेछौं।’

भट्टराईले आफ्नो पार्टीले समावेशिता, संघीयता, सुशासन, समृद्धि र समाजवादको लक्ष्य प्राप्त हुन सक्छ भन्ने मान्यता अघि सारेको उल्लेख गर्दै त्यसलाई पूरा गरी मुलुकको बैकल्पिक राजनीतिक शक्ति बन्ने विश्वास समेत व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell