PahiloPost

Jul 3, 2024 | २० असार २०८१

विदेशिने खेलाडीको ग्राफ उकालो लाग्दा खेलकुदमा बहस : करोडपतिका छोराछोरीमात्र जान मिल्ने?



पहिलोपोस्ट

विदेशिने खेलाडीको ग्राफ उकालो लाग्दा खेलकुदमा बहस : करोडपतिका छोराछोरीमात्र जान मिल्ने?

काठमाडौं : पछिल्ला केही महिना नेपाली खेलाडी विदेशिने ट्रेन्ड ह्वात्तै बढेको छ। विदेशिनेमा फुटबलको राष्ट्रिय जर्सी लगाइरहेका खेलाडीदेखि पौडी, टेबलटेनिस, फेन्सिङलगायतका खेलाडी छन्। हरेक राष्ट्रले खेलकुदलाई आफ्नो प्रतिष्ठाको रुपमा अँगाल्दा नेपालले भने त्यसको लाभ उठाउन सकेको छैन। जसको परिणाम खेलाडी विदेश पलायन हुने क्रम ह्वात्तै बढेको हो।

राजनीतिक अस्थिरता र खेलकुद क्षेत्रमा राजनीतिको हालीमुहालीले खेलाडीको भविष्य अन्योल हुँदा उनीहरु पलायनको बाटो रोजिरहेको खेल विश्लेषकको तर्क छ। तर राज्यले खेलाडी पलायन रोक्न कुनै नीति ल्याउन सकेको छैन। यसले वर्तमान पुस्तालाई असर त गरेको छँदैछ,सँगै खेलकुद क्षेत्रको पनि भविष्य धराप बन्दै गएको छ।

केही दिनअघि मात्रै राष्ट्रिय फुटबल टिमका सदस्य सन्तोष तामाङ नेपालमा खेलकुदमा भविष्य सुनिश्चित नहुने ठानेर अस्ट्रेलिया पलायन भए। यो एउटा आलो घटना हो। तर योबाहेक पनि धेरै राष्ट्रिय खेलाडी नेपालको खेल क्षेत्रमा आफ्नो भविष्य नदेखेर विदेश पलायन भइरहेको घटना छन्। नेपाली फुटबलका विमल राना, हेमन्त थापा मगर, नेपाली राष्ट्रिय क्रिकेटका वसन्त रेग्मी, पृथु बास्कोटा, नरेश बुढाऐर, राष्ट्रिय भलिबलकी रमिला तण्डुकारलगायत विभिन्न एकल विधाका खेलाडीहरु विदेश पलायन भइसकेका छन्। नेपाली राष्ट्रिय फुटबल टोलीबाट पछिल्लो गोल गर्ने दर्शन गुरुङ र आषिश लामा पनि विदेश भाँसिइसकेका छन्।

 यसको पछाडिको कारण खेलकुदको राजनीतिसँग जोडेर हेर्छन् खेलकुद विज्ञ सुनिल नरसिंह राणा।

'जतिसुकै राजनीति छैन भने पनि खेलकुदमा राजनीति हावी छ। तल्लो स्तरदेखि माथिल्लो तहसम्म राजनीति हावी छ। खेलकुदमा जीवन अर्पण गरेको प्रोफेसनल मान्छेहरु खेलभन्दा टाढा छन्। उनीहरुले टुलुटुलु हेर्नुको विकल्प छैन। खेलाडी पलायनको खबरहरु दिन प्रतिदिन सुनिरहनुपर्ने अवस्था छ,' उनले भने, 'प्रोफेसनल मानिसहरु कुनै ठाउँमा छैनन्। नेतृत्वमा आउने मान्छे पनि प्रोफेसनल भएन, उसलाई साथ दिने मान्छे पनि राजनीति पछिबाट जोडिएको छ। विगतलाई हेर्दा कुनै पनि संघको कार्यक्रमको क्यालेन्डर निश्चित हुन्थ्यो। तोकिएको समयमा खेल हुन्थे। खेलाडीले मिहिनेत गर्थे, खेलाडी बाँधिन्थे। अहिले सबतिर अन्योल नै अन्योल छ।’

पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा नेपाली खेलकुदमा राजनीति बढी हावी भएको सर्वत्र दृष्टान्त छन्। अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता सहभागिताका हुन लाग्दा खेलाडी राजनीतिको चपेटामा परेको घटना पनि उत्तिकै बाहिरिएका छन्। खेलकुदलाई राज्यले हेर्ने दृष्टिकोण दूरगामी र प्रभावकारी बन्न नसक्दा वर्षौंसम्म खेलकुदमा लागेका खेलाडीले विकल्प रोज्न थालेका हुन्। उनीहरुको वैकल्पिक रोजाई विदेश बन्ने गरेको छ।

विदेश पलायनको बाटो रोजिरहँदा खेलाडीहरुले करियर नै टुङ्गाउनेतिर समेत लागेका कतिपय उदाहरण छन्। यसले वर्तमान पुस्तालाई असर गरेकै छ, साथै भविष्यका लागि पनि नकारात्मक छाप पर्ने निश्चित छ। नेपाली खेलकुदलाई नियालिरहेका खेलविज्ञ सुशिल नरसिंह राणाले आशा नभएपछि खेलाडीले विकल्प खोज्नु बाध्यत्मक परिस्थित रहेको बताउँछन्। राणाले खेलकुदमा राजनीति हावी हुनुले नकारात्मक असर परेको तर्क गर्छन्। नेपाली हरेक खेलाडीसँग आफ्नो नाम र प्रतिष्ठाको कुरा रहेकोले पनि खेलाडीहरु पैसामा नदौडिने गरेको तर पछिल्लो समय खेलमा राजनीति हावी हुँदा समग्र खेलकुद क्षेत्रमा नै नकारात्मक असर परेको बताए। विदेश पलायन भइरहेका खेलाडीलाई रोक्नेका लागि वर्षभर व्यस्त रहने खेलतालिका र योजना सहितका कार्यक्रम ल्याएमा खेलाडीले विकल्पको रुपमा विदेश नरोज्ने खेलविज्ञ राणा बताउँछन्।

‘आशा नभएपछि पलायन हुनु ठूलो विषय होइन। उनीहरुका लागि बाँध्ने संयन्त्र राज्यस्तरबाट छैन। खेलाडीलाई सबै महिना व्यस्त बनाउने संयन्त्र राज्यस्तरबाट हुनसकेको छैन। नेपाली खेलाडी पैसाको मात्र लागिभन्दा पनि नाम, इज्जत र प्रतिष्ठाको लागि पनि खेल्छन्,' राणाले भने, 'यस्ता खेलाडीहरु धेरै छन्। यस्तो वातावरण उपलब्ध नहुने अवस्था अहिले छ। जुन सेवा सुविधा अत्यावश्यक र न्यूनतम आवश्यकता हुन्। यसको पछाडि राजनीति हावी हो।'

राज्य स्तरबाट खेलाडीहरुको सामाजिक सुरक्षाका लागि प्रभावकारी योजना बुन्न नसकेको यथार्थ हो। विभागले केही हदसम्म खेलाडीलाई रोजगारीको निश्चितता गरेर टिकाउने प्रयास गरिरहेका छन्। अहिले तीन विभागले धानेको नेपाली खेलकुद अड्किएको छ भन्दा फरक नपर्ला। त्यस बाहिरका खेलाडीको अवस्था दयनीय बन्दै गएको छ। नेपाली खेलाडीले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता भनेको ओलम्पिक, एशियन गेम्स, दक्षिण एशियाली खेलकुद हुन्। यी प्रतियोगिता सहभागिताका लागि उपयुक्त किसिमको प्रतिष्पर्धात्मक प्रतियोगिताको अभाव छन्।

तय भएका राष्ट्रिय प्रतियोगिता पटकपटक सर्दै खेलाडीको तयारी व्यर्थ हुने गरेका छन्। तर अहिले विगत र अहिलेको अवस्थामा फरक भएको भन्दै खेलविज्ञ राणाले खेलकुद क्षेत्रमा लागेका खेलाडीलाई सेवा सुविधा दिनुपर्ने बताए। विगतको अवस्थाभन्दा अहिले खेलाडीलाई निजी स्तरबाट आयोजना हुने प्रतियोगिताबाट आर्थिक आर्जन गर्ने अवस्था फराकिलो भएको भएपनि दीर्घकालिन नभएको उनको बुझाई छ। राज्य स्तरबाट कुनैपनि खेलाडीको करियर पश्चात भविष्य सुनिश्चिताको व्यवस्था भए खेलाडी विदेश पलायन हुनबाट रोकिने राणाले बताए।

नेपाली खेलकुदमा विश्व स्तरका भौतिक पूर्वाधारको अभाव छ। सँगै खेलाडीका लागि पर्याप्त सुविधा पनि छैन। भविष्यको प्रत्याभुति नहुँदा धेरै र राम्रा खेलाडीहरु विदेश पलायन भइरहेका हुन। र यो क्रम बढ्ने क्रममा रहेको हो। कराँतेबाट नेपाली खेलकुदलाई धेरै पटक पदक दिलाएका दीपक श्रेष्ठले विगतमा खेलाडीलाई उपलब्ध गराईने सेवा सुविधा र अहिलेका खेलाडीलाई उपलब्ध गराइने सेवा सुविधा तुलना गर्दा धेरै फरक भएकाले खेलाडी टिकाउन मुस्किल भएको बताउँछन्। श्रेष्ठले विगतमा राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई सम्बन्धित संघले जागिर दिने व्यवस्था भए पनि अहिले त्यो अवस्था नहुँदा कतिपय खेलाडीले विदेश जाने बाटोको रुपमा खेल छोड्ने गरेको बताए। नयाँ खेलाडीलाई टिकाउने आधार राज्य स्तरबाट बाउनुपर्ने आवश्यकता रहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहेका दीपक श्रेष्ठले बताए। राज्य स्तरबाट खेलाडीलाई टिकाउनका लागि उच्च स्तरबाट नै योजनाहरु बनाएको अवस्थामा खेलाडी पलायन रोक्नसकिने पूर्व खेलाडी श्रेष्ठ बताउँछन्।

‘नयाँ खेलाडीलाई टिकाउने आधार राज्यबाट निर्माण गर्नुपर्छ। विगतमा राम्रो नतिजा ल्याउने खेलाडीलाई जागिरको व्यवस्था हुन्थ्यो र हामी अहिले यो अवस्थामा छौं। तर अहिले फरक छ,' उनले भने, 'आठौं साफ अघि राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई आफ्नो खेलमा स्वरोजगारको अवसर थियो। आफू भिजेको खेलमा जोडिन पाउँदा भविष्य निश्चित थियो। तर १२ औं साफपछि त्यो अवस्था रहेन। अहिलेका खेलाडीले खेलेर के पाउने त? भोलि व्यवहारिक अवस्थामा जानुपर्ने हुन्छ। उर्वर समय व्यतित गरेपछि भविष्यको अन्योलताले खेलाडी पलायन भइरहेका छन्।'

नयाँ खेलाडी आफूले चाहेको देशमा जानका लागि खेलकुदलाई माध्यम बनाइरहेको अवस्था छ। यसलाई न्यूनीकरण गर्न राज्यस्तरबाट खेलाडी रोक्ने योजनाहरु आवश्यक छ।

राष्ट्रिय खेलकुद परिषद्ले सीमित खेलाडीलाई खेल जीवनपछि प्रशिक्षक वा कर्मचारीका रुपमा रोजगारी दिँदै आएपनि यसले समग्र खेलाडीको सम्बोधन गर्न सकिरहेको छैन। यसबाहेक विभागीय टोलीले धेरै हदसम्म खेलाडी धानिरहेका छन्। खेल क्षेत्रबाट पलायन खेलाडीको यो सूची धेरै लामो छ। एकल विधाका खेलदेखि समूहगत खेलका खेलाडीले विकल्प दिनानुदिन खोजिरहेका छन्। यो लर्को रोक्न सम्बन्धित निकायले समयमै ध्यान दिन जरुरी छ।

यसो भनिरहँदा खेलाडी विदेशिनु देशको अवस्थाको हिसाबले कुरा गर्दा अनौठो नभएको तर्क पूर्व खेलाडी सन्दीप राईको छ।

'वर्तमान अवस्थामा अरब, करोड वा लखपतिको छोराछोरी नेपाल मा भविष्य नदेखेर पढ्न, पढिसकेपछि माथिल्लो तह अध्ययन वा राम्रो काम राम्रो आर्जन गर्न अष्ट्रेलिया युरोप अमेरिका वा कुनै राम्रो देश जाँदा हुने। खेलकुदकै पुरानो विदेश भिजिट रेकर्ड वा माध्यमले गर्दा एउटा सामान्य परिवारको राष्ट्रिय वा सामान्य खेलाडीले भिसा पाएर नेपाली खेलकुदभन्दा बाहिर नै आफ्नो भविष्य देखेर अष्ट्रेलिया युरोप अमेरिकाजस्तो देश जाँदा, त्यस्तो नराम्रो चै के भयो र?,' उनले प्रश्न गरे, 'मौका पाए तपाईं हामी जाँदैनौ होला? फुटबल गेम हुँदा चाहीँ नेपाली खेलाडी राम्रो मौका मिल्दा विदेश नगएका हुन् र? यो एउटा फूटबल वा कुनै खेलकुदको मात्र होइन, देशको समस्या होइन र? '

अन्त्यमा उनले प्रश्न तेर्साएका छन् : समाधानको जिम्मा कसको?

-न्युज एजेन्सीको सहयोगमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell