PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ताइवान तनावमा भुलिएको एउटा जापानी टापु : एकातिर चिनियाँ आक्रमणको त्रास, अर्कोतिर अमेरिकी सेनाको वर्षौं देखिको अधीनता



विधुर ढकाल

ताइवान तनावमा भुलिएको एउटा जापानी टापु : एकातिर चिनियाँ आक्रमणको त्रास, अर्कोतिर अमेरिकी सेनाको वर्षौं देखिको अधीनता
FILE Photo : Asia pacific journal/ Japan Focus

ताइवानमा बढ्दो तनावलाई लिएर जापान अमेरिकाको पक्षमा उभिएको छ। तर, जापानभित्रै यसप्रति चिन्ता व्यक्त गर्न थालिएको छ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेसँगै चिनियाँ जनमुक्ति सेनाले ‘साउथ चाइना सी’मा ताइवानलाई चारतिरबाट घेर्ने गरी सैन्य अभ्यास गरेको छ। यस क्रममा चिनियाँ जनमुक्ति सेना (पीएलए)ले लाइभ फायर गर्दै व्लास्टिक मिसाइल पनि प्रक्षेपण गरेको छ।

पीएलएले प्रहार गरेका पाँचवटा व्लास्टिक मिसाइल जापानको विशेष आर्थिक क्षेत्र भित्र खसेको त्यहाँको रक्षा मन्त्रालालयले दाबी गरेको छ। जापानी समुन्द्र तटबाट करिब २०० नटिकल माइलमा रहेको ओकिनवा प्रिफेक्चरको हातेरुमा टापु नजिक चीनले प्रहार गरेका मिसाइल खसेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको हो। रक्षामन्त्री नोबुओ किसीले चीनको यस कदम प्रति कुटनीतिक ‘प्रोटेस्ट’ बेइजिङ पठाइएको जनाएका छन्।

जापानको रक्षा मन्त्रालयलका अनुसार जापानको विशेष आर्थिक क्षेत्र नजिक मिसाइल खस्नु अगाडि ति मिसाइल ताइपेइको आकाश हुँदै त्यहाँ पुगेका थिए। चीनले सन् १९९५-९६ मा ठूलो सैन्य ड्रिल ताइवान जलडमरु क्षेत्रमा गरेको थियो। यसपटक त्यो भन्दा ठूलो क्षेत्र र ठूलो मात्रामा ड्रिल गरेको छ।

ताइवानमा तनाव बढ्दै जाँदा जापानको ओकिनवा प्रिफेक्चरका स्थानीयहरु भने त्रसित रहेका छन्। 

यो क्षेत्र ताइवानको उत्तरपूर्वमा करिब ७०० किलोमिटरको दुरीमा छ। ताइवानमा हुने कुनै पनि संकटमा यो क्षेत्र उल्झनमा पर्न सक्छ। ओकिनवा अमेरिका र जापानबिचको ‘सेक्युरिटी प्याक्ट’ अन्तर्गत जापानमा रहेका अमेरिकी सेनाहरु मध्ये ५० हजार सेनाको बेस हो।

मेकाई विश्वविद्यालयका प्रोफेसर र जापान इन्स्टिच्युट अफ इन्टरनेशनल अफेयर्सका वरिष्ठ फेलो कोटानी टेत्सुओले पेलोसीको यो यात्राले चीनलाई ताइवान जलडमरु क्षत्रको मध्य रेखालाई बेवास्ता गर्ने बहाना दिएको बताएका छन्। यो रेखा दशकौंदेखि अनौपचारिक 'बफर जोन' थियो। यसका कारण जापानको आर्थिक क्षेत्र र ताइवान जलडमरुबाट गुज्रने अमेरिकी युद्धपोत र अन्यलाई जोखिम थप्न सक्ने उनले बताएका छन्।

१९९६ जस्तो होइन अहिले!

अघिल्लो तनावका क्रममा ताइवान जलडमरु क्षेत्रमा चीनले गर्ने ड्रिलहरु सामान्य खालका थिए। ताइवानको यति नजिक र ठूलो संख्यामा ड्रिल भएका थिएनन्। त्यतिबेला अमेरिकी नेभीले युद्धपोत पठाएर चीनको ड्रीललाई रोक्थ्यो। तर यसपाली त्यस्तो छैन।

चीनको सैन्य क्षमतामा यसबिच ठूलो परिवर्तन आएको छ। बाराक ओबामा प्रशासनका पूर्व अन्डर सेक्रेटरी अफ डिफेन्स मिचेल फ्लोरनोइले अवस्था धेरै फरक रहेको बताएको सीएनबीसीले जनाएको छ।

अहिले अमेरिकी सेनाको लागि अवस्था प्रतिस्पर्धात्मक तथा घातक वातावरण रहेको उनको भनाइ छ। चिनियाँ सेना त्यतिबेला प्राविधिक रुपमा कमजोर र धिमा गतिमा थियो। जसले अमेरिकी सेनालाई भेट्न सक्दैनथ्यो।

'उनीहरुले आफूहरु जोखिममा रहेको महसुस गरे, अमेरिकीहरुले एयरक्राप्ट क्यारियर आफ्नै नाकमुनी तैरिन सक्ने महसुस गरे। त्यतिबेला उनीहरुले केही गर्न सक्दैनथे,' बुस, ओवामा र ट्रम्प प्रशासनमा काम गरेका सैन्य अधिकारी म्याथ्यु क्रोइनिङले भने।

१९९५-९६ बाट चीनले पाठ सिक्यो। उनीहरुले एयरफोर्स, नेभी लगायतका क्षेत्रमा ठूलो प्रगति हासिल गरे। 'पीएलएको नेभीले १९९५ र १९९६ पछि यति महत्तंवपूर्ण प्रगति हासिल गरेको छ। पीएलएले कसरी नेभीमा यति ठूलो प्रगति हासिल गर्‍यो भन्ने कुरा सबैको मथिंगल खलबलिने खालको छ। र, अर्को १९९५-९६ मा पीएलए एयरफोर्स पानी माथि उड्न सक्दैनथ्यो,' अमेरिकी सेनाका पूर्व अधिकारी डेभिड फ्रांक्लिनले भनेका छन्।

'चिनियाँ सेना अब विशेष गरि आफ्नो जलक्षेत्र र यस वरपर, विशेष गरि ताइवानको वरपरमा धेरै शक्तिशाली छ,' नाटोका पूर्व कमाण्डर जेम्स स्टाभ्रिडिसले भनेका छन्, 'चीनको नेभीसँग अहिले अमेरिकासँग भन्दा धेरै जहाज छन्,' उनले भनेका छन्। अहिले चीनले उभयचर भेसल र हेलिकोक्टर बनाइरहेको छ। जसले ताइवानमा पूर्ण नियन्त्रण राख्न सहयोग पुर्‍याउने छ। 

५० वर्षपछि ताइवान संकटले उस्तै तनावमा ओकिनवा   

सन् १९६९ मा तत्कालीन जापानी प्रधानमन्त्री इसाकु सातो र अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले संयुक्त वक्तव्य मार्फत ओकिनवामा जापानी शासन फिर्ता गरे। त्यतिबेला जापानी प्रधानमन्त्री सातोले ताइवान क्षेत्रको शान्ति र सुरक्षा जापानको आफ्नो सुरक्षाको महत्त्वपूर्णय पक्ष हुने बताएका थिए।

त्यही शर्तमा जापानले अमेरिकी सेनाको सबैभन्दा ठूलो बेस राख्न सहमति दिएको थियो। यो समय ५० वर्ष बितिसकेको छ। अहिले पुन: ओकिवामा तनाव देखिँदै गएको छ।

गत वर्ष डिसेम्वरमा पूर्वप्रधानमन्त्री स्व. सिन्जो आबेले भनेका थिए, 'ताइवानमा संकट हुनु भनेको जापानमा संकट हुनु हो। यो भनेको जापान अमेरिका गठबन्धनमा पनि संकट हुनु हो।'

यता पछिल्लो तनावलाई लिएर ओकिनवाका वुद्धिजिविहरुले ताइवानका विषयमा अमेरिका र जापानले 'गम्भीर गल्ती' गरिरहेको बताउन थालेको ग्लोबल टाइम्सले जनाएको छ। युक्रेन माथि रसियाको आक्रमण सुरु हुँदादेखि यस क्षेत्रमा ताइवानको विषयलाई लिएर चिन्ता प्रकट गर्न थालिएको थियो। अमेरिकी सभामुख पेलोसीले ताइवानमा पाइला राखेर यसलाई थप मलजल गरेको सरोकारवाला बताउँछन्।

'जापान र अमेरिकालाई ताइवान प्रश्नमा हस्तक्षेप गर्ने अधिकार छैन। ताइवान चीनको क्षेत्र हो, न जापानको न अमेरिकाको। यदी उनीहरुले हस्तक्षेप गर्न खोजे भने उनीहरुको आलोचना इतिहासले गर्नेछ,' ओकिनवाका विद्वान र राजनीतिक कार्यकर्ता यासुकात्सु मात्सुशिमाले भनेका छन्।

पेलोसीको भ्रमणपछि चीनले अमेरिकासँगको थिएटर कमान्डरस्तरको संवादलाई रोकेको छ। त्यस्तै सैन्य संवादहरुलाईसमेत रोकेको छ। यसले सैन्य कटुता बढाउने रियुकोकु विश्वविद्यालयका प्रध्यापकसमेत रहेका मात्सुशिमा बताउँछन्। युक्रेन संकटसँगै सम्भावित संकटलाई लिएर त्यस क्षेत्रका स्थानीयहरुले सरकारी अधिकारीसँग बंकर निर्माण गर्न माग राख्न थालेका थिए।

पटक पटक टापु क्षेत्रका गभर्नरहरुले केन्द्र सरकारसँग चीनसँग शान्तिपूर्ण कुटनीतिक सम्बन्धलाई अगाडि बढाउन माग गर्दै आएका छन्।

गत मेमा यो टापुमा जापानको शासन पुन:स्थापनाको ५० औं वर्ष मनाउने क्रममा त्यहाँका गर्भनर डेनी तामाकी ताइवान संकटलाई चीनसँग शान्तिपूर्ण कुटनीतिक संवादबाट समाधान गर्न टोकियोसँग आग्रह गरेका थिए। 

स्वतन्त्र भएको खुसी भन्दा पनि त्यहाँका स्थानीयमा अमेरिकी सेनालाई आश्रय देखिएकोमा चिन्ता बढ्दै गएको छ। एक चीन नीति प्रति प्रतिवद्धता जनाए पनि जापान तथा अमेरिका लगायतका देशहरुले स्वतन्त्र ताइवानको पक्षमा रहेकाहरुलाई सहयोग पुर्‍याउँदै आएका छन्। 

दोस्रो विश्वयुद्धमा दुई लाख सर्वसाधारणले ओकिनवाको युद्धमा ज्यान गुमाएका थिए। फेरि पनि त्यहाँका स्थानीयहरु केन्द्र सरकारले आफूहरुलाई 'ताइवानको नाममा' बलि चढाउँछ की भन्ने त्रासमा छन्।

'ताइवानमा संकट बढ्न र ओकिनवामा आकस्मिक आक्रमणको अवस्था कहिल्यै पनि सिर्जना हुन दिनु हुँदैन,' गभर्नर तामाकीले भनेका थिए, 'म जापान सरकारलाई सधैं शान्त र शान्तिपूर्ण कूटनीति र वार्तामार्फत् चीनसँगको सम्बन्ध सुधार गर्नका लागि आह्वान गर्दछु, र अमेरिका-चीन तनावलाई कम गर्ने दिशामा काम गर्न आग्रह गर्दछु।'

ओकिनवाले जापानी शासन पुन:स्थापनाकै बेला त्यस क्षेत्रलाई शान्तिपूर्ण र मिलिटरी बेस मुक्त क्षेत्र बनाउन आग्रह गरेको थियो। तर, अहिले पनि त्यहाँ ५० हजार अमेरिकी सेना बस्दै आएको छ।

अमेरिकी सेनाको बेसका कारण ओकिनवाले ध्वनी प्रदुषण,  हवाइ दुर्घटनाको जोखिम मोल्दै आएको छ। त्यस्तै अमेरिकी सेनाबाट हुने अपराधको सिकार हुँदै आएका छन् यहाँका स्थानीय।

यस मध्ये सबैभन्दा कुख्यात घटना १९९५ को १२ वर्षिय बालिका माथि अमेरिकी सेनाका अधिकारीले गरेको बलात्कारको घटना हो।

ती अमेरिकी सैनिकले आफ्नो मनोरञ्जनका लागि १२ वर्षिया बालिकाको बलात्कार गरेको बताएका थिए। यसले यस टापुमा अमेरिका विरुद्ध भावना बढाउँदै लगेको थियो। जसको परिणाम १० औं हजार सर्वसाधरणले अमेरिकी सेनाको बेसमा प्रदर्शन गरेका थिए।

ओकिनवाका महिला अधिकारवादी समूहले अमेरिकी सेनाबाट भएका यौन अपराधका घटनालाई संग्रह गरेका छन्। जसमा ९ महिनाकी बालिकासम्मलाई अमेरिकी सेनाका अधिकारीहरुले बलात्कार गरेको उल्लेख छ।

सन् १९९५मा१२ वर्षकी बालिकाको सामुहिक बलात्कारको घटनापछि महिला समूहले बलत्कारको घटनाको अभिलेखिकरण गर्न थालेका थिए। जसमध्ये १९४९ को आमालाई बाहिर निकालेर एक बालिकालाई बलात्कार गरिएको र उनको तत्कालै मृत्यु भएको उल्लेख छ।

अभिलेख गरिएका घटना भन्दा अझै बढी हुन सक्ने ओकिनवान ओमन एक्ट अगेन्स्ट मिलिटर भायलेसन्सले जनाएको छ। सन् १९९५ मा यहाँको जनसंख्या ८५ हजार भन्दा बढी अमेरिकी सेनाको संख्या थियो।

ओकिनवान ओमन एक्ट अगेन्स्ट मिलिटर भायलेसन्सले प्रकाशित गरेको १२ औं संस्करणमा ३५० यौन हिंसाका घटनालाई दस्तावेजिकरण गरिएको छ।

सन् १९४९ मा टाइम्स म्यागेजिनले एउटा रिपोर्ट प्रकाशित गरेको थियो- 'ओकिनवा : फर्गटन आइल्याण्ड'।

रिपोर्टमा अमेरिकी सेनाको नैतिक आचरण खराब रहेको उल्लेख गरेको छ। अकिनवा सेनाका लागि योग्य नभएकाहरुलाई डम्प गर्ने स्थान बनेको थियो। त्यतिबेला सेप्टेम्बर सम्म ६ महिनामा अमेरिकी सेनाले २९ हत्या, १८ बलात्कार १६ लुटपाट तथा ३३  आक्रमण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell