PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गर्भमै भाग्य निर्धारण गर्ने 'छोरा'हरु : देखिन्छ विभेदको विचित्रको चित्र



रिना थापा

गर्भमै भाग्य निर्धारण गर्ने 'छोरा'हरु : देखिन्छ विभेदको विचित्रको चित्र
PHOTO: DRAGON IMAGES/SHUTTERSTOCK.COM

पोखरा : बिरामी भएको बताउँदै बिदा लिएकी पोखराको एक संस्थामा काम गर्ने महिला त्यसै दिन साँझ हँसिलो अनुहार लिएर कार्यालय फर्किइन्। उनको हँसिलो अनुहार पछाडि पीडाको गम्भीर राज पनि थियो। खुशीको कारण थियो गर्भमा रहेको छोरा।

घरबाट निस्किँदा 'छोरी भए फर्किएर नआउनु' भन्ने श्रीमानको वचनले उनलाई सताएको थियो। यसर्थ उनी खुशी थिइन् - गर्भमा रहेको छोराले परिवारसँगको साथ जोगाइदिएको थियो। नजन्मिँदै छोरोको प्रभाव अनुभूति गरिन्। गर्भबाटै उनको भाग्य रेखा बदलियो।

यसपटक गर्भ बस्नु अगाडि उनको दुवै सन्तान छोरी। घरमा छोराको मोह। पहिलो सन्तान भएकै कारण छोरी भए पनि परिवारले चित्त बुझाए। दोस्रो गर्भ रहँदा लिङ्ग पहिचान गर्न पुगेका दम्पतीले छोरी भएकै कारण दुर्ईपटकसम्म गर्भपतन गराएका थिए। त्यसपछि पुन: गर्भ रहँदा दम्पतीलाई डाक्टरले छोरा छ भनेर भनिदियो। तर, जन्मिँदा छोरी रहिछिन्। छोरीको जन्म भएको १५ दिनसम्म श्रीमान घर नै आएनन्। सुत्केरी हुँदा पाउनु पर्ने भावनात्मक साथ त परको कुरा उनले परिवारबाटै हेय सहनुपर्‍यो उनले। दुई सन्तान छोरी भइसकेपछि पनि परिवारमा छोराकै मोहले फेरि गर्भवती भइन् उनी। गर्भ रहेसँगै लिङ्ग पहिचान गर्न जानुपर्ने बाध्यता। लिङ्ग पहिचान गरी उनले पुन: दुई पटकसम्म गर्भपतन गरेर शारीरिक र मानसिक पीडा सहनुपर्‍यो। पाँचौ पटक लिङ्ग पहिचान गर्न जाँदा श्रीमानले भनेका हुन् - ‘छोरी भए सेतीमा हामफालेर मर्नु।’

पाँचौं पटकमा उनको गर्भमा छोरा रह्यो। जसको खुशी झल्किएको थियो उनको अनुहारमा। राहतको साससँगै पीडा चाहिँ आँसुबाट छल्किएको थियो उनको। 

+++

छोराकै मोहमा एक दम्पती सोनोग्राफी गर्न अस्पताल पुगे। सन्तानको रुपमा पहिलो बच्चा हुँदै थियो उनीहरुको। अस्पतालमा डाक्टरले गर्भमा छोरा छ भनिदिए। गर्भवती महिलाको श्रीमान र परिवारको खुशीको सीमा थिएन। त्यसपछि त हेरचाह र ख्याल पनि विशेष नै भयो। पछि, जन्मिँदा जे सोचेको त्यो भएन, छोरी जन्मिइन्। छोरीको जन्मसँगै परिवारको व्यवहार एकाएक परिवर्तन भयो।

+++

केही समय अगाडि पोखराको एक निजी क्लिनिकमा एक दम्पती गर्भपतन गराउन आए। लिङ्ग पहिचान गरेर गर्भपतन गराउन चाहन्थे उनीहरु। त्यो दम्पतीलाई चिकित्सकले फकाईदिए।

‘लिङ्ग छनोट गरेर गर्भपतन गर्न चाहने आउनुहुन्छ। हाम्रो यहाँ त्यसरी गरिँदैन हामी फकाईँदिन्छौँ। यस्ता घटना नभएको होइन हुन्छन्,’ ती चिकित्सकले भनिन्।

सरकारी अस्पतालमा पनि त्यसरी लिङ्ग पहिचान गरेर गर्भपतन गराउने चाहनेहरु पुग्छन्। तर, सरकारीभन्दा निजीमा हुन्छ धेरैको यस्तो भिड। सरकारी अस्पतालमा यस्ता घटनालाई मध्यनजर गरेर सर्तकता अपनाएको भेटिन्छ। उसो त, यसरी गर्भपतन गराउन चाहने दम्पतीले फरक-फरक अस्पताल रोज्ने गरेको चिकित्सकहरुको अनुभव छ।

सरकारले गर्भपतन गर्नका लागि कानुनी मान्यता दिए पनि लिङ्ग पहिचान गरेर हुने गर्भपतन गर्न भने निषेध छ। १२ हप्ता कटिसकेपछि लिङ्ग पहिचान गरेर गर्भपतन गराए कानुनी कारवाही हुन्छ। यद्यपि, लिङ्ग पहिचान गरेर गर्भपतन गराउनेको संख्या लगातार बढिरहेकै छ। तोकेको अवधिभित्र सरकारी र निजी दुवै अस्पतालमा सुरक्षित गर्भपतन गराउन पाइन्छ।

‘कास्कीमा बढी’

बालबालिका तथा महिलाका क्षेत्रमा कार्यरत संस्था सिविनले दुईवर्ष अगाडि गण्डकी प्रदेशका पाँच जिल्लामा लिङ्ग छनौट गरेर गरिने गैरकानुनी गर्भपतन विषयमा अध्ययन गरेको थियो। अध्ययनमा यसरी गर्भपतन गराउनेको संख्या बढी कास्की जिल्लामा रहेको सिविन पोखराका प्रमुख शंखर खनाल बताउँछन्।

‘पाँचवटा जिल्लामा सर्भे गरिएको थियो। कास्कीमा बढी देखियो। दुईवटा छोरी भएपछि छोरी नै हुन्छ कि फेरि भनेर हेरेर गोप्य रुपमा यी कुरा भइराखेको छ। बागलुङ, पवर्तका, म्याग्दी लगायतका जिल्लाबाट पोखरा आएर लिङ्ग छनोट गरेर गर्भपतन गराउने देखियो,’ प्रमुख खनालले भने।

यस्ता घटना गोप्यरुपमा भइराखे पनि बाहिर आउन नसकेको उनको भनाइ छ। पीडित नै बोल्न नसक्ने र नचाहेपछि अपराध बाहिर नआएको उनी बताउँछन्।

‘श्रीमती पीडित हुन्छन्। दबाब सासु, नन्द आमाजूले दिन्छन्। कुरा दबाउँछन्। कसले भन्ने? पीडित आफैँ नबोलेपछि,’ उनले भने।

अध्ययनले के देखाएको छ?

नेपालमा सन् २०१२ मा यूएनएफपीएले गरेको अध्ययन अनुसार नेपालमा पहिलो बच्चा छोरा वा छोरीमा कुनै प्राथमिकतामा नभए पनि दोस्रो बच्चा छोरा नै हुनु पर्ने चाहना राख्ने महिलाको संख्या प्रतिशत ४४ छ। त्यस्तै गर्भपतन गराउने महिलाहरुमध्ये १२ प्रतिशतले लिङ्ग पहिचान गरेर गर्भपतन गरेको पाइएको अध्ययनले देखाएको छ। 

यस्तै, कृपाले सन् २०१५ मा यससम्बन्धी १४ वटा भन्दा बढी जिल्लामा अध्ययन गरेको थियो। जसमध्ये कास्की र तनहुँ जिल्लामा पनि यसबारे अध्ययन भएको थियो।

‘प्रजनन र स्वास्थ्य अनुसन्धान संक्षिप्त २०१५’ कृपाले प्रकाशन गरेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ, ‘नेपालमा यौन छनोट गर्ने प्रचलन केही क्षेत्रहरूमा अत्यधिक प्रचलित छ, जसमा केही जिल्लामा पछिल्लो ५ वर्षमा १० बालिकाको जन्म ‘बेपत्ता’ भएको छ। लिङ्ग छनोट गरेर गरिने गर्भपतन हस्तक्षेप बिना फैलिने क्रम जारी रहनेछ।’

कृपाले अध्ययन गरेका जिल्लाहरुमा सर्वसाधारणसँगै विभिन्न सरोकारवालाहरुसँग अन्तरवार्ता लिइएको थियो। त्यस समय हरेक व्यक्तिले  एउटा कुरा दोहोर्‍याएर भनेका थिए – यदि पहिलो बच्चा छोरी छ भने दोस्रो बच्चा अनिवार्यरुपमा छोरा हुनुपर्छ।

गण्डकीमा गैरकानुनी गर्भपतनका जम्मा १० घटना दर्ता

चिकित्सक र संघ संस्था प्रमुखका भनाइलाई आधार मान्ने हो भने कास्कीमा लिङ्ग छनोट गरेर गरिने गर्भपतनले भयावह रुप लिँदै गइरहेको छ। तर, गण्डकी प्रदेश प्रहरी कार्यालयले दिएको त्रीवर्षीय तथ्याङ्कक हेर्दा भने गर्भपतन सम्बन्धी जम्मा १० घटना दर्ता भएका छन्। प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीले दिएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा कास्कीमा ३, तनहुँमा १ र बागलुङमा १ गरी ४  यस्ता घटना दर्ता भएका छन्। यस्तै, २०७७/०७८ मा तनहुँमा १, पवर्तमा १ र म्याग्दीमा १ गरी ३ घटना दर्ता भएका छन्।

जोशीका अनुसार पर्वत र म्याग्दीमा दर्ता भएको घटना एउटै हो। त्यस्तै, २०७८/०७९ मा कास्कीमा १,बागलुङमा १ र म्याग्दीमा १ गरी तीन घटना दर्ता भएको प्रमुख जोशीले जानकारी दिए।

दर्ता भएका केही घटना भने ठ्याक्कै लिङ्ग छनोट गरेर गरिने गर्भपतनको पनि छैन। लिङ्ग छनोट गरेर गरिने गर्भपतन गैरकानुनी मानिन्छ। तर, गैरकानुनी गर्भपतनमा ठ्याक्कै सोही प्रकृतिको घटना दर्ता नहुन पनि सक्छ। जस्तो कि जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार २०७६ सालमा रुपा गाउँपालिकामा श्रीमानले चार महिनाको गर्भवती श्रीमतीलाई सिलोटको पन्युले ताकेर हान्दा गर्भमा रहेको बच्चको मृत्यु भयो। यस्ता प्रकृतिका घटना पनि यस तथ्यांकमा समावेश छ।

यस्तै, विभिन्न संघसंस्थाले यसबारे अध्ययन गरे पनि यथार्थ तथ्य भने भेटिँदैन। केही घटनामा पीडित आफैँ परिवारको डरले खुल्न नचाहने संस्थाका प्रमुखहरु सुनाउँछन्। पछिल्लो समय यसबारे विस्तृत रुपमा अध्ययन पनि भएको छैन। जसकारण घटना के-कसरी बढी रहेको छ वा न्यून भइरहेको छ थाहा पाउन गाह्रो रहेको कृपाका प्रमुख अन्नत तामाङ सुनाउँछन्। उनका अनुसार सेवा दिने व्यक्तिले नै यस्ता कुरा गोप्य राखिदिनाले घटना बाहिर आउने नसकेको हो।

‘कानुन कडा छ त्यसैले लुकीछुपी गर्छन्। उजुरी पर्ने कुरामा चाहिँ बेसिकली सेवा दिने व्यक्तिले पनि गोप्यरुपमा यस्तो काम गर्छ। गर्भपतन गर्ने क्रममा स्वास्थ्यमा माथि तल भयो कम्प्लिकेसन भयो भनेमात्र उजुरी हुने, घटना बाहिर आउने हो। नत्र यो लुकीछुपी गर्ने हुनाले यसबारे अध्ययन गर्नु पनि गाह्रो छ,’ उनले भने।

लिङ्ग छनोट गरेर गर्भपतन किन हुन्छ?

अध्ययनले पहिलो सन्तान छोरी भए पनि दोस्रो सन्तान छोरा अनिवार्य हुनुपर्ने इच्छा परिवारले राखेको देखाउँछ। जसले गर्दा पनि लिङ्ग छनोट गरेर गर्भपतन भइरहेको जानकार बताउँछन्। जसलाई न्यूनिकरण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले दश वर्षीय राष्ट्रिय रणनीति पनि बनाएको छ। ‘विभेदपूर्ण लिङ्ग छनौटको अन्त्यका लागि राष्ट्रिय रणनीति २०७८-२०८८’ गत वर्षको वैशाख २० गते स्वीकृत भएको थियो।

यस बाहेक स्थायी समाधानका लागि महिलाको हक सुनिश्चित गर्न आवश्यक रहेको प्रमुख अन्नत बताउँछन्।

‘कन्ट्रोल गर्नको लागि क्लिनिक र महिलालाई सजाय दिएर यसको अन्त्य हुँदैन। यसको लागि यो लिङ्ग पहिचान गर्ने स्थिति किन पुग्यो त? छोराको चाहन किन भएको? बुझनुपर्‍यो,’ उनले भने, ‘छोरा र छोरी दुवैलाई हक अधिकार समान दिनुपर्छ। पितृसत्तामक समाजले गर्दा छोराप्रति चाहाना भएको हुनाले छोरीलाई कोखबाटै अन्त गर्न चाहने प्रवृत्ति छ।’

अन्नतको जस्तै धारण राख्छिन् कोपीला नेपालकी प्रमुख बिना सिलवाल पनि। पितृसत्तामक सोचका कारण छोराको महत्व समाजमा बढी भएको उनले सुनाइन्।

‘विभिन्न कार्यक्रम र फोरममा देखि जति ठाउँमा जान्छौं यस्ता लिङ्ग छनोट गरेर गरिने गर्भपतनका कुरा सुन्छौँ। यसको मुख्य कारण भनेको पितृसत्तात्मक सोच नै हो। धर्मको लागि पनि छोरा चाहिन्छ कर्मको लागि पनि छोरा चाहिन्छ मरे पछि पनि काजक्रिया गर्दा छोरा चाहिन्छ भन्ने संस्कारले नै सिकाएको छ,’ उनले भनिन्।

पैत्रिक सम्पत्तिमा छोरीको अधिकार नहुनु र छोरीको कमाइ परिवारले खान हुँदैन भन्ने संस्कारले पनि छोराको मोह बढाएको सिलवालको भनाइ छ।

‘आफूहरुले पूरा गर्न नसकेको सपना छोराले पूरा गर्नुपर्छ भन्ने धारणा पुस्तौंदेखि हाम्रो संस्कारमा रहँदै आएको छ। छोराले कमाएर पाल्छ भन्ने छ,’ उनले भनिन्, ‘यसका लागि जनचेतना हुनुपर्‍यो। छोरीलाई पैत्रिक सम्पत्तिको अधिकार दिनपर्‍यो। छोरीको कमाइ खानु पाप होइन भन्ने संस्कार विकास गर्नुपर्‍यो।’

गण्डकीमा सर्जिकल गर्भपतन गराउनेको संख्या भने न्यून

गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७५/०७६ मा २० वर्षभन्दा कम उमेर समूहकाले औषधी प्रयोग गरेर गरेको गर्भपतन ७९९ छ। जसमध्ये सबैभन्दा बढी कास्की जिल्लामा २४२ छन्। सो संख्या २०७६/०७७ मा घटेर ६७४ भएको थियो भने २०७७/०७८ मा ७९८ भएको छ। यस्तै २०७८/७९ मा ५०६ छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको तथ्यांक अनुसार कानुनीरुपमा औषधी प्रयोग गरेर गण्डकीमा २० वर्षभन्दा माथिको उमेर समूहको संख्या २०७५/०७६ मा ९ हजार ९७ छ। यस्तै, २०७६/७७ मा  ९ हजार २४९ छ भने २०७७/७८ मा ८ हजार ५९५ छ। आर्थिक वर्ष २०७८/७९मा  ८ हजार ५५१ जना छन्।  निर्देशनालयले उपलब्ध गराएको आर्थिक वर्ष २०७८/०७९ को तथ्यांक भने प्रारम्भिक हो।

त्यस्तै, प्रदेशमा सर्जिकल गर्भपतन गर्नेको संख्या भने औषधी सेवन गरेर गर्नेभन्दा कम छ। आर्थिक वर्ष २०७५/०७६ मा २० वर्षभन्दा कम उमेर समूहका ७९३ महिलाले सर्जिकल गर्भपतन गराएका छन्। २०७६/०७७ मा २३१ जनाले गर्भपतन गराएका थिए भने २०७७/७८  मा २५८ जनाले। २०७८/७९ मा मात्र २४७ जनाले गर्भपतन गराएका थिए। यसमा पनि कास्कीको संख्या बढी छ।

शल्यक्रिया मार्फत् २० वर्षभन्दा माथिको उमेर समूहले गर्भपतन गराउनेको संख्या  २०७५/०७६ सालमा ३ हजार ३५८ जना छ भने २०७६/०७७ मा २ हजार ५३७ जनाले गर्दा २०७७/०७८ मा १ हजार ६५३ जनाले । त्यस्तै, २०७८/७९ मा २ हजार २५२ जनाले गर्भपतन गरेका छन्।

चार वर्षीय तथ्यांक हेर्दा गर्भपतन गराउनेको संख्या बढी कास्कीमा छ। कास्की जिल्लामा आर्थिक वर्ष २०७५/७६ मा २४२ जना, २०७६/०७७ मा २०२, २०७७/०७८ मा २४०, २०७८/०७९ मा १६२ जनाले २० वर्षभन्दा कम उमेर समूहकाले औषधी सेवन गरेर गर्भपतन गराउँदा २० वर्षभन्दा माथिका उमेर समूहले महिलाले २०७५/०७६ मा २३ सय ९९ जना, २०७६/०७७ मा १ हजार ९८९ जना, २०७७/०७८ मा १ हजार ६७० जना, २०७८/०७९ मा २ हजार २० जनाले गर्भपतन गराएको तथ्यांक छ।

यस्तै, जिल्लाभित्र २० वर्षभन्दा कम उमेर समूहका महिलाले शल्यक्रियाबाट गर्भपतन गराउनेको संख्या आर्थिक वर्ष २०७५/०७६ मा ६६१ छ भने २०७६/०७७ मा १५८ जना। जून संख्या २०७७/०७८ मा घटेर १४१ भयो भने २०७८/०७९ मा २०७ छ। यस्तै २० वर्षभन्दा माथिका २ हजार ६४ जना महिलाले २०७५/०७६ मा गर्भपतन गराएको निर्देशनालयको तथ्यांकले देखाउँछ। यस्तै, २०७६/०७७ मा १ हजार ४५३ जनाले, २०७७/०७८ मा ८७२ जना र २०७८/०७९ मा १ हजार ३३० जनाले शल्यक्रियाबाट गर्भपतन गराएको तथ्यांकले देखाउँछ।

लैङ्गिक अनुपात कस्तो छ गण्डकीमा ?

सामान्य अवस्थामा प्रति एकसय बालिकाको जन्म हुँदा १०५ बालकको जन्म हुनुपर्छ। यदि, बालिका भन्दा बालकको बढी जन्म भयो भने त्यसले लिङ्ग छनोट गरेर गरिने गर्भपतनको संकेत पनि गर्छ। जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार भने नेपालको जनसंख्या पुरुषको भन्दा महिलाको बढी छ। यसले लैङ्गिक अनुपात ९५.९१ रहेको देखाउँछ। जून पछिल्लो समयको भन्दा १ प्रतिशतमा बढेको हो। पछिल्लो जनगणना २०६८ सालमा लैङ्गिक अनुपात ९८.१६ थियो।

यस्तै प्रारम्भिक तथ्यांक अनुसार गण्डकीमा लैङ्गिक अनुपात ९०.८५ प्रतिशत छ। अन्य सात प्रदेशको तुलनामा लैङ्गिक अनुपातको दर सबभन्दा कम सुदूपश्चिममा ९०.४९ हुँदा बढी मधेश प्रदेशमा १००.९९ प्रतिशत रहँदा गण्डकी यसरी कम हुनेमा दोस्रो नम्बरमा छ।

त्यस्तै, सातै प्रदेशमध्ये सबैभन्दा कम जनसंख्या वृद्धिदर पनि गण्डकी प्रदेशकै छ। पछिल्लो दश वर्षमा गण्डकीको जनसंख्या जम्मा ३.१६ प्रतिशतले बढेको छ। वार्षिक जम्मा ०.३० प्रतिशतको दरले गण्डकीको जनसंख्या वृद्धि भएको देखिन्छ। यो तथ्यांक सातवटै प्रदेशमध्यको सबैभन्दा कम हो। प्रारम्भिक नतिजा अनुसार गण्डकीमा लैङ्गिक अनुपात ९०.८५ प्रतिशत भए पनि उमेर समूह अनुसार विवरण आइसकेको छैन। जसकारण समाजको चित्रण गर्न नमिल्ने तथ्यांक कार्यालय कास्कीका प्रमुख जगुलाल बस्याल बताउँछन्।

‘विश्वभर नै एकसय महिला हुँदा १ सय पाँच बालकको जन्म हुन्छ भन्ने छ। भुगोल अनुसार पनि फरक पर्छ। यस्तो यू सेप हुन्छ। महिला र पुरुष बराबर हुनु भनेको राम्रो पनि हो,’ उनले भने, ‘नपुगेको कुन एज गुप्रको हो? एज अनुसार हेर्‍यो भने समाजको प्रतिनिधित्व देखिन्छ। समाज कस्तो छ त्यसले देखाउने हो। कुन एज ग्रुपको महिला बढी छन् त्यसले पनि फरक पार्छ। एज ग्रुपको पपुलेसन आइसकेको छैन। त्यो हेरिसकेपछि बल्ल थाहा हुन्छ हाम्रो समाज कसरी गइराखेको छ भन्ने।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell