काठमाडौं : ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा बिहेपछि दुई दाजुभाइबिच हुने झगडा र पारिवारिक कलहलाई देखाइएको छ।
फिल्ममा केकी अधिकारी र आँचल शर्मा जेठानी-देउरानीको भुमिकामा छिन्। केकी र आँचलबिचको झगडा र लडाइँलाई पनि ट्रेलरमा देख्न सकिन्छ।
कपनगढी फिल्म र फिल्म क्र्यु नेपालको ब्यानरमा निर्माण भएको फिल्म भीमनिधि तिवारीको कथा ‘झिँगेदाउ’मा आधारित छ। सुलभ प्रतीक देउजा र समीक्षा देउजा यस फिल्मका निर्माता हुन्। फिल्ममा केकी र आँचलका साथै मुकुन भुसाल र कुशल बिष्टको मुख्य भुमिका रहेको छ।
प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद रहेको फिल्ममा विष्णु घिमिरेको छायाङ्कन र मित्र डि गुरुङको सम्पादन छ। यो फिल्म आगामी भदौ १७ गतेबाट सिनेमाहलमा प्रदर्शन हुनेछ।