काठमाडौं : नेकपा (एमाले)का सांसद योगेश कुमार भट्टराईले वर्तमान सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यावसायिक बीमाको रुपमा बुझिरहेको आरोप लगाएका छन्। आइतवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन्।
सांसद भट्टराईले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यावसायिक नबनाइ सामाजिक सुरक्षाको स्वास्थ्य बीमा बनाउनुपर्ने बताए। उनले स्वास्थ्य बीमाको दायरा पनि बढाउन आवश्यक रहेको भन्दै १ लाखबाट अब १० लाख बनाउनुपर्ने बताए।
वर्तमान सरकारले ६ अर्बभन्दा बढी कोरोनाको बीमा रकम भुक्तानी गर्न आनाकानी गरिरहेको उनले आरोप लगाए। उनले सत्तारुढ पाँचदलीय गठबन्धन सरकारलाई पञ्चमुखी सरकारको संज्ञा दिए।
उनले गंगालाल अस्पतालमा ६० वर्षे उमेरहदका कारण सेवानिवृत्त गर्नुपर्ने डाक्टरका लागि स्वास्थ्यमन्त्रीको अध्यक्षतामा प्रधानमन्त्रीको निर्देशनमा ६३ वर्षको उमेर हद गर्नेगरेर नियमावली संशोधन गरिएकोप्रति आपत्ति जनाए।
सांसद भट्टराईले भने, ‘गंगालालमा भोलि एक डाक्टरको ६० वर्षको उमेरहदले समय सकिँदै थियो, प्रधानमन्त्रीजीको निर्देशनमा शनिवारमात्रै स्वास्थ्यमन्त्रीको अध्यक्षतामा बैठक बसेर ६३ वर्षको उमेर हद गर्ने गरेर नियमावली संशोधन भएको छ, म यो पञ्चमुखे सरकार, पञ्च टाउके सरकारलाई सोध्न चाहन्छु, एउटा मात्रै प्रधानमन्त्री हुनुहुन्न, कुर्सी एउटा छ र ४ जना डिफ्याक्टको प्रधानमन्त्री भएको सरकार यति बहादुर छ, उसले चाहे ६३, चाहे ८० वर्ष गर्नसक्छ।’
सांसद भट्टराईले सेवानिवृत्त भएका डाक्टरहरुलाई सेवामा राखिराख्न बहादुरी सरकारले नागरिकता नै ४० वर्ष बनाइदिन भन्दै गठबन्धन सरकारप्रति व्यंग्य गरे।